मोदी भन्छन्, 'नेपाल बुद्धको भूमि हो'

नेपालको गणतन्त्रप्रति मोदीको प्रतिबद्धता

  • मोदी भन्छन्, 'नेपाल बुद्धको भूमि हो'



Modi_Parliament.jpg
व्यवस्थापिका संसदमा सभामुख सुबासचन्द्र नेम्वाङसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । तस्विर : किरण पाण्डे/ईकान्तिपुर
काठमाडौ, श्रावण १८ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान निर्माण प्रक्रियाको प्रशंसा गर्दै गणतन्त्र नेपालको भारतले सम्मान गर्ने बताएका छन् ।

व्यवस्थापिका संसदमा आइतबार साँझ ४५ मिनेट लामो सम्बोधनमा उनले नेपालले उदाहरण सफल भए विश्वबाट हिंसाको अन्त्य हुने आशा व्यक्त गरे । 'बुलेट छाडेर व्यालेटमार्फत संविधान लेख्ने नेपालको प्रयास सफल भए त्यसले विश्वमै हिंसा अन्त्य गर्नको लागि प्रेरणा दिनेछ,' नेपाल सार्वभौम मुलुक भएको उल्लेख गर्दै मोदीले भने, 'भारत संघीय लोकतान्त्रिक नेपालको सम्मान गर्छ ।'

उनले युद्ध छाडेर मूलधारको राजनीतिमा फर्किएको माओवादीतर्फ इंगित गर्दै सम्मान दर्शाए । 'म युद्ध छाडेर बुद्धको बाटोमा हिड्ने नेपालीहरुको प्रशंसा गर्छु,' उनले भने, 'नेपालको संबिधान यहाँको लागि मात्रै होइन, संसारकै लागि उदाहरण बन्नेछ ।'

नेपाल-भारत सम्बन्धलाई हिमाल र सागरजत्तिकै पुरानो भन्दै सम्बोधन सुरु गरेका मोदीले द्विदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल-भारत टेलिफोन महसुल घटाउन पहल गर्ने प्रतिबद्धता जनाए । उनले नेपालको सडक, पर्यटन र सूचना प्रवधिको लागि भारत सहयोग गर्न तयार रहेको जनाए ।

सवा अर्ब भारतीय भारतीय एक न एक पटक पशुपतिनाथको दर्शन गर्न आउने भन्दै उनले नेपालमा पर्यटन सम्भावना अपार रहेको औंल्याए । 'एड्भेन्चर पर्यटनको लागि पनि नेपाल जत्तिको मुलुक अर्को छैन्', मोदीले भने,'नेपालले विश्वभरको पर्यटकलाई लोभ्याउन सक्छ ।'
बुद्धको भूमी नेपाल
भारतीय प्रधानमन्त्री मोदीले पटक पटक नेपाल बुद्धको भूमि भएको दोहोर्‍याउँदै नेपालको संविधान लेखन प्रक्रिया सफल भए विश्वमै हिंसा अन्त्यको लागि प्रेरणा हुने बताए । 'तपाईं सफल हुनुभयो भने संसारलाई शस्त्र छाड्न प्रेरणा मिल्नेछ', उनले भने ।
'नेपालमा जन्मेका बुद्धले मनको अँध्यारो हटाए । विचारको प्रकाश दिए । मानवलाई चेतना दिए,' मोदीले भने, 'सार्क सम्मेलनमा आउँदा जनकपुर र लुम्बिनी जानेछु ।'
अब बन्ने संविधानले नेपाललाई जोड्नुपर्ने मोदीको धारणा छ । उनले हरेक नेपालीको भावना संविधानमा समेट्न सुझाव दिए । संविधान लेखनमा सफलताको कामना गर्दै मोदीले भने, 'बुद्धको भूमीमा उद्देश्य र विचारको कमी छैन् भन्ने कुरा मैले बुझेको छु ।'