चिकित्सक रक्सी खाएर सडकमा मस्त Nagendra Kumar Karna

महोत्तरी समाचारदाता
जलेश्वर, साउन ३२ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा रहेको स्वास्थ्य चौकीका इन्चार्ज रक्सीले मातिएको अवस्थामा सडकमा भेटेपछि स्थानीयहरुले समातेर विभागिय कारवाहीको लागि प्रहरीलाई जिम्मा लगाएका    छन् ।
गौशाला स्थित प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख अशोक यादव सोमबार राति जिरोमाइल चोकमा रक्सी खाएर सडकमै सुतेको अवस्थामा फेलापरेपछि स्थानीयहरुले उनलाई समातेर विभागीय कारवाहीको लागि प्रहरीलाई जिम्मा लगाएका हुन् ।
एकवर्षदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा करारमा काम गर्दै आएका इन्चार्ज यादव रक्सी सेवन गरेर स्वास्थ्य केन्द्रमा आउने गरेको गुनासो पटक पटक आउने गरेको थियो ।
चिकित्सक यादवलाई राति नै बर्दिबास स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण गराइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.मनिष पाण्डेयले आफुलाई पनि सो घटनाबारे जानकारी रहेको वताउनुहुदै आफुले चिकित्सकका परिवारजनहरुलाई उनको उपचार गराउन सल्लाह दिएको बताउनुभयो ।
उहाँले चिकित्सक यादवले के, कतिकारणले रक्सी सेवन गर्ने गरेको पत्ता लगाउने प्रयास गरिरहेको वताउनुहुदै विरामी (यादव) माथि कारवाही गरे पनि केही नहुने वताउनुभयो । तर आफुहरु घटनाको छानविनमा लागेको र उनी दोषी पाइए कारवाही गरिने जानकारी दिनुभयो ।