लगतारको पानीले बाढीको चपेटमा महोत्तरी बर्दिबास स्थित रातो पुल भासिएपछि राजमार्ग अवरुद्ध

महोत्तरी समाचारदाता जलेश्वर, साउन २९ गते । लगातार दुई दिनदेखि परिरहेको मुसलधारे पानीले महोत्तरी जिल्लाको पशुपतिनगर सहित विभिन्न गाउँ विकास समितिमा बाढी पसेको छ । बाढीको कारण जिल्लाको पशुपतिनगरको वडानंं. ७ को वस्तीमा बाढीको पानी पसेको छ । वस्तीमा रातो नदिको बाढी पसे पनि क्षति भने एकिन हुन सकेको छैन् । त्यहाँ अहिले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेर बस्तीका वासिन्दाहरुलाई सार्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । पानी पर्ने क्रम जारी रहेकोले सुरक्षाकर्मीलाई पनि समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बाढीकै कारण सो वस्तीमा रातो नदिले ४ विग्हा भन्दा बढी जग्गा कटान समेत गरीसकेको छ । वुधबार साँझबाट लगातार परिरहेको मुसलधारे पानीले गर्दा जिल्लाको पशुपतिनगर, सिंग्याही, सितापुर भंगहा, गोनरपुरा, सहित जलेश्वरनगरपालिका डुवानमा पर्ने खतरा बढेको छ । अहिले सदरमुकाम जलेश्वरका अधिकाँश कार्यालयहरु पानीको डुवानमा परेका छन् भने सदरमुकाम जोडने अधिकाँश सडकहरुमा आवागमनमा असुविधा उत्पन्न भइरहेको देखिएको छ । यता दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास ७ मा रहेको रातो खोलाको पुल भासिएपछि राजमार्ग अवरुद्ध हुन पुगेको छ । बुधबारदेखि परेको अविरल बर्षासँगै रातु नदिमा आएको बाढीको कारण पूर्व पश्चिम राजमार्गमा पर्ने महोत्तरीको रातु खोलाको पुल तीन फीट तल भाँसिएको छ । खोलामा पानीको बहाव बढदै गएको कारण पुल भासिने क्रम रोकिएको छैन् । बर्षौंदेखि पुल आसपास क्षेत्रबाट मापदण्ड बिपरित ढुंगा, गिटी र बालुवा उत्खनन् गर्दा जिर्ण बनेको पुल बुधबार राती खोलामा आएको बाढीका कारण भासिएको हो । पुल भासिएपछि वुधबारराती ११ बजेदेखि पूर्व पश्चिम राजमार्ग भएर चल्ने यातायात पूर्ण रुपमा अबरुद्ध भएको छ भने राति देखी नै पुर्वबाट काठमाण्डौका लागी छुटेका र पश्चिमबाट पुर्व जाने सबै बसहरु धनुषाको लालगढ, ढल्केवर र महोत्तरीको बर्दिवासमा रोकिएका छन । पुलको ११ पिलर मध्ये पश्चिमपट्टीको १ पिलर भासिएको कारणले पुलबाट सवारी आवागमन पूर्णतः रोकिएको हो । पुलको किनारमै बालुवा उत्खनन हुने गरेकोले यस्तो देखिएको हो । पुलको किनारमैं तिनवटा क्रसर संचालनमा रहेको देखिएको छ । वि.सं.२०२८ सालमा सोभियतसंघको सहयोगमा सो पुल निर्माण भएको हो । प्रशासनले वैकल्पिक बाटोकोलागि बर्दिवास जलेश्वर जनकपुर प्रयोग गर्न सुझाए पनि वर्षाको कारण उक्त सडकखण्ड समेत क्षतिग्रस्त छ । उक्त बैकल्पिक बाटो समेत ठाउँ ठाउँमा अवरुद्ध छन् । सो बाटो प्रयोग गर्दा पुनः राजमार्ग पुग्न कम्तीमा ८० किलोमिटरको यात्रा गर्नुपर्ने देखिन्छ । यसैबिच सडक डिभिजन कार्यालय मुजेलियाका प्रमुख देवेन्द्र साहले पश्चिम तर्फ बाढीको बहाव केन्दि«त भएकोले पश्चिम तर्फको दुईवटा पिलर तीन फिट सम्म भासिएको जानकारी दिनुभयो । हाल वर्षा नरोकिएको र खोलामा पानीको बहाव समेत नघटेकोले तत्काल केहि गर्ने अवस्था नरहेको र प्राविधिक टोलिले क्षतिको अध्धयन गर्न शुरु गरेको बताउनुभयो । भासिएको पुलबाट यात्रुहरु हिडेर आवत जावत गरीरहेका छन् भने पुलबाट सवारी साधन चलाउन जोखिम हुने भएकोले सवारीसाधनलाई पुर्णरुपमा प्रतिवन्द्ध लगाइएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । यसैबीच मध्य क्षेत्रिय प्रशासन कार्यालयका प्रमुख शंकर कोइराला सहितका टोलीले पुलको निरिक्षण गर्नुभएको छ । उहाँले स्थानीय प्रशासनसंग तत्काल कसरी बाटो खोलाउन सकिन्छ भन्नेबारेमा छलफल जारी राख्नुभएको छ । सदरमुकाम जलेश्वरबाट ४२ किलोमिटरको दुरीमा रहेको सो पुललाई निरिक्षणको लागि स्थानीयप्रशासन पनि त्यहाँ पुगेर छलफलमा जुटेका छन् । यस विषयमा थप जानकारीको लागि प्रमुख जिल्ला अधिकारी रविलाल पन्थीसंग सम्पर्क गर्न कोशिश गरेपनि उहाँको मोबाइल भने उठेन ।