महोत्तरी समाचारदाता
जलेश्वर, भदौ १४ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको दुर्गाचोकमा मंगलबार ट्राफिक बिटको स्थापना गरिएको छ ।
ट्राफिक बिटको अभावमा दैनिक रुपमा ट्राफिक नियम पालना गराउन तथा घाम, पानीबाट बच्न समस्या भइरहेको कारणले यो बिटको स्थापना गरिएको ट्राफिक कार्यालय जलेश्वरका इन्चार्ज असई रामकुमार यादवले जानकारी दिनुभयो ।
मंगलबार बिहान एक कार्यक्रमका बीच जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक जनक भट्टराईले संयुक्त रुपमा रिवन काटेर सो बिटको शुभारम्भ गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, ‘जलेश्वरको दुर्गाचोकमा रहेको चौबाटोमा बिटको स्थापना गरिएको र यो स्थापनाले ट्राफिक नियमहरु सिकाउन, ट्राफिकलाई डयुटी गर्न सजिलो हुने छ ।’
जलेश्वर नगरपालिकाले यो बिट स्थापना गर्नको लागि ५० हजार नगद सहयोग गरेका छन् भने स्थानीय लोकेश शर्माले विभिन्न जनचेतनामूलक ट्राफिक नियमहरु लेख्नमा सहयोग पु¥याएको असई यादवले जानकारी दिनुभयो ।
बिटमै ट्राफिक नियम पनि लेखिएकोले ट्राफिक नियम उल्लंघन गर्नेलाई सम्झाउने, पढाउने र स्थानीय युवाहरु आफै पनि पढेर ट्राफिक नियम पालना गर्ने असई यादवको विश्वास रहेको छ ।
उहाँले बिट अभावमा ट्राफिक व्यवस्थापन गर्न असहज हुँदै आएकोमा अबदेखि त्यस्तो समस्या नरहने विश्वास व्यक्त गर्नुहुदै इन्चार्ज यादवले यसको लागि सबैलाई सहयोग गरिदिन अनुरोध गर्नुभयो ।
ट्राफिक व्यवस्थापनको अभावमा दुर्गाचोकदेखि जलेश्वरनाथ महादेव मन्दिरसम्म दैनिक ट्राफिक जाम हुँदै आएको छ । सो बाटोमै राष्ट्रिय वाणिज्य बैंकलगायतका अन्य मणिचेन्जरहरु रहेको कारण जाम हुँदै आएका थिए । ट्राफिक बिटको स्थापनाले अबदेखि यो समस्या हट्ने विश्वास स्थानीयहरुको रहेको छ ।