महोत्तरी समाचारदाता
जलेश्वर, भदौ १४ गते । मिथिला क्षेत्रकै प्रसिद्ध तथा ऐतिहासिक मानिएको जलेश्वरनाथ महादेव मन्दिर व्यवस्थापन समिति बनाउने नाममा जलेश्वर नगरपालिकाले राजनीतिकरण गरिरहेको आरोप स्थानीयहरुले लगाएका छन् ।
धार्मिकस्थलको विकास तथा पर्यटकिय स्थल बनाउने काममा नगरपालिकाले सहजीकरण गर्नुपर्नेमा स्थानीयहरुलाई नै लडाउने काममा नगरपालिका लागेको आरोप स्थानीयहरुको रहेको छ ।
स्थानीय युवा दिपु कापरले नगरपालिकाले समाजको अगुवाईको जिम्मा लिएपनि नगरपालिकाले सो अगुवाईको जिम्मेवारी निर्वाह गर्न नसकेको वताउनुभयो । उहाँले भन्नुभयो,‘नपाका कार्यकारी अधिकृतले आफ्नै मान्छेलाई समितिमा राखेर आफ्नो हिसावले गर्न खोजेका छन् र त्यसको लागि उनले स्थानीयहरुलाई लडाउने कार्यमा लागेका छन् ।’
मन्दिर व्यवस्थापन समितिको अध्यक्ष पदको उम्मेदवारी दिनुभएका युवा कापरले मन्दिर जस्तो पवित्र ठाउँमा कुनै पनि राजनीति नहुनुपर्ने वताउनुहुदै सर्वसम्मतीबाट अध्यक्ष चुनिनुपर्ने पक्षमा आफु भएको बताउनुभयो ।
विगत ६ वर्षदेखि जलेश्वरनाथ महादेव मन्दिर व्यवस्थापन समिति नहुँदा मन्दिरमा विकास निर्माण गर्न अप्ठयारो हुँदै गएपछि नगरपालिकाले व्यवस्थापन समिति गठनको पहल थालेका हुन् ।
भदौ ४ गते जलेश्वर नगरपालिकाले जलेश्वरनाथ महादेव मन्दिरको व्यवस्थापन समिति गठन गर्ने भनि भेला आयोजना गरेको र सो भेलामा सहमति हुन नसकेपछि उम्मेदवारीको घोषणा गरिएको थियो । सो भेलामा जलेश्वर नगरपालिका ६ का विश्वेश्वर प्रसाद, जलेश्वर ४ का शिवचन्द्र चौधरी, जलेश्वर १ का रामछबिला चौधरी, जलेश्वर ९ का विजयकुमार सिंह, जलेश्वर १ का लक्ष्मण साह, जलेश्वर १ का संजयकुमार साह, जलेश्वर ९ का दिपु कापर र जलेश्वर ८ का दिपेन्द्रकुमार ठाकुरले उम्मेदवारी दिनुभएको थियो । त्यसैगरी सोही भेलामा ७ सय ८५ जना स्थानियहरु उपस्थित भएका थिए ।
जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले सो भेलामा सहभागी भएकाहरुलाई मतदाता मानी सोही आधारमा भदौ १८ गते निर्वाचन गराउने निर्णय गर्नुभएको हो । स्थानीयहरुले पनि धार्मिकस्थलमा निर्वाचन नगराई सहमतिको प्रक्रियाबाट अध्यक्ष घोषणा गर्ने पक्षमा देखिएका छन् ।
कतिपय स्थानीयहरु ६ वर्ष अगाडी महादेव मन्दिरको व्यवस्थापन समितिको अध्यक्षमा विश्वेश्वर प्रसाद रहनुभएकोले उहाँलाई निरन्तरता दिनुपर्ने माँग गदै आएका छन् भने कतिपयले नयाँ नेतृत्व हुनुपर्ने माँग अगाडी सारेका छन् । नगरपालिकाले स्थानीय एक साप्ताहिक पत्रिकामा विज्ञापन दिएर मतदाता तथा उम्मेदवारहरुको नामावली सार्वजनिक गर्नुभएको छ । सार्वजनिक गरिएको नामावलीमा मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष विश्वेश्वर प्रसादलाई अनुपस्थित देखाएका छन् ।
अहिले मन्दिर व्यवस्थापन समितिको अध्यक्षलाई लिएर जलेश्वरमा तीव्र धु्रवीकरण शुरु भएको छ । यो समस्याको समाधान बेलैमा सहमतिय आधारमा नगरिए कुनै बेला पनि दुर्घटना हुन सक्ने भन्दै कतिपय युवाहरु जलेश्वर नगरपालिकालाई सचेत हुन आग्रह गरेका छन् ।
स्थानीय युवा रमण चौधरीले मन्दिरको विकासको लागि जलेश्वर नगरपालिकाले जागरुकता देखाउनु राम्रो कामको शुरुवात भएपनि धर्मस्थलमा राजनीतिकरण गर्नु, गराउनु गलत भएको वताउनुभयो । उहाँले भन्नुभयो,‘जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले सहजीकरण गर्ने नाममा अधिकारको दुरुपयोग गरिरहनुभएको छ, यसको प्रतिकार हामीले गर्नुपर्छ ।’
यस सम्बन्धमा जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीलाई जिज्ञासा राख्दा उहाँले आफुले कुनै विज्ञापन प्रकाशन नगरेको र पत्रिकाले आफुखुशी छापेको बताउनुभयो । उहाँले जुन उम्मेदवार अनुपस्थित थिए त्यसलाई उम्मेदवार नबनाउने आफुलाई धेरैको प्रेसर आइरहेको बताउनुहुदै हामी अहिले छलफलमा छौं, अहिलेसम्म कुनै निर्णय नगरिएको जानकारी गराउनुभयो ।
यता, अधिवक्ता विकरु यादवले उपस्थित व्यक्तिहरुलाई मात्रै मतदानको अधिकार दिइनुको कुनै कानुनी आधार नभएको बताउनुहुदै यो सामाजिक कुरा मात्रै भएको दावी गर्नुभयो । उहाँले अहिलेका नगरपालिकाले गरिरहेको कार्यको न त कुनै तौरतरिका छ न त कुनै सिस्टम नै भन्नुहुदै नगरपालिकाले गरिरहेको कार्यको कुनै कानूनी हैसियत नभएको प्रष्ट पार्नुभयो ।