जिविसमार्फत झण्डै एक करोड दोहन

जिविसमार्फत झण्डै एक करोड दोहन

महोत्तरी, २४ असार । जिल्ला विकास समिति महोत्तरीले गैरसरकारी संस्था, दवाव समूह, नागरिक समूहमार्फत झण्डै एक करोड रुपैयाँ चेतनामूलक कार्यकै लागि खर्चिएको छ । तर यो खर्च बालुवामा पानीसरह साबित भएको छ । जिविसले बिना कुनै अध्ययन मनपरी शीर्षकमा खर्च गर्न ७२ भन्दा बढी गैससस्था, दवाव समूह, नागरिक समूहलाई ५० हजार रुपैयाँको दरले कार्यक्रम खर्च बितरण गरेको हो । 

सम्बन्धित कार्यालयले यस सम्बन्धी कुनै पनि विवरण संचारकर्मीलाई दिन सकेको छैन । एउटा कोठामा अटाउन सक्ने भन्दा पाँच गुणा बढीको बिल भपाई पेश भएको स्रोतले जनाएको छ । त्यस्तै पहुँच भएका गैसस र ब्यक्तिगत समूहलाई आठ लाख रुपैयासम्म दिइएको छ । दुई दिनको कार्यक्रम भनिएपनि एक दिन, यातायात खर्च समेत सहभागिलाई नदिइएको, कुनै ठाउँमा कार्यक्रम नै नगरि बिलभपाई पेश गरिएको जस्ता समस्या देखिएको छ । जिबिस स्रोतले भन्यो,‘यो रकमबाट जनस्तरमा सहयोग पुग्न सकेकोमा शंका छ । तर दबाब थेग्न गाह्रो छ ।’

आफ्नै आर्थिक सहयोगमा सम्पन्न भएका कार्यक्रमहरुको अनुगमन समेत जिबिसबाट भएको देखिएन । यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला बिकास समितिमा गुनासो गर्दा समेत कुनै सुनुवाई नभएको नागरिक समाजका अगुवाहरुले बताए । गत हप्ता जिबिसले पत्रकार सम्मेलन गर्दा समेत कुनै पनि भौतिक निर्माण कार्य तथा जनचेतनामूलक कार्यक्रमको आवश्यक जानकारी संचारकर्मीलाई दिएको थिएन ।
- See more at: http://www.madheshvani.com/details/12714/madhesh-update#sthash.0e9rd49i.dpuf