महोत्तरीमा ६४ प्रतिशत विद्युत् चुहावट

महोत्तरीमा ६४ प्रतिशत विद्युत् चुहावट

 
bijuli-choriबर्दिवास, २९ माघ । महोत्तरी जिल्लामा विद्युत् चुहावट निक्कै बढेको छ । भारतबाट जलेश्वर वितरण केन्द्रका लागि प्राप्त सात मेगावाट विद्युत्मध्ये चालु आर्थिक वर्ष २०७०÷७१ को छ महिनाको अवधिमै ६४ प्रतिशत विद्युत् चुहावट भएको नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण केन्द्रले जनाएको छ ।
गत आव २०६९÷७० मा ६० प्रतिशत विद्युत् चुहावट भएकामा यस वर्षको छ महिनामा सो क्रम चार प्रतिशतले बढेर ६४ प्रतिशत पुगेको केन्द्र प्रमुख जितेन्द्रकुमार झाले स्वीकार गर्नुभयो । आव २०६८÷६९ मा भने विद्युत् चुहावट ५९ प्रतिशत रहेको थियो ।
पछिल्लो समयमा जिल्लाका गाउँनगर बस्तीमा विद्युत् हुकिङ गर्ने क्रम ह्वात्तै बढ्दा ट्रान्सफर्मर बिग्रने र जल्ने क्रमसमेत बढेको छ । यहीकारण, प्राधिकरणलाई बर्सेनि दुई करोडको खर्च भार बढेको छ । गाउँनगर बस्तीमा जडान भएका ट्रान्सफर्मरबाट हुकिङका कारण क्षमताभन्दा बढी  विद्युत् खपत हुँदा ट्रान्सफर्मर बिग्रने र जल्ने क्रम बढेको केन्द्रका विज्ञको भनाइ छ ।
पछिल्ला केही वर्षयता विद्युत्का कर्मचारीमा जागिरे मनोवृत्ति बढेसँगै हुकिङ गर्नेहरूसँग कर्मचारीको नै मिलोमतो हुनाले चुहावट निक्कै बढेको बर्दिवासस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण अधिकारीले बताउनुभयो ।
केन्द्रको प्रभावकारी अनुगमन नहुँदा र चुहावट गर्नेविरुद्ध कारबाही फितलो हुँदा समस्या बढेको हो । केन्द्रका कर्मचारीको सेवाग्राहीसँग सहयोगी र आत्मीय व्यवहार नहुनु, मिटर जडान र कार्यालय प्रयोजनका काममा उपभोक्ताले निक्कै दिनसम्म कार्यालय धाउनुपर्ने भएकाले केन्द्रका आम कर्मचारीप्रति उपभोक्ताको सकारात्मक धारणा बन्न नसक्दासमेत चुहावट बढेको हो ।
बेलामौकामा गरिने छड्के अनुगमनले मात्र चुहावट नियन्त्रण हुन नसक्ने जिल्लाकै सिङ्ग्याही गाविसका निवर्तमान अध्यक्ष रामसोगारथ राय यादव बताउनुहुन्छ । केन्द्रका कर्मचारीले भने हुकिङ नियन्त्रणका लागि अनुगमन गर्न पर्याप्त जनशक्ति नभएको बताएका छन् । सङ्क्रणकालीन मुलुकको अवस्थामा जे गरे पनि हुन्छ भन्ने आम सोचले गर्दासमेत चुहावट बढेको ती कर्मचारीको भनाइ छ ।
केन्द्र प्रमुख झाले हुकिङविरुद्ध जनमत बनाउन आम उपभोक्तासँग अपिलसमेत गर्नुभएको छ ।