CK LAL
काठमाडौं
मंसिर २३, २०७२-
म नेपाली कांग्रेसको सक्रिय वा निस्क्रिय सदस्य कहिल्यै
पनि भइनँ । तर कांग्रेसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अवलोकन गर्दै
आएको छु । म अहिले कांग्रेस बदलिएको देख्छु ।
सन् १९७०/८० को दसकमा नेविसंघका कार्यक्रममा आउने मान्छेहरु खुट्टामा चप्पल
लगाएका हुन्थे । अहिले सबैले जुत्ता लगाएको देखें । अहिले सुकिला–मुकिला
भएका रहेछन् । त्यसबेला नेविसंघको कार्यक्रममा किताब, कापी र कलम नबोक्ने
एक जना पनि हुँदैन थिए । त्यो यहाँ देखिएन । तर अहिले फोन चाहिँ सबैसँग
रहेछ ।
अर्को त्यसबेला महिला विद्यार्थीहरु कम थिए, ४० वर्ष पछि पनि त्यस्तै
देखियो । यो दु:खलाग्दो कुरा हो ।
कुनै पार्टीसँग सम्बन्ध नभएकोले मलाई माले, मसाले, मण्डले सबैले बोलाउँछन् ।
उनीहरुको कार्यक्रममा गए भने हरेक वक्ताको बोल्ने, विचार दिने शैली एउटै
हुन्छ, तलदेखि माथिको तहसम्म उही भनाई हुन्छ । कांग्रेस अथवा नेविसंघ वा
तरुण दलका भने फरक हुन्छन् । हरेक वक्ताले फरक बोल्छन् । अघिल्लो र पछिल्लो
बीचका कुरामा केही फरक आइहाल्छ ।
महाभारतमा एउटा कथा छ । महाभारतमा कौरवहरुको विनाश भयो, पाण्डवहरु पनि
विनास भए । महाभारतको युद्धमा सबैभन्दा बलियो निस्किए, यादवहरु । बलियो
भएपछि यादवहरुमा दम्भ निस्कियो ।
एकपटक कृष्णजीका छोरा ऋषिहरुसँग जिस्किए । उनले आफू पुरुष भए पनि गदाको
माथिल्लो भागको फलाम पोको पारि पेटमा राखेर, म दुई जीउको भएको छु, मेरो
बच्चा के हुन्छ ? म पुरुष भएर कसरी बच्चा पाउने ? जस्ता प्रश्न सोधेर
जिस्क्याए ।
तीमध्ये एक ऋषिलाई यो देखेर रिस उठ्यो । उनले श्राप दिए– तिम्रो जिउबाट
मुसल (फलाम) जन्मिछ । यादव केटाहरु तर्सिए । एकजना जान्ने मान्छे कहाँ गएर
गुनासो गरे । उनले भनिदिए– यदि मुसल जन्मियो भने यादव वंशको सर्वनास हुन्छ ।
त्यसलाई धुलो बनाएर फालिदेउ । त्यसपछि दुई कुरा भयो भन्ने सुनिन्छ ।
धुलो पारेर फलामको धुलो फलिदिए । पहिलो कथाले त्यो धुलो फालेर उम्रेको वाण
लागेर कृष्णको मृत्यु भयो भन्छ । अर्कोले होइन, त्यो धुलो खाएको माछाबाट
निस्केको काँडा बिझेर यादवहरुको मृत्यु भयो । उनीहरु कमजोर भएर गए ।
गुजरात, द्धापरका यादव अब छैनन् भन्दा हुन्छ । यादवहरु अहिले भारतको
उत्तरप्रदेश, बिहार र हाम्रो मधेसमा छन् । तर गुजरातमा वंश नाश भएर गयो ।
त्यो एउटा सानो दम्भबाट आएको गल्तीले भएको थियो ।
संविधानमा अहिले भएको गल्ती कांग्रेसमा आएको त्यस्तै दम्भका कारण उब्जिएको
हो । कांग्रेसमा दम्भ आयो, एमाओवादी र एमालेलाई खुब लडायौं । हामी बलियो
भयौं भन्ने दम्भ पलायो । त्यही दम्भबाट जन्मिएको संविधान हो यो ।
यसको पृष्ठभूमिमा जानु आवश्यक छ । बीपी कोइरालाले नारा त दिए– समाजवाद,
प्रजातन्त्र र राष्ट्रियता । यो नारा शीत युद्धताका तत्कालीन विश्वयुद्धमा
कमजोर राष्ट्रहरुले आफ्नो राष्ट्रियता कसरी बनाउने भन्नका लागि ल्याइएको
थियो ।
समाजवादले गरिब र धनीबीचको वर्गिय द्वन्द्वलाई कम गर्छ । प्रजातन्त्रले
वर्चश्वशाली र अन्य समुदायहरुको बीचको दुरीलाई कम गर्छ । र, हरेक मतको
महत्व बराबर हुने अवश्कता सिर्जना गर्छ ।
सैनिक सोच राष्ट्रवादमा आधारित हुन्छ । दोस्रो विश्व युद्धमा महान्
राष्ट्रवादी हिट्लर भएका हुन्, स्टालिन, माओत्सेतुङ महान राष्ट्रवादी भएका
हुन् । राष्ट्रियताले सैनिक सोचलाई हावी गर्छ । त्यसलाई हटाएर सैनिक
राष्ट्रवादको साटो सिविक (नागरिक) राष्ट्रवाद आयो । नागरिकताको
राष्ट्रियताले सबै नागरिकहरु बीचमा सामन्वय स्थापित हुन्छ । यी तीन विचार
धाराको आधारमा नेपाली कांग्रेसको राजनीति सन् १९६० देखि ८० को दसकसम्म
चल्यो । त्यसपछि बीपी कोइरालाले के देखे भने यति मात्रले नेपालको
राष्ट्रियता बलियो नहुँदो रहेछ ।
नेपाली समाजमा सैनिक सोच बलियो रहेछ । सैनिक सोचमा राजाले नेतृत्व गर्छन् ।
त्यसैले प्रजातान्त्रिक सोच भनेको प्रचण्डको भाषामा (सिविक सोच) र सैनिक
सोच फ्युजन हो, बीपी कोइरालाको भाषामा भन्ने हो भने समन्वय हो । यसको लागि
मेलमिलाप भन्ने भयो । यसको अर्थ एउटा अर्कोमा विलय होइन । दुवै मिलेर
बसेनौं भने हामी दुवै बिलाउँछौ भन्ने हो । हामी दुई फरक छौं तर दुवै मिलेर
बसेनौं भने दुवै विलय हुन्छौं भनेर मेलमिलापको नीति आयो । यो नीतिको
सान्दर्भिकता सन् १९९० मा सकियो ।
त्यो बेलामा जापानी मूलका अमेरिकी राजनीतिशास्त्री थिए– फ्रान्सिस
फुकुयामा, स्यामुयल हन्टिनटनका शिष्य । फुकुयामाले पुरानो विचार धाराहरुकै
अन्त्य गरिदिए ।
सोभियत संघको पतन भएपछि एउटा विचारधारा हावी भयो । त्यसपछिको विचारधाराको
द्वन्द्व सैनिक राष्ट्रवादको सट्टा वर्गिय सैनिक राष्ट्रवाद (जसलाई
माक्र्सवाद भनिन्यो) ले प्रतिनिधित्व गर्ने भयो । अर्कोतर्फ नागरिक
राष्ट्रवाद त छँदै थियो ।
यो दुई राष्ट्रवादलाई मिलाउने काम गरे सन् २००६ मा आएर गिरिजाप्रसाद
कोइरालाले । त्यो पनि अर्को किसिमको मेलमिलाप थियो । न कांग्रेसमा
माओवादीको विलय भयो न माओवादीमा कांग्रेसको विलय भयो । माओवादीले संसदीय
व्यवस्था, निर्वाचन प्रणाली स्वीकार गरेको हो तर विलय भएका होइनन् । किनकि,
उनीहरुको आस्था आफ्नै ठाउँमा थियो । कांग्रेस त विलय हुने कुरा हुँदै भएन ।
त्यो एउटा समन्वय, मेलमिलाप भएको थियो ।
हुन त गिरिजालाई पढेका मान्छे भनेर मानिदैन । तर, उनको राजनीतिक समझ ज्यादै
राम्रो थियो । उनको सुचनाको स्रोत व्यापक थिए । आजभोलीका नेताको सुचनाको
स्रोत कम छन् । फेसबुक हेरे पुग्छ, गाउँमा आफ्ना काका छन्, निर्वाचन
क्षेत्र हेर्ने एउटा मुनिम छ, उसँग कुरा गरे भइहाल्छ भन्छन् । हाम्रा
नेताहरु आफ्ना आसेपासेका कुराबाहेक नसुन्ने । कान र नाक बन्द राख्ने र
मुखमात्र चलाउने छन्, अहिलेका हाम्रा नेताहरु ।
गिरिजाप्रसाद अलि फरक थिए । उनले के देखे भने यो मेलमिलापले पनि पुगेन । २१
औं शताब्दीको विचारधाराको द्वन्द्व चाहिँ एकल पहिचानको हो । उनले सैनिक
राष्ट्रवादमा पनि एकल पहिचान हुन्छ भन्ने बुझे । एक समान बनाउनु पर्छ भनेर
हिटलरको राष्ट्रवाद र प्रजातन्त्रमा पनि एकल राष्ट्रियता नै थियो । एउटै
भाषामा समाहित गर्नुपर्छ भने दोस्रो विश्वयुद्धमा जितेको अमेरिका, बेलायत,
फ्रान्स थुप्रैको पहिचान एउटै बनाउनु पर्छ भन्ने थियो । बहुपहिचानले
राष्ट्र कमजोर हुन्छ भने विचारधारा आएको थियो ।
यो विचारधाराको अन्त्यले अर्को विचार धारा आएको हो । उनलाई कसले सुचना
पुर्याउँथ्यो मलाई थाहा छैन । त्यो मलाई जानकारी हुने कुरा भएन । सन् १९९०
पछि नेपाली कांग्रेसका नेताहरुसँग यस्तै सार्वजनिक कार्यक्रमको
मन्चमाबाहेक भेट भएको छैन । सन् १९९० भन्दा अघि उनलाई भेट्न कोही जादैन
थिए, म जान्थें । त्यसपछि उनकामा ताँती लाग्न थाल्यो, मलाई त्यसो गरि भेट्न
मन कहिल्यै लागेन ।
नेपाली कांग्रेसको सरकारले, जो राष्ट्र र सरकार प्रमुख दुवै थियो,
मधेसवादीहरुसँग सम्झौता गरेको हो । सम्झौताको विस्तृतमा नगएर पनि त्यसको
मर्मलाई नसमात्ने हो भने जसरी कांग्रेसले समाजवादलाई पोलेर खायो,
प्रजातन्त्रलाई पनि पोलेर खायो । राष्ट्रियतालाई पोलेर खाने हो कि भन्ने
जोखिम चाहिँ उत्पन्न हुन्छ । त्यो मधेसवादीसँग भएको सम्झौता नेपालको
राष्ट्रियता जोगाउने अवसर हो । त्यो अवसरलाई दूर्भाग्यबस सुशील कोइरालाले
बुझ्न सकेनन् ।
सन् १९९० मा गिरिजाले भनेका थिए यही टुँडिखेलबाट– प्रजातन्त्रमा कसैको हार
हुँदैन, यो पञ्चहरुको पनि जित हो । यो संविधान जारी गर्दा सुशीलले कस्तो
घोषणा गरिदिए भने– यो पञ्चेहरुको मात्रै जित हो । अरु यो देशमा छैन ।
नेपाली कांग्रेसलाई विघटन गरिदिने हो कि भन्ने डरमा पारिदिए, प्रधानमन्त्री
र पार्टी अध्यक्षसमेत भएको व्यक्तिले । तर नेपाली कांग्रेसमा कहिलेकाही
कमाल हुन्छ । हामी विद्यार्थी हुँदाखेरि माले, मसाले, मण्डले भन्थें, ‘अनि
नेविसंघहरु के त ?’ यिनीहरु कमाले हुन् । सन् १९६०/७० को दसकमा नेविसंघमा
लाग्ने कमाले हुन् । बाटोमा, भीडमा नदेखिने तर कलेजमा चुनावको निर्वाचनमा
जित्ने । त्यस्तै कमाल सुशीलमा भयो । उनमा आत्मवोध भयो– ठूलो गल्ती भएको छ ।
कांग्रेस यो संविधानमा कायम भयो भने प्रजापरिषद हुन्छ । देश पञ्चहरुलाई
बुझाइदिएको हो । कांग्रेस अराष्ट्रिय तत्व हुँदा प्रजापरिषद् राष्ट्रवादी
तत्व थियो । त्यही स्थितिमा पुग्ने हो ।
दोस्रो बुँदा मधेस आन्दोलन कुरा । मधेसवादी दलका नेताहरुको अनुहारमा हेरेर
मात्र जाने भने हो नेपाली कांग्रेसका नेताहरुको अनुहारमा पनि धेरै आकर्षण छ
र ? भीमबहादुर तामाङ, महेन्द्र नारायण नीधि, रामहरी जोशी, यी दुई चार
जनाको नाम हटाइदिने हो भने कसको अनुहार हेर्दा यसको लागि जीवन अपर्ण गर्न
सक्छु भन्ने लाग्छ ? बीपी कोइराला त अब कांग्रेसका मात्र नेता होइनन् । उनी
त अहिले सबैभन्दा ठूला नेता बाबुराम भट्टराईका, सबैभन्दा ठूला नेता कमल
थापाका, सबैभन्दा ठूला नेता केपी ओलीका हुन् । उनी त अब राष्ट्रिय नेता
भइहाले । त्यसैले बीपीलाई अब कांग्रेसमा मात्र बाँध्न सकिन्न । तपाई अहिले
कुन चाहिँ काग्रेसका नेताको अनुहार हेरेर ज्यान अर्पण गर्न सक्छु जस्तो
लाग्छ । जस्तो कि, दुर्गानन्द झाले गरे जनकपुरमा । लाठी खान चाहिँ तयार
हुनु हुन्छ होला । किनकि बाँचेपछि त्यसको ब्याजसहित असुल्न पाइन्छ ।
गोली खान तयार हुनु हुन्न होला, किनकी त्यो किसिमको भावना जगाउन सक्ने
महेन्द्रनारायण निधि, सरोज कोइराला, गणेशमान सिंह, भीमबहादुर तामाङ,
जिउँदोमा त रामहरी जोशीको भन्दा अरुको नाम लिन आएन मलाई, त्यो किसिमको छैन त
। कांग्रेसमा त्यही छ, एमालेमा त्यही छ । कांग्रेसमा जस्तो नेता छ, मधेसमा
पनि त्यस्तै नेता छन् ।
जसरी कांग्रेसको नेताले मात्र होइन, नेपाली जनताले आन्दोलन गरेर सन् १९९०
को परिवर्तन भयो, सन् २००६ को परिवर्तन भयो । त्यसरी अहिले मधेसमा रहेका
नेपाली जनताले आन्दोलन गरिरहेका छन् ।
अब मधेसका मुद्दाहरु के–के हुन् भन्ने कुरा त कतिपटक दोहोर्याउने ? मेरो
जानकारीअनुसार गिरिजाप्रसाद कोइराला भाङ, गाँजा खाँदैन थिए । रक्सी अलीअली
खान्थे । सन् १९९० अघि रक्सी पनि लाग्नेगरि खाएको मेरो जानकारी छैन । भाङ,
गाँजा, रक्सी नखाइकन भारतका राजदूतलाई साक्षी राखेर सम्झौता भएको छ भने
त्यसबारेमा १९ होला, २१ होला, २० का २० नहोला, तर त्यसलाई आधार मानेर
संविधान बन्नुपथ्र्यो नि ।
मधेसमा आधाभन्दा बढी जनसंख्या छन् । मधेसको थारु मुसलमान लगायत, कम्तिमा एक
तिहाई जनसंख्या छ । नेपाली राष्ट्रियताको सबैभन्दा ठूलो प्रश्न साँस्कृतिक
राष्ट्रियतालाई राजनीतिक राष्ट्रियता कसरी बनाउने भन्ने हो । अहिलेसम्म
पञ्चायतको धङधशङीले धानिरहेको छ । एउटै धर्म, एउटै भेष, एउटै जाति, एउटै
जीवन शैली ।
त्यसैले बढे–बढे साहित्यकारले के भन्छन् भने, अछामको एउटा नेपालीको घरमा
पुग्दा नेपाल आए जस्तै भयो । तर सुगामा (जनकपुर) सीके लालको घरमा पुग्दा
विदेश पुगे जस्तै भो ।
म एउटा नाम चलेका पत्रकारसँग कार्यक्रममा जनकपुरमा थिए । चीतवनमा उनले
भनेका थिए, ‘मेरो विद्यालयका हेडमस्टर यतैतिरका हुन् । तर उनी नेपाली
होइनन्, तपाईजस्तै हो ।’ उनी जनकपुरको मान्छे । नागरिकताबिना त हेडमास्टर
हुन पाउने नियम पहिले नै हटेको थियो । घर जनकपुरमा छ, जनकपुर त भारतमा
पर्दैन । पछि थाहा भयो हेडमास्टर मेरै दाई पर्ने रहेछन् । मैले पछि भनिदिए,
‘उनी मेरा दाई रहेछन्, नेपाली होइन रहेछन् ।’ हो म र मेरो दाई नेपाली हुने
वातावरण छैन ।
किनकि नेपाली हुने परिभाषा साँस्कृतिक छ । राजनीतिक परिभाषा नेपाली हुनुको
के हुन्छ भने देशमा जन्मिएका, देशमा बस्ने, देशका लागि काम गर्ने, देशका
लागि कटिबद्ध । राजनीति दलहरु भने राष्ट्रियतालाई राजनीतिक परिभाषा दिनका
लागि बसेका हुन् । नेविसंघको राजनीतिकमा आएकाहरुले पनि मधेसीहरुलाई नेपाली
बनाउनु पर्छ भन्ने हो भने त नेविसंघको आधारभूत मूल्य र मान्यता तिरस्कार
गरेको ठहरिन्छ नि । राजनीतिक दल र उनीहरुका भातृसंगठनहरुले राष्ट्रियताको
परिभाषा दिने हो ।
भुटानका नेपाली भाषी नेपाली हुने । अमेरिकामा ३ लाख नेपाली छन् । तीमध्ये
भुटानका शरणार्थी एक लाख, भारतका नेपाली मूलका एक लाख, नेपालका नेपालीहरु
एक लाख । मधेसी ३०/४० हजार गनिदैनन् । किनभने नेपाली कार्यक्रम हुन्छ, त्यो
राजनीतिक प्रकृतिको हुँदैन, त्यो साँस्कृतिक प्रकृतिको हुन्छ । दसैंमा
मधेसीले टिका लगाउँदैन । नेपालमा भएको बेलामा त तत्कालीन राष्ट्रपति रामवरण
यादवले धानेका थिए । तराईमा छठ मनाइन्छ । बरु भारतीय आउँछन्, पहाडीयाहरु
गइदिँदैनन् ।
राजनीतिक राष्ट्रियताको कुरो गर्नुपर्ने यो संविधानको मुख्य जिम्मेवारी हो ।
राजनीतिक नेपाल राज्य निर्माण गर्ने कुरा, सुगौली सन्धीदेखिको हो त्यो
अहिलेसम्म हुन सकेको छैन ।
साँस्कृतिक राज्य त रहिरहेको छ । यसको नेतृत्व कहिले थापा, राणा, शाह,
पाण्डे, कोइरालाले गरे । व्यवस्थाहरु बदलिदै गए तर नेपाल साँस्कृतिक इकाईको
रुपमा मात्र रह्यो । पित्रृभूमिको रुपमा रह्यो । यसलाई राजनीतिक इकाइको
रुपमा स्थापना गर्ने भूमिका नयाँ संविधानको हुनु पर्थ्यो । ७० वर्षपछि मुसल
जन्माउँदैमा त्यसले देश थाम्दैन । देश थाम्न जे कुरा आश्यकता हो, यो गर्न
सक्नुपर्छ । त्यहाँनेर कता कता यो देश चुकेको छ । र, मधेशको आन्दोलन त्यही
नेपालीको राष्ट्रियताको आन्दोलन हो, जसले नेपालको साँस्कृतिक परिभाषालाई
बदलेर नेपाललाई राजनीतिक राज्यको रुपमा स्थापना गर्न चाहन्छ । त्यसका लागि
जनसंख्याको आधारमा प्रतिनिधित्वको कुरा, समानुपातिका सवावेशीताको कुरा,
संघीयता यस्तो होस, जसले पहिचानहरुको कमसेकम सम्मान गरोस, जुन मूल पहिचानको
प्रश्न हो, त्यसलाई कमसेकम हल गरोस् ।
सुन्दै आएको छु– ओली र मोदीको कुरा मिल्दै छ रे । ओली र मोदीको कुरा जति
मिलाए पनि कुनै बेला महेन्द्र र इन्दिरा गान्धीबीच पनि कुरा भएको थियो । तर
त्यसले सन् १९९० को परिवर्तन रोकिएन । ओली र मोदीको कुरा मिलाएर मधेसको
समस्या समाधान हुँदैन । यो बिलकुल बेग्लै हो ।
भारतले किन नाकाबन्दी गर्यो भनेर किन मधेसवादीलाई सोध्नु हुन्छ । ती भन्दा
त धेरै नजिक ओलीजी हुनु हुन्छ । त्यही कोइराला हुनुहुन्छ, राष्ट्रप्रमुख
नहुँदै राष्ट्रप्रमुखको सम्मान पाएको । त्यही कमल थापा हुनुहुन्छ, भारतीय
जनता पार्टी र राप्रपा नेपालको सबै कुरा मिल्छ । एकै थरी छ । भारत के
चाहन्छ, नाकाबन्दी के हो भने यिनीहरुलाई भन्दा अरुलाई के थाहा होला । यीनले
के भने के गरेनन् । नाकाबन्दी भनेको राज्यको कुरा हो, सरकारको कुरा हो ।
सरकारले सम्बोधन गर्ने हो । आन्दोलन भनेको राजनीतिक कुरो हो । र, त्यो
आन्दोलन अहिले राजनीतिक कुराहरुको लागि भइरहेको छ ।
(गत मंसिर १६ मा नेविसंघ सिरहा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको
‘संघीयता, मधेस आन्दोलन र बीपीको राष्ट्रिय मेलमिलाप नीति’ विषयक
विचार–गोष्ठीमा राजनीतिक बिश्लेषक सीके लालले प्रस्तुत गरेको विचारको
सम्पादित अंश)
http://kantipur.ekantipur.com/news/2015-12-09/20151209174309.html
http://bit.ly/1jNRXE8
http://kantipur.ekantipur.com/news/2015-12-09/20151209174309.html
http://bit.ly/1jNRXE8