महोत्तरी, ३ फागुन
निजामती कर्मचारी श्रीमती संघको आयोजनामा शनिबारदेखि महोत्तरी जिल्लाको पिपरा गाउँ विकास समितिमा दुई दिवसीय विशेषज्ञ स्तरीय निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।
पिपरा स्थित रामनारायण अयोध्या उच्च माविको प्राङ्गणमा शनिबारदेखि विभिन्न रोगको उपचार निःशुल्क हुने गरी दुई दिने शिविर शुरु गरिएको हो । नेपालमा ५ वटा विशेषज्ञ स्तरीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरी निजामती कर्मचारी श्रीमती संघले ६ औं स्वास्थ्य शिविर पिपरामा शुरु गरिएको जानकारी दिएको छ । यो स्वास्थ्य शिविर अन्य ठाउँको तुलनामा भव्य रहेको जानकारी समेत सो कार्यक्रममा आयोजकहरुले दिएका थिए ।
सो स्वास्थ्य शिविरको अध्यक्षता निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष राधा पौड्यालले गर्नुभएको थियो भने प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव तथा सोही गाउँ निवासी डा.प्रविण मिश्र रहनुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथी डा.मिश्रले नेपाल सरकारको प्राथमिकतामा अहिले शिक्षा र स्वास्थ्य रहेको चर्चा गर्नुहुदैं जनताको घरदैंलोमा गएर स्वास्थ्य सेवा दिनुपर्ने लक्ष्य अनुरुप स्वास्थ्य शिविर आयोजना गर्नुभएको वताउनुभयो । उहाँले सन् २०१६ सम्ममा नेपाललाई दिशा मुक्त क्षेत्र घोषणा अभियानमा लागेको जानकारी दिनुहुदैं खुला ठाउँमा दिसापिसाब नगरी शौचालय बनाएर गर्न आव्हान गर्नुभयो ।
यसको लागि नेपाल सरकारले गर्नुपर्ने हरेक सहयोग गर्ने सचिव मिश्रले आश्वासन समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले सबै काम गर्ने होईन, सहयोग मात्रै गर्छ, त्यो काम स्थानीयले आफै गर्नुपर्छ’ ।
मैथिली र नेपाली गरी दुवै भाषामा बोल्नुभएका सचिव मिश्रले स्वास्थ्यको मुख्य आधार नै सरसफाई रहेको वताउनुहुदैं आफनो, परिवारको र देशको सरसफाई नै अहिलेको आवश्यकता रहेको वताउनुहुदैं त्यसको लागि सरकार कामपनि गरिरहेको दावी गर्नुभयो ।
उहाँले सरकारले सुर्तिजन्य नियमनको कानुन ल्याइसकिएको वताउनुहुदैं तपाईको स्विकृती विना कसैले पनि तपाईको अगाडीमा सुर्तिजन्य पदार्थको सेवन गर्न नसक्ने जानकारी समेत दिनुभयो ।
उहाँले कसैले त्यस्तो गरिरहेको छ भने कारवाही गर्न पनि सकिने वताउनुहुदैं जिडी ठाकुरको संयोजकत्वमा त्यो नियमनको लागि समिति समेत बनाइसकिएको जानकारी समेत दिनुभयो ।
सो अवसरमा नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले समेत मोबाइलबाट शुभकामना मन्तव्य दिनुभएको थियो ।
उहाँको शुभकामना मन्तव्य मोबाइलबाटै स्वास्थ्य सचिव मिश्राले सुनाउनुभएको थियो । शुभकामना मन्तव्यमा उहाँले गाउँ गाउँ गएर स्वास्थ्य सेवा पु¥याउने सरकारको लक्ष्य रहेको वताउनुहुदै सो कार्यमा सबैले सहयोग गर्नुपर्ने वताउनुभएको थियो ।
कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले जिल्लाको समस्याहरुको बारेमा अवगत गराउनुभएको थियो भने निजामती कर्मचारी श्रीमती संघका महासचिव उर्मिला भूसालले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । शिविर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र मोहन मिश्रले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा.रामलखन साह, वीर अस्पतालका चिकित्सक रामप्रसाद साह, क्यान्सर विज्ञ डा.लक्ष्मीनारायण सिंह, जानकी मेडिकल कलेजका रामनारायण मण्डल, निजामति कर्मचारी श्रीमती संघका पदाधिकारीहरु, स्वास्थ्य निकायका पदाधिकारीहरु लगायत विभिन्न चिकित्सासम्बद्ध चिकित्सकहरुको उपस्थिती रहेको थियो ।
सो दुई दिवसीय विशेषज्ञ स्तरीय निःशुल्क शिविरमा सामान्य चिकित्सा, दन्त रोग विशेषज्ञ, चर्म रोग विशेषज्ञ, नाक,कान, घाँटीरोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, बालरोग विशेषज्ञ तथा प्रसुती रोग विशेषज्ञहरुले आ–आफ्नो सेवा दिने तथा औषधी पनि निःशुल्क दिइने छ । साथै आयुर्वेदको शिविर समेत त्यहाँ राखिएको छ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.प्रविण मिश्रले जिल्ला अस्पताल जलेश्वरको निरिक्षण भ्रमण समेत गर्नुभएको छ ।
उहाँले सो अवसरमा अस्पतालको भौतिक संरचना निर्माण भएपनि त्यस अनुरुपको कार्य नभइरहेको प्रति गम्भिर ध्यानाकर्षण भएको वताउनुहुदैं समस्या समाधानको लागि आफुले पहल गर्ने वताउनुभयो ।
जलेश्वर अस्पताल समितिका अध्यक्ष धर्मेन्द्र रायले सचिव मिश्रलाई चिकित्सिक लगायत स्वास्थ्य सामग्रीहरुको आवश्यकता भएको वताउनुभएको थियो । उहाँले अस्पतालमा चिकित्सकहरु नरहने गरेको गुनासो समेत गर्नुभएको थियो ।
ليست هناك تعليقات:
إرسال تعليق