केही चौठचन्द्रका कुरा
केही चौठचन्द्रका कुरा Nagendra Kumar Karna
शुक्रबार साँझ चौठचन्द्र पर्व मनाइयो । चौठीचाँद पर्वको रुपमा चिनिने यो पर्वमा विशेषतः उदाउँदो चन्द्रमालाई अध्र्य दिइन्छ । चतुर्थीको दिनमा हुने भएकोले यस दिन चन्द्रमा सानो मुकुटको आकारमा देखिन्छ । अनुहार नदेखिएपनि मुकुट मात्रै देखिने गरी । लाग्छ, कोही हामीलाई निराकार रुपमा देखि रहेका छन् र त्यो निराकाररुपलाई पुष्टि गर्न मुकुटरुपी चन्द्रमालाइ मात्रै देखाइरहेका छन् । खिर, पुरी, फलफुल लगायत विभिन्न परिकारहरु दिनभर बनाएर साँझमा अध्र्य दिएर पुजाको समाप्ति गर्ने गरिन्छ । त्यसपछि घरका सबैजना एक ठाउँमा बसेर खाने गर्छ । शुक्रबार साँझ पनि यस्तै गरि यो पर्व समाप्त गरियो । तर विगत भन्दा यसपालिको चौठचन्द्र मैले अलि फरक ढंगले हेरे । यसपालि पुजाको लागि केराको पातमा खिर, पुरी लगायत अन्य परिकारहरु अध्र्यको लागि राखिएको थियो । जवकि, विगतमा ‘चिकनी’को पातमा राखेर पुजा गर्ने गरिन्थ्यो । कमलको फुल फुल्ने पोखरीहरुमा यो पात पाइन्थ्यो । त्यसको लागि हामीले चौठचन्द्र हुने दिन बिहानै सखारै उठेर ‘भटोत्तरी’ पोखरी पुग्थ्यौं । पोखरी पनि गहिरो हुन्थ्यो । त्यहाँ पुगेपछि एउटा मेलाको दृश्य नै हुन्थ्यो । पोखरीमा सबै पसेको हुन्थ्यो र पात ल्याउने होडमा हुन्थ्यो । कुनै बेला पोखरी भित्र नपसेर पनि पात हाल्थ्यो त कुनै बेला आफै पानीमा पसेर लिनुपथ्र्यो । पानीमा पसेपछि न नुहाउने कुरै छैन् । बिहानै नुहाएर आफु ‘बाबाजी’ भएको बताउँथे । पहिला पहिला बाबाजीहरु बिहानै नुहाउने, त्यसपछि पुजापाठ गरेर भिक्षाटनको लागि निस्कने गरेको मैले हेरेको छु । त्यही भएर कुनै दिन बिहानै सखारै नुहाए भने बाबाजी नै बनेको हामी ठान्थ्यौ । त्यसमा पनि कमलको फुल एकाधबटा ल्याएर झन बाबाजी भएको प्रमाण पेश गथ्र्यो । पोखरीबाट त्यो पात बढी भन्दा बढी ल्याउँथ्यौ र टोल पडोसको लाई पनि दिन्थ्यौ । तर, समयक्रमसंगै ति सम्झनाहरु सम्झनामा मात्रै छन् । अब म त्यसरी नजाने गरेकोले पनि भएको होला । तर, विगतहरुमा हाम्रो खेतमा काम गर्ने महेन्द्र महतोले त्यो पात चौठचन्द्रमा ल्याइ दिने गरेका थिए । तर यसपालि के भयो कुन्नी मैले त्यो हेर्न पाइन । यसपालि ‘चिकनी’को पातमा पुजा नभएर केराको पातमा भएको देखेपछि पुरानो सम्झना भएको हो ।
जहाँ सम्म पोखरीको कुरा छ । पोखरी मेरो लागि कुनै डराउने विषय पनि होइन । किनकी, मलाई राम्रैसंग पौडिन पनि आउँछ । विद्यालयबाट फर्केपछि दुई घण्टा हामी ‘लाला पोखरी’मा पौडेर विताउँथ्यो । हरेक दिन दुईपल्ट पोखरी ‘आरपार’ गर्नु दैनिकी नै थियो । जाडोमा त्यत्ति नभएपनि गर्मीमा त खाना खान विर्सेर पोखरीमै रमाउँथ्यो । घरको मान्छे खोज्न नआएसम्म पोखरीको बिचमा रहेको ‘जाइठ’ (पोखरीको बिचमा हुने काठको खाम्बो) मै हामी साथीहरु रमाइरहेका हुन्थ्यो । आजभोली जस्तो घर घरमा धारा र शौचालय नभएको कारणले नै हाम्रो नुहाउने र दिसापिसाब गर्न जाने पोखरी बनेको थियो ।
कुरा कहाँबाट कहाँ पुग्यो । लेख्न थालेपछि यस्तै धाराप्रवाह लेखिन्छ । कुनै क्रम हुँदैन् । हाजमोलाको प्रचार झै, ‘जे आउँछ मजाले पचाउँछ’ झै जे मनमा आउँछ त्यो लेखिन्छ । खैर, केही छैन् आजको लागि यत्ति नै अर्को दिन पुनः अर्को एपिसोड सहित उपस्थित हुन्छु नै ।