गृहिणीबाट ‘नेताइन’ बन्दै महिलाहरु


नागेन्द्रकुमार कर्ण
महोत्तरी
Nagendra Kumar Karna
गृहिणीको शाब्दिक अर्थ भन्नुपर्दा घरकी मालकिनी, गृहस्वामिनी, पत्नी, स्वास्नी आदि हो । यो शब्दले बाहिर काम गर्ने नभई घरमै काम गर्ने अर्थ दिन्छ । नौकरीको अर्थमा यसलाई लिइन्न् । कतिपयले कुशल गृहिणी पनि भन्छन् । यसले पनि घरमै रहेर घरको सम्पूर्ण कामगर्ने, घरपरिवारका सबै सदस्यको हेरचाह गर्ने वुझिन्छ । त्यसैगरी ‘नेताइन’ भने मैथिली स्त्रिलिङ्गी ठेट शब्द हो । यसलाई नेपाली भाषाको नेतृत्वसंग तुलना गर्न सकिन्छ । नेपालीमा नेतृत्वको अर्थ कुनै दल वा जनसमुदायको सामुदायिक कल्याण गर्ने, मार्ग प्रर्दशक, नेताको काम वा पद, अगुवाले गर्ने कार्य लगायतका वुझिन्छ । यसरी हेर्दा मधेशका कुनै महिलाहरुले मार्ग प्रदर्शनको लागि अगाडी आएपछि, नेताको काम वा कुनै पद लिएपछि, अगुवाले गर्ने कार्य गरेपछि उनीहरुलाई ‘नेताइन’ शब्दले सम्बोधन गरिन्छ । कतिपयले यसलाई गिज्याउने शैलीमा पनि भन्ने गर्छ । तर महिलाहरु अगाडी आएर आफ्ना समूहको बारेमा, आफ्ना हक, अधिकारको बारेमा बोल्न थालेपछि, वा कार्य गर्न थालेपछि उनीहरुलाई पुरुषवादी मानसिकताले गाँजेका समाजका उपल्ला केही व्यक्तिहरुले गिज्याउने शैलीले यो शब्दको प्रयोग बढी गर्ने गरेको पाइन्छ । मधेशका महिलाहरु सदियौंदेखि गृहिणीको रुपमा बस्दै आएको तथा केही दशकदेखि मात्रै अगाडी आउन थालेपछि महिला नेतृको रुपमा गिज्याउन ‘नेताइन’ शब्द आएको हो । पहिला पहिला यो शब्द महिलाहरुलाई पचाउन ग्राहो भएपनि अहिले भने यो शब्दले सफलताको श्रेयको रुपमा वुझिन शुरु भइसकेको छ । त्यसैले पनि यो आलेखमा गिज्याउने दृष्टिकोणले नभई महिलाको सफलताको श्रेयको रुपमा, आदरको रुपमा ‘नेताइन’ शब्दको प्रयोग भएको हो ।
भनिन्छ, सफलताको शिखरमा पुग्न शुन्यबाट नै शुरु गर्नुपर्छ । शुन्यबाट शुरु गर्नुको अर्थ तलबाट (केही नभएको अवस्थाबाट) नै शुरु गर्नु हो । रुखको माथिल्लो भागमा पुग्न जडो समात्नैपर्छ । एकैचोटी रुखको टुप्पोमा पुग्न कठिन मात्रै होइन नामुमकिन नै छ ।जडो समातेर पनि सहजताका साथ पुग्न सकिदैन् । अलिकति पनि कमजोरी भयो भने पछार्न बेर लाग्दैन् । जसरी जहाजको एउटा सानो प्वाल नै ज्यान जानेसम्मको स्थिती सिर्जना गर्न सक्छ । त्यस्तै नै यसमा पनि हुन्छ । यसको लागि सिप, धैयर्ता, साहस र गर्न सक्ने आँट भने हुनैपर्छ । यो कुरा हरेक क्षेत्रमा लागु हुन्छ । मधेशमा पनि महिलालाई कुशल गृहिणीबाट ‘नेताइन’ बन्न दशकौं लागेको छ र अहिले पनि यो क्रम जारी रहेको छ । अपेक्षित सफलता हात नलागेपनि केही महिलाहरु गृहिणीबाट ‘नेताइन’ कहलिन शुरु भइसकेका छन् । ‘नेताइन’ बनाउन भने महिलाहरुको चेतनास्तर, व्यक्तिगत तथा सामुहिक क्षमता विस्तारको लागि थुप्रै संघसंस्थाहरुले दशकौंसम्म गरेको र गरिरहेको मेहनतको प्रतिफल हो । यो क्रममा भने केहीले गलत फाइदा उठाएर आफै नेता वा ‘नेताइन’ भएपनि समग्रमा भने थुपै्र हातहरुको सहयोग यसमा रहेको छ । 
अरु संघसंस्थाहरु झै ८ वर्ष अगाडी महोत्तरीमा आएका गरिबी निवारण कोषले पनि यी कार्यक्रमबाट विभिन्न गाउँ विकास समितिमा विभिन्न कार्यक्रमहरुका साथसाथै ‘नेताइन’ उत्पत्ति गर्ने काममा लागेका हुन् । आत्मनिर्भर र सीप नभएसम्म अहिले महिलाहरु ‘नेताइन’ बन्न नसक्ने तथ्यलाई आत्मसात गर्दै कोषले यस सम्बन्धमा विविध कार्यक्रमहरु आयोजना गर्दै आएको छ । आत्मविश्वासले पछाडी पारिएका तथा परेका, अन्धविश्वासले जकडिएका, पुरुषवादी मानसिकताले गाँजेको समाजमा पिल्सिएका महिलाहरुलाई उचित सम्बोधन कोषले गरेको देख्न सकिन्छ । कोषले महोत्तरीमा विभिन्न ९ वटा संस्थासंगको साझेदारीमा थालेको कार्यक्रमले भने अपेक्षित सफलता पाएको देख्न सकिन्छ । समाजका गरीब र सिमान्तकृत समुदायको आवश्यकतालाई सम्बोधन गर्न पूर्वाधारको निर्माण तथा आयवृद्धिका विविध क्षेत्रमा लगानी गरी समुदायलाई अगाडी बढाउन कोषले कार्य गरिरहेको छ । महोत्तरीमा महिला सचेतना समूह, जिल्ला विकास समिति, सिडिपी, आरसिडीएससी, जुप, आईआरडिएफ, डब्लुई, सोडेप र रतौली युवा क्लवसंग कोषले सहकार्य गरी ४५ वटा गाविसमा कार्यक्रम गरिरहेको छ । विशेष गरी आयआर्जन र भौतिक पूर्वाधार निर्माणको लागि कोषका कार्यक्रम लक्षित रहँदै आएको छ । आयआर्जन तर्फ पशुपालन, कृषि, लघुउद्यम, साना व्यवसाय, व्यापार तथा क्षमता विकास र सेवाक्षेत्र जस्ता क्षेत्रहरु रहेका छन् भने भौतिक पूर्वाधार निर्माण तर्फ सडक विस्ता, कल्भर्ट एवम् पुल निर्माण, विभिन्न बाजारहरुमा सेड निर्माण जस्ता कार्यहरु कोषको सहयोगमा यी ९ वटा संस्थाहरुले महोत्तरीमा गर्दै आएको छ । महोत्तरीमा कोषले २१ करोड भन्दा बढीको लगानी गरिसकेको अवस्था रहेको देखिएको छ । जिल्लामा कोषका कार्यक्रमबाट समेटिएका कुल १६ हजार ५ सय ९ घरधुरी मध्ये अति गरिबको संख्या १२ हजार ९ सय ९० अर्थात ७८.६८ प्रतिशत रहेको कोषले केही समय अगाडी प्रकाशन गरेको एक पुस्तकमा उल्लेख छ । लैङ्गिक दृष्टिकोणले १४.५३ प्रतिशत पुरुष र ८५.४७ प्रतिशत महिला रहेका छन् । महिला सशक्तिकरण र परिचालनलाई विशेष जोड दिइएको यस कार्यक्रमले सबैभन्दा बढी दलित महिला, समुदाय यस कार्यक्रमले लाभान्वित भएको देख्न सकिन्छ । कार्यक्रमबाट ६ हजार ३ सय ३५ घरघुरी दलित, ५ हजार ३ सय ८५ घरधुरी जनजाति र ४ हजार ७ सय ८८ घरधुरी अन्य जाति लाभान्वित भएको कोषको पुस्तकमा उल्लेख छ । कोषसंग सहकार्य गरेका महोत्तरीका संघसंस्थाहरुले आयआर्जनका कार्यक्रम छनोट गर्दा स्थानीय स्रोत, साधनको सम्भाव्यता, उचित प्रविधि, क्षमता र बजारको बारेमा विचार गरेर लगानी दिने गरेको छ । आयआर्जनमा दिगोपनाको लागि सो सम्बन्धी तालिम र उचित ज्ञान समेत प्रदान गदैैै आएको छ । समुदायले आफैले गरेको निर्णयलाई उचित मार्गदर्शन दिई सोही अनुसार लगानी ति संघसंस्थाहरुले गरिबी निवारणको क्षेत्रमा गर्दै आएको हो । कोषको कार्यक्रमले नै अहिले महिलाहरुमा एक अर्काको प्रति सम्मान बढेको छ, नेतृत्व गर्ने क्षमताको विकास भई ‘नेताइन’ बन्न थालेका छन् भने उनीहरुको जीवनमा सुधारोत्मक अवसरहरु आएका छन् । पहिला पहिला घरबाहिर निस्कन पनि लाज लाग्ने, परपुरुषसंग बोल्न पनि हिचकिचाउने महिलाहरु सामूहिक मञ्चमा पनि ‘नेताइन’ बन्दै बोलेको देख्न सकिन्छ । यसले पनि एक दशक अगाडीको महिला र अहिलेको महिलालाई तुलना गर्दा पनि सफलतालाई आत्मसात गरेको भन्न सकिन्छ ।
समय परिवर्तनशील छ । हिजो जे थियो, जस्तो थियो आजको अवस्थामा त्यस्तो हुनैपर्छ भन्ने जरुरी छैन् । यदि त्यस्तै छ भने त्यसमा परिवर्तन आएको भन्न सकिन्न् । तर समय परिवर्तनशील भएकोले नै होला परिवर्तन भएकै छ । तर आज जे छ त्यसलाई भोली कसरी राम्रो बनाउन सकिन्छ त्यसको बारेमा भने आजैदेखि गर्नुपर्छ । किनकी, परिवर्तन रातारात हुदैन्, न त फिल्मा देखाए झै तुरुन्त जादुको छडीले गर्न सकिन्छ । समाजमा आफ्ना अधिकारको बारेमा वुझन थालेका, बोल्न थालेका तथा आ–आफ्ना क्षेत्रमा ‘नेताइन’ बनेर अगाडी अएका महिलाहरुलाई कसरी स्थायी राख्न सकिएला यसमा भने कोषलगायत यसका साक्षेदारहरुले सोच्नैपर्छ । उपयोगमा नआएपछि जसरी फलाममा खिया लागेर त्यो काम नलाग्ने अवस्थामा पुग्छ त्यस्तो नहोस् बरु आगोमा तताएर भएपनि सुनझै चम्काउन लाग्नुपर्छ । पोखरीमा एउटा ढुङ्गा हान्दा जसरी लहर चल्छ, कोषको कार्यक्रमले पनि विपन्न, गरिब र सिमान्तकृत समुदायमा लहर चलेको छ र त्यो लहरलाई जिवित राख्न सक्नुपर्छ । गरिब, गरिबी र सिमान्तकृतको नाउँमा कतिपयले आफनो गरिब र गरिबी मिटाई सकेका छन् । लक्षित समुदायलाई लाभ नपुगेको होइन तर जति पुग्नपथ्र्यो त्यत्ति नपुगेको सत्य हो । जे भएपनि उनीहरु अब ‘नेताइन’ बन्न थालेका छन् र पछि उनीहरु आफनाबारेमा आफै नै अगाडी आउने निश्चित छ । तर पनि जो छ यो भन्दा अझ राम्रो गर्नुपर्ने आवश्यकता छ र यसको लागि आयआर्जन तर्फ पकेट क्षेत्र घोषणा, ऋण सहयोगमा बढोत्तरी, उचित तालिम तथा ज्ञानको प्रबन्ध, बजारीकरण, पशुविमा, विभिन्न संघसंस्थाहरुसंगको सहकार्य, अझ चेतनामूलक कामकारवाहीबारे जानकारी दिन पनि त्यत्तिकै अनिवार्य छ । कोषले साक्षेदार संघसंस्थाको कामकारवाहीलाई सुक्ष्मरुपले बेलाबेलामा अनुगमन मार्फत केलाउनुपर्छ र यसको उचित प्रबन्ध पनि गर्नुपर्छ । अहिलेको अवस्थामा संघसंस्थाहरु फाइदाकै लागि काम गर्ने परिपाटीदेखिएको तथा कणिका छरेसरी देखाउनकै लागि काम गरिरहेको अवस्थामा कोषको भूमिका अझ बढने देखिन्छ । कोषले यसक्षेत्रमा काम गरि आयआर्जन र भौतिक निर्माणको क्षेत्रलाई अझ बढोत्तरीका गर्नुका साथै अरु गाउँहरुलाई पनि यस पुनित कार्यमा समेटनु जरुरी छ ।

(गरिबी निवारण कोष पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएका कर्ण महोत्तरीबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकका प्रकाशक÷ सम्पादक हुुनुहुन्छ) 
(गरीबी निवारण कोष महोत्तरीद्वारा प्रकाशित गरीबी विरुद्वको अभियान पुस्तकमा प्रकाशित)