राजनमुक्तिलाई ज्यानको खतरा रहेको मोर्चाको आरोप

महोत्तरी समाचारदाता
जलेश्वर, पुस ५ गते । महोत्तरी जिल्ला कारागार जलेश्वरमा कैदी जिवन व्यतित गरिरहनुभएका रंजित झा राजनमुक्तिलाई ज्यानको खतरा रहेको आरोप जनतान्त्रिक तराई मुक्ति मोर्चाले लगाएको छ ।
राजनमुक्ति जनतान्त्रिक तराई मुक्ति मोर्चाका वरिष्ठ नेता एवं पुर्व अध्यक्ष हुनुहुन्छ ।
मोर्चाका केन्द्रीय सदस्य तथा महोत्तरी, धनुषा प्रभारी दिपककुमार झा भास्कर मुक्तिले जारी गर्नुभएको विज्ञप्तिमा आफ्ना नेतालाई कारागारमै मार्ने षडयन्त्र भइरहेकोले उनको जिवनरक्षाको लागि पहल गरिदिन सबैमा अपिल गरिएको छ ।
विज्ञप्तिमा पटक पटक कारागार भित्र राजनमुक्तिलाई मार्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै पछिल्लो घटना यही मङ्सिर २५ गते शुक्रबार भएको उल्लेख गरिएको छ । हाल उनको अवस्था चिन्ताजनक रहेपनि उपचारप्रति कारागार प्रशासन उदासिन रहेको आरोप समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वार्ता टोलीका सदस्य समेत रहनुभएका भाष्करमुक्तिले आफ्ना पूर्व अध्यक्ष राजनमुक्तिलाई कारागार भित्रै कुटपिटमा कारागार प्रशासनको समेत मिलेमतो रहेको भन्नुहुदै यसको पुष्टि पुस २ गतेसम्म पनि उपचारको लागि नलगिनु रहेको बताउनुभएको छ ।
विज्ञप्तिमा मोर्चाले यी घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको उल्लेख गरिनुका साथै राजनमुक्तिको जिवन रक्षाको लागि पहल गरिदिन मानवअधिकारकर्मी, पत्रकारहरुलाई समेत आग्रह गर्नुभएको छ ।
यसैबीच, महोत्तरी जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरु मिलेर बनेको मानव अधिकार रक्षक सञ्जाल महोत्तरीले यो घटनाप्रति ध्यानाकर्षण भएको भन्दै कारागारको निरिक्षण गरेको छ ।
तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स), इन्सेक, मानवअधिकार संरक्षण केन्द्र, नेपाल पत्रकार महासंघ, नागरिक समाज सञ्जाल, नेपाल वार एशोसिएशनलगायतका संघसंस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा कारागारको निरिक्षण गर्नुका साथै जनतान्त्रिक तराई मुक्ति मोर्चाका नेता राजनमुक्तिसंग भेटधाट गर्नुभएको छ ।
भेटधाटको क्रममा राजनमुक्तिको अनुहारमा चोट लागेको, बायाँ आँखा रातो बनेको र उनको कुराकानीबाट कारागारमा कुटपिट गरेको हुन सक्ने निष्कर्ष निकालेको अनुगमन निरिक्षणमा संलग्न नागरिक समाज सञ्जालका प्रतिनिधि राकेश चौधरीले जानकारी दिनुभयो ।
उहाँले राजनमुक्तिले आफुलाई कसैले नकुटेको वताएपनि उहाँलाई कहिँबाट चर्को दवाव रहेको स्पष्ट देखिएको वताउनुहुदै कारागारको अवस्थाप्रति सम्बिन्धित निकायको ध्यानाकर्षण गराईसकिएको वताउनुभयो ।
निरिक्षणमा थर्ड एलायन्सका नागेन्द्रकुमार कर्ण, इन्सेकका अजयकुमार साह, नागरिक समाज सञ्जालका राकेश चौधरी, पत्रकार महासंघका विक्रम रौनियार, दिपिका साह, अधिवक्ता विकरु यादव, मानवअधिकार रक्षक सञ्जालका रञ्जन भण्डारीलगायतकाहरु जानुभएको थियो ।
मानवअधिकार रक्षक सञ्जाल महोत्तरीले कारागार अनुगमन पश्चात जारी गरेको विज्ञप्तिमा बन्द, हडतालको कारणले कैदीवन्दीहरु समेत प्रभावित बनेको उल्लेख गर्दै कैदीवन्दीको रासनपानी तथा दाउरा ल्याउन नरोक्न सम्बन्धीत निकायसंग आग्रह गरिएको छ ।
विज्ञप्तिमा मोर्चाका पूर्व अध्यक्ष राजनमुक्तिसंग सम्पर्क पश्चात कारागारभित्र मानवअधिकारको संरक्षण गरिदिन सम्बन्धित निकायसंग आग्रह गरिएको छ ।