सरकारले मुद्दा फिर्ता लिने गृहकार्य गरिरहेको समयमा विभिन्न प्रहरी चौकीमा आगजनी गर्नेमाथि पक्राउ पुँजी जारी
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ३१ गते । मधेश आन्दोलनमा भएको विभिन्न घटनाहरुलाई राजनीतिक मुद्दा मानी ति मुद्दाहरु फिर्ता लिने गृहकार्य भइरहेको समयमा महोत्तरीमा भने आन्दोलनकै घटनामा संलग्न केही आन्दोलनकारीहरुमाथि पक्राउ पूँजी जारि गरिएको छ ।
मधेशी मोर्चा र सरकारले मधेश आन्दोलनको क्रममा भएको विभिन्न घटनाहरुको राजनीतिक मुद्दा बनाई फिर्ता लिने सहमती भइसकेको अवस्थामा दुई दिन अगाडी मात्रै महोत्तरीमा ३५ जनामाथि पक्राउ पुँजी जारी गरिएको छ । उनीहरुमाथि वारेन्टसहितको ७० दिने म्यादी पुँजी जारी गरिएको स्रोतले जनाएको छ ।
मधेश आन्दोलनको क्रममा भदौं २३ गते वुधबार महोत्तरीमा प्रहरीको गोली लागेर तिन तथा त्यसको दुई दिन नवित्दै २५ गते तिनजनाको गरी ६ जनाको मृत्यु भएको थियो । त्यसैगरी भदौ २५ गते आन्दोलनकारीको कुटपिटबाट सशस्त्र प्रहरीका असई थमनबहादुर विकको पनि मृत्यु भएको थियो । सोही घटनापश्चात आक्रोशित भएका आन्दोलनकारीहरुले विभिन्न गाउँमा रहेको प्रहरीचौंकीमा तोडफोड, आगजनी गरेका थिएँ ।
सुरक्षाकर्मीले आन्दोलनमा व्यापक दमन गरेको भन्दै जिल्लाको विभिन्न प्रहरी चौंकी, सशस्त्र प्रहरीको चेकपोष्टहरुमा आगजनी तथा तोडफोड गरिएको थियो । सोही क्रममा आन्दोलनकारीहरुले पर्सापतैली प्रहरी चौंकी, पिपरास्थित सहोडवा प्रहरी चौंकी, मनरा प्रहरी चौंकी र ईटहर्वाचौंकीमा समेत आगजनी गरी सुरक्षाकर्मीलाई खेदेका थिए । आन्दोलनको क्रममा आन्दोलनकारीहरुले आगजनी र लुटपाट गरेको भन्दै प्रहरीले ति चारवटै प्रहरी चौंकीको घटनामा संलग्न रहेको आरोपमा ३५ जनामाथि मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएपश्चात ति ३५ जनामाथि पक्राउ पुँजी जारी गरिएको हो ।
जिल्लाको मनरा १ स्थित खाद्य संस्थानको भवनमा रहेको प्रहरी चौकीमा स्थानीय आन्दोलनकारीहरुले भदौ २३ गते राति साढे ११ बजे, पिपरा ३ स्थित प्रहरी चौंकीमा भदौ २४ गते डेढबजे, पर्सापतैली प्रहरी चौंकीमा भदौ २४ गते साँझ ७ बजे तथा इटहर्वाकट्टीमा भदौ २४ गते बिहान ८ बजे आगजनी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले चारवटै प्रहरी चौंकीमा आगजनी र लुटपाट गरेको भन्दै ३४ जनामाथि सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा १८ वमोजिम आगजनी र डाँकामुद्दा लगाएको छ । मुद्दा लगाइएका ३५ जनामाथि साउन २८ गते शुक्रबार जिल्ला अदालतले पक्राउ पुँजी जारी गरेको छ ।
पर्सापतैली चौंकीमा आगजनी र लुटपाट गरेको आरोपमा ८ जना, इटहर्वाकट्टीका १२ जना, पिपराका ८ जना र मनराका ७ जना गरी ३५ जनामाथि आगजनी र डाँका मुद्दा लगाइ पक्राउ पुँजी जारि गरिएको हो ।
यसरी पक्राउ पुँजी जारि गरिएकाहरुमा पर्सापतैली चौकीमा आगजनी र लुटपाट गर्ने आरोपमा पर्सापतैली ७ का ५५ वर्षिय गुलाब राय, वडानं. ५ बस्ने वर्ष ३२ को सुशिल शर्मा भन्ने सुशिल राउत, वडानं. ६ बस्ने वर्ष ४५ को राम एकवाल कापर, वडानं. ३ बस्ने वर्ष ५० को राजाराम ठाकुर, वडानं. ४ बस्ने वर्ष ४५ को सुकेश्वर राउत, वडानं. ७ बस्ने राजेश मण्डल, वडानं. ५ बस्ने नागेन्द्र राउत, वडानं. ४ बस्ने नागे शर्मा भनने नागेन्द्र राउत रहेका छन् ।
त्यस्तै सहोडवा पिपरा चौंकीमा आगजनी गरेको आरोपमा पिपरा वडानं. २ बस्ने वर्ष ३५ को सन्तोष मिश्र, वडानं. ६ बस्ने वर्ष ३५ को श्रवण मण्डल, वडानं. ५ बस्ने वर्ष २३ को लक्ष्मण महासेठ, वडानं. ६ बस्ने वर्ष ५५ को रविन्द्र ठाकुर, वडानं. ८ बस्ने वर्ष ४५ को शेखर मिश्र, वडानं. ३ बस्ने वर्ष ३८ को महेन्द्र पासमान, वडानं. ३ बस्ने वर्ष ४० को चेतरु पासमान भन्ने रामनाथ पासमान र वडानं. ८ बस्ने वर्ष ३३ को संजय मिश्रमाथि पक्राउ पुँजी जारी गरिएको जनाइएको छ ।
त्यसैगरी इटहर्वाकट्टी चौंकीमा आगजनी गरेको आरोपमा इटहर्वाकट्टी ७ बस्ने वर्ष ५५ को राजनकुमार सिंह, वडानं. ८ बस्ने वर्ष ५१ क जितेन्द्र चौधरी, वडानं. ८ का ५१ वर्षिय राजिव ठाकुर पाण्डे, वडानं. ९ बस्ने वर्ष ३५ को विमेलश चौधरी, वडानं. ७ बस्ने वर्ष ४० को चन्दे पासमान, वडानं. ८ बस्ने वर्ष ३५ को लालबाबु ठाकुर, वडानं. ८ बस्ने वर्ष ३५ को पंकज ओझा, वडानं. ८ बस्ने वर्ष ३२ को लवदेव ओझा, वडानं. ७ बस्ने वर्ष ४० को मोहन पाण्डे भन्ने बिनयकुमार पाण्डे, वडानं. ५ मा बस्ने वर्ष ४५ को जयराम तिवारी, वडानं. ७ मा बस्ने वर्ष ४२ को सुरेश सिंह भन्ने सुरेश पाण्डे र वडानं. ९ मा बस्ने ३५ वर्षिय सुरेश चौधरी भन्ने सुरेश पण्डितलाई पनि पक्राउ पुँजी जारि गरिएको छ ।
त्यस्तै मनराकट्टी प्रहरी चौकीमा आगजनी गरेको आरोपमा मनराकट्टी वडानं. ७ मा बस्ने वर्ष २२ का राजनकुमार सिंह, सोही वडा बस्ने वर्ष २० को शनिकुमार सिंह, सोही वडा बस्ने वर्ष १८ को सोनुकुमार सिंह, वडानं. ८ बस्ने २० वर्षिय अभिषेककुमार सिंह, सोही वडाबस्ने १७ वर्षिय नुनु कुमार सिंह, वडानं. ६ मा बस्ने वर्ष १९ को गोपाल सिंह र वडानं. १ मा बस्ने वर्ष २२ को दिपुकुमार सिंह भुमिहारमाथि पनि पक्राउ पुँजी जारि गरिएको स्रोतले जनाएको छ ।
इटहर्वाकट्टी प्रहरी चौकीका प्रसनी जगन्नाथ चौधरी, पर्सापतैली प्रहरी चौकीका प्रसनी भेषबहादुर कार्की, सहोडवा प्रहरी चौकीका प्रसनी श्यामकुमार आले र मनरा प्रहरी चौकीका सनि दिपेन्द्रप्रसाद जैसवालले दिएको प्रतिवेदनको आधारमा मुद्दा दिइएको हो । इटहर्वाकट्टीका प्रसनी चौधरीको प्रतिवेदनमा ४४ हजारको सामग्रीमा आगजनी तथा ४१ हजार ६ सयको सामग्री लुटिएको, पर्सापतैलीका प्रसनी कार्कीको प्रतिवेदनमा १ लाख १७ हजारको सामग्रीमा आगजनी तथा ५० हजारको सामग्री लुटिएको, सहोडवाका प्रसनि आलेको प्रतिवेदनमा ६ लाख ५३ हजार ५ सयको सामग्री आगजनी तथा ९० हजारको सामग्री लुटिएको तथा मनरा चौकीका सनि जैसवालको प्रतिवेदनमा २ लाख ८० हजार आगजनी तथा ८८ हजारको सामग्री लुटिएको उल्लेख गरेका छन् ।
यता आन्दोलनको समयमा भएको विभिन्न घटनाहरुको मुद्दा फिर्ता भइरहेको समयमा प्रहरीले सुनियोचित तरिकाले आन्दोलनकारीहरुलाई फँसाइरहेको भन्दै यस्तो कार्यको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष रामनरेश राय तथा तराई मधेश समाजवादी पार्टीका जिल्ला सदस्य गजेन्द्र गुप्ताले आपत्ति प्रकट गर्नुभएको छ ।
उहाँले सरकार र मधेशी मोर्चाको सहमती पश्चात आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दाहरु फिर्ता लिने गृहकार्य भइरहेको समयमा जिल्लामा फेरी पक्राउ पुँजी जारी गरिएकोप्रत्ति आश्चर्य व्यक्त गर्नुहुदै उहाँहरुले तत्कालै यो कार्य बन्द गर्नुपर्ने वताउनुभएको छ ।
त्यसैगरी कानुनविद अधिवक्ता विकरु यादवले पनि यस्तो कार्यले सरकार र मधेशी मोर्चाको सम्वादमा खलल पुग्ने र यसले अन्य समस्या ल्याउने बताउनुभएको छ । उहाँले भन्नुभयो,‘एकातर्फ सरकारले मुद्दा फिर्ताको तयारी गर्ने र अर्को तर्फ आन्दोलनकारीहरुलाई हतोत्साहित गर्ने गरी पक्राउ पुँजी जारी गरिनु विवादास्पद हो, यो समस्याको समाधान गरिनुपर्छ ।’