चालिस करोडभन्दा बढीका मेसिन र गाडी अलपत्र


चालिस करोडभन्दा बढीका मेसिन र गाडी अलपत्र

Share this post
FaceBook  Twitter  Mixx.mn     
गौशाला,  माघ २९ गते । भारतको हैदरावादस्थित प्रसिद्ध निर्माण कम्पनी भिश्वा जेभी/भिभिएसआरको रु ४० करोडभन्दा बढीका मेसिन, औजार, उपकरण र गाडीहरु महोत्तरी, धनुषा र सर्लाही जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका छन् ।
महोत्तरी, धनुषा र सर्लाही जिल्लामा २०१ किलोमिटर सडक निर्माण गर्ने ठेक्का लिएको सो कम्पनी ती सडक नबनाइकनै अचानक भागेपछि कम्पनीले भारतबाट ल्याएका करोडौं मूल्यका मेसिन, औजार, उपकरण र गाडीहरु अलपत्र परेको सो सडक निर्माण कार्यको रेखदेख गर्न नेपाल सरकारको तर्फबाट जिम्मेवारी पाएको योजना कार्यालय जनकपुरका प्रमुख किशोरी रायले बताउनुभयो ।
सो कम्पनीले सडक बनाउन ल्याएका २० वटा जति ट्रिपर, ग्रेडर, लोडर, रोलरलगायतका रु ४० करोडभन्दा बढी मूल्यका गाडी र उपकरण विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेको योजना प्रमुख रायले बताउनुभयो ।
सन् २०११ को जुलाई र अगस्ट दुई छुट्टाछुट्टै महिनामा भारतको हैदरावादस्थित भिश्वा कम्पनीले भारत सरकारसँग आउँदो ३० महिनाभित्र नेपालका विभिन्न ठाउँमा १२१ किलोमिटर सडक बनाउने सम्झौता गरेकामा महोत्तरी, धनुषा र सर्लाहीमा पनि २०१ किलोमिटर सडक बनाउनुपर्ने थियो ।   
सो कम्पनीको सम्झौता अवधि क्रमशः सन् २०१३ नोभेम्बर १२ र डिसेम्बर ३१ मा सकिसक्दा पनि सो कम्पनीले यहाँका सडकहरु निर्माण गर्न नसकेर छ÷सात महिना पहिले कम्पनी अचानक नेपालबाट भागेको योजना प्रमुख रायले बताउनुभयो ।
कम्पनी भागेपछि सडक निर्माणमा सहयोगका लागि नियुक्त गरेका सयौँ कर्मचारी, दर्जनौँ स–साना ठेकेदार र कामदारको समेत बिचल्ली भएको छ ।

कम्पनीले धेरैको लाखाँै रकम तिर्न बाँकी रहेको बताइन्छ । कर्मचारी र कामदारको तलब, भत्ता र सरसामान राख्न भाडामा लिएको भवनको भाडासमेत बाँकी रहेको छ ।

सो कम्पनीले नेपालमा सडक नबनाएर आफ्नो ठेक्का छोड्ने हो भन्ने गाडी, मेसिन, औजार, उपकरणका साथै नेपालमा उसले खटाएका सयौँ कामदारको खर्च गरी उसको ठेक्का सकार रकममा २५ प्रतिशत घाटा हुने योजना प्रमुख रायले बताउनुभयो ।
उहाँ अहिले पनि यो सडक भारत सरकार तथा सोही ठेकेदार कम्पनीले बनाउनेमा विश्वस्त हुुनुहुन्छ । त्यस कम्पनीले रु एक अर्ब ४२ करोडको सडक निर्माण योजनाअन्तर्गत सडक निर्माणका लागि भारत सरकारलाई २० प्रतिशत रकम धरौटी बुझाएका कारण उसलाई सडक बनाउनै पर्ने हुन्छ । रासस