महोत्तरी समाचारदाता
जलेश्वर, साउन ११ गते । मिथिलाञ्चलका नवविवाहिता मिथिलानीहरुले हर्षोल्लास र धुमधामका साथ मनाउने पर्व मधुश्रावणीको रौनकतामा मिथिला झुमेको छ ।
१५ दिन सम्म मनाइने यो पर्वमा नवविवाहिता महिलाहरु १५ दिनसम्म गृहस्थी कसरी चलाउने भन्ने बारेमा शिक्षा प्राप्त गर्ने कथाहरु सुन्ने गर्दछन् । त्यसैगरी पतिको दिर्घायुको कामना गर्दे उनीहरु गौरी, विषहरा लगायतका पुजा समेत गर्ने गर्दछन् ।
“ सखी फुल लोढ चलु फुलबरिया, सीताके संग सहेलिया, कोई बेली फुल लोढे चमेली फुल लोढे, कोई लोढेला चम्पाके कलिया, सीताके संग सहेलिया..” लगायतका गीतहरु गाउँदै जब समुहमा महिलाहरु निस्किने गर्छिन तवको दृश्यले सबैलाई मनमोहक बनाउने गर्छ ।
हरेक श्रावण कृष्णपञ्चमी देखि शुरु भई श्रावण शुक्ल द्धितिया सम्म यो पर्व मिथिलाञ्चलका कायस्थ, बा्रहमण, सोनार र देवजातिका नवविवाहिता महिलाहरुले मनाउने गरेका छन ।
श्रावण मासको झरी, कालो वादल र न्यानो घामको स्पर्श गदै युवतीहरु नाच्ने, गाउने, र विवाहिताहरुले आफ्नो पतिसंग वितेको मधुर क्षणबारे साथीसंगीहरुसंग कुराकानी गर्ने गरेकोले यो पर्वलाई मधुश्रावणी भनिएको हो ।
यो पर्वमा नवविवाहिताले आफ्नो साथीहरुलाई यौनको कुरा देखि लिएर पति संग विताएको क्षण सम्म भन्ने गरेको कारण यसलाई यौन शिक्षा दिने पर्व समेत भनिएको छ । यो पर्वमा नवविवाहिताले नागपञ्चमी सम्बन्धि कथाहरु सुन्नुका साथै नागको अर्थात विषधरको पुजा गर्ने गर्दछन् ।
पतिप्रेम बढोस र पति प्रति आदर भाव जागोस भनी यो पर्व अवधिभर शिवगौरी, विषहारा, शिवलिला र श्रवणकुमार लगायतको कथा सुनाउने गरिन्छ । यो पर्व माईतमै मनाउने प्रचलन रहे पनि आज भोली यो पर्व ससुरालमा समेत मनाउन थालिएको छ ।
यो पर्वको विशेषता भनेको विषघरको पुजा बासी फुल र पातबाट गर्नु र पुजा अवधि भर नवविवाहिताले खानेकुरा सबै ससुराकै खानुपर्ने रहेको छ । सोही कारण ससुराबाट नवविवाहिताहरुको लागी पुजा अवधिभरको लागी सबै सामान जोहो गरी पठाईने गरेको हुन्छ । यो पर्व १५ दिनसम्म मनाईने गरिन्छ ।
श्रावणको झरी, कालो वादल, चारैतिर हरियाली, नवविवाहिता महिलाको सिंगारपटार लगायतका दृश्यहरुले कामोत्तेजना बढाएको हुन्छ र यो पर्वमा सोहीकारणले जतिसुकै टाढा पति भएपनि आउने गरेको कारणले यसलाई मिथिलाञ्चलको हनिमुन भनेर भनिन्छ ।
विषहाराको पुजा बासी फुल र पातबाट हुने गरेको कारण नवविवाहिता महिलाहरु लगायत छरछिमेकका संगीसाथीहरु मिलि समुहमा गित गाउँदै गाउँ बाहिर स्वछन्द भई घुम्ने गर्दछन । कहिले पनि घर बाहिर ननिस्कने महिलाहरु समेत पुजा अवधिभर साथीहरुसंग गफिदै झरीको मजा लिन चुक्दैनन भने उनीहरु समुह समुह बनाई चौमासा, छमासा, बटगवनीको सुमधुर गीतहरु पनि गाउने गर्छिन । सो समयमा नवविवाहिता महिलाहरुले सिंगारपटार गरी निस्कदा केटा देखि बुढो सम्मको हेर्नको लागी घुईचो लाग्ने गर्दछ ।
यो पर्व टेमि (आगोले पोल्ने कार्य) दिएर सकिने गरिन्छ । महिलाहरुलाई अग्नि परिक्षा स्वरुप घुँडामा टेमि दिईन्छ र जति ठुलो फोका उठ्छ त्यत्ति बढी नै पति प्रति माया र पतिको दिर्घायु हुन्छ भन्ने मान्यता रहेको पाईन्छ । यो पर्वलाई समय सापेक्षरुपमा अगाडी बढाउदै लगियो भने अझ पनि यसको महत्व बढने देखिन्छ ।