सेवाग्राहीको सहजताको लागि अदालतले निवेदनको ढाँचा निशुल्क दिदैँ

Nagendra Kumar karna
महोत्तरी समाचारदाता
जलेश्वर, साउन १८ गते । जिल्ला अदालत महोत्तरीले सेवाग्राहीहरुको काममा सहज बनाउन विभिन्न निवेदनहरुको फर्मेट बनाएर निशुल्क सेवा दिने कार्य शुरु गरिएको जानकारी दिएको छ ।
जिल्ला अदालत महोत्तरीका न्यायधीश किरणकुमार पोखरेलले ४० प्रकारको निवेदनको फर्मेट बनाएर सेवाग्राहीहरुलाई सहुलियतको रुपमा निशुल्क वितरण भइरहेको वताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले ४० प्रकारको निवेदनको ढाँचा बनाएर निशुल्क वितरण गरिरहेका छौं, सेवाग्राहीले जुन विषयको निवेदन दिनुपर्ने हो त्यही ढाँचा प्रयोग गरेर निवेदन दिन सक्छ ।’
उहाँले निवेदन लेख्न नसक्नेले सहयोगी मार्फत निवेदन दिन सकिने वताउनुहुदैं सहयोगीको व्यवस्था समेत गरिएको जानकारी दिनुभयो । उहाँले पहिला पहिला निवेदनकै लागि कानुनी व्यवसायी, लेखनदासहरुलाई चर्को मूल्य तिर्नुपर्ने कारणले गर्दा कतिपय अदालतसमक्ष पुग्न नसकेको र अदालतको कामकारवाही महँगो हुने गरेको आम बुझाई बनेकोले त्यसलाई चिर्न यस्तो व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
महोत्तरीका सञ्चारकर्मीहरुसंग नियमित बैठकको क्रममा न्यायधीश पोखरेलले भन्नुभयो, ‘हामीले जिल्लाको टाढादेखि नजिकका गाउँहरुमा गएर अदालतको कामकारवाही र अदालतबारे जनताको बुझाईबारे अन्तरक्रिया गरी सोही अनुसार अदालतको कामकारवाहीमा परिमार्जन गरिरहेका छौं ।’ आगामी दिनहरुमा अदालतप्रति जनताको बुझाई सकारात्मक हुने विश्वास व्यक्त गर्नुहुदै न्यायधीश पोखरेलले हामी समयमै न्याय दिन कटिवद्ध छौं यसमा कुनै पनि सम्झौता हुन्न तर जनताको समय र श्रमलाई पनि हामीले ख्याल राखेर काम अगाडी बढाएका छौं ।
उहाँले जिल्लाको खयरमारा, मटिहानी र सुगामा स्थानीयहरुसंग अदालतको काम, कारवाही सम्बन्धी अन्तरक्रिया गरिसकिएको जानकारी दिनुहुदै न्यायधीश पोखरेलले हरेक दुई महिनामा हामीले सेवाग्राहीहरुसंग समेत अदालतको विभिन्न फाँटमा हुने कामसम्बन्धी अन्तरक्रिया गर्ने गरेको जानकारी दिनुभयो ।
उहाँले हामीले कुनै पनि मुद्दाको छिनोफानो १८ महिनामा गर्ने लक्ष्य राखेपनि कतिपय मुद्दाहरु समयभन्दा धेरै अगाडी नै फछर्यौट गर्ने गरेको वताउनुहुदै अदालत अहिले जनतामूखी बनिरहेको स्पष्ट गर्नुभयो ।
आर्थिक वर्ष २०७२÷०७३ मा महोत्तरी जिल्ला अदालतमा २ हजार ८ सय ८४ मुद्दामा १ हजार १ सय ६४ अर्थात ४०.३९ प्रतिशत फछर्यौट गरिएको छ । अदालतमा १८ महिने मुद्दाको संख्या १ सय ४० रहेको छ भने दुई वर्षे मुद्दा ५० रहेको छ । न्यायधीशहरुले दुई वर्षे मुद्दालाई अगामी दिनमा १० वटामा झार्ने विश्वास व्यक्त गर्नुभएको छ ।
जिल्ला अदालत महोत्तरीले अहिलेसम्म ७ करोड ८६ लाख ७१ ह्जार ६ सय ६० रुपैया फैसला कार्यान्वयनको जरिवाना असुल गर्न बाँकी रहेको जनाएको छ । जसमा यो वर्ष मात्रै २४ लाख ६७ हजार ६ सय ८ रुपैया उठाउन बाँकी रहेको छ । 
सो नियमित अन्तरक्रिया कार्यक्रममा महोत्तरीका सञ्चारकर्मीसहित न्यायधीशहरु दिपकराज पन्त, अनिलकुमार शर्मा, केशवराज घिमिरे, माघवप्रसाद मैनाली, श्रेस्तेदार भोजकुमार बस्नेत, शाखा अधिकृत जानकीरमण यादव, महेन्द्र झाको उपस्थिती रहेको थियो ।