मधेशका नायक मेरा साथी
-
, काठमाडौं
महन्थ ठाकुर राजनीतिमा छन्, म पत्रकारितामा । हामी दुवैबीच पेशागत सम्बन्ध छ । नेपालमा राजनीति र पत्रकारिता अन्योन्याश्रित छ ।
आश्विन
१६, २०७२- हो, उनको नाम महन्थ ठाकुर हो । मधेश आन्दोलनका सबैभन्दा
विवेकशील र राजनीतिक साख भएका नेता । धुरन्धर राजनीतिज्ञ । यसैकारण उनी
मधेशी मोर्चाका संयोजक छन् । मेरा घनिष्ठ साथी हुन्, मेरा नायक ।उनको र मेरो मित्रताको चार दशक बितिसकेको छ । चार दशकअघि जनकपुरको ब्रह्मपुरीमा सहिद सरोजप्रसाद कोइरालाको घरमा पहिलोपटक हाम्रो भेट भएको थियो । उनी रामस्वरूप रामसागर कलेजका प्रतिभाशाली विद्यार्थी थिए । नेपाली, मैथिली, हिन्दी र अंग्रेजी चार भाषामा राम्रो कमान्ड थियो उनको । व्यक्तित्व खाइलाग्दो थियो । उनको शरीरका नसामा बगेको तातो रगतले युवापुस्तालाई उन्मादमा ल्याउँथ्यो परिवर्तनका लागि ।
लोकतन्त्रप्रतिको निष्ठाले हामीलाई एकअर्काप्रति आकर्षित गराएको थियो । त्यतिबेला म पत्रकार कम र विद्रोही बढी थिएँ । उनी राजनीतिमा थिए । उनी क्रान्तिकारी थिए । मैले दिल्लीबाट प्रकाशित हुने ‘दि टाइम्स अफ इन्डिया’ को हिन्दी भाषाको साप्ताहिक प्रकाशन ‘दिनमान’ मा लेख्न शुरु गरिसकेको थिएँ । त्यतिखेरको लोकतान्त्रिक आन्दोलनको सक्रियतालाई नेपालको तराई मधेशले धानेको थियो । समय अहिलेकै जस्तो थियो । लोकतन्त्रको व्याख्या गर्ने कोही थिएन । सरोज कोइरालाका दृष्टान्तहरू र बीपी कोइरालाले बेला बेलामा प्रवाहित गर्नुभएका विचारहरू नै हाम्रो दर्शन र विचारको व्याख्या थियो । पहाडमा आन्दोलनको गतिशीलता कम थियो । सञ्चार र सडकको अभावमा आन्दोलनको सन्देश र समाचार पहाडसम्म पुर्याउने कुनै साधन थिएनन । मधेश–तराईमा गुन्जिएको लोकतन्त्रको नारा पहाडमा ढिलो प्रतिध्वनित हुन्थ्यो । तै पनि, मधेश जाग्दा पहाड जुर्मुराउँथ्यो ।
महन्थको र मेरो भूमिका अहिले पनि बदलिएको छैन । महन्थ राजनीतिमा छन्, म पत्रकारितामा । हामी दुवैबीच पेशागत सम्बन्ध छ । नेपालमा राजनीति र पत्रकारिता अन्योन्याश्रित छ । तर, न उनको राजनीतिलाई पत्रकारिता चाहिएको छ, न मलाई उनको राजनीतिसँग विमति वा सहमति जनाउनु नै छ । उनलाई जनता भए पुग्छ । मलाई पाठक चाहिन्छ । यस्तो कुनै भ्रम मभित्र छैन कि महन्थका सर्वसाधारण जनता र मेरा पाठकका बीच निकै ठूलो भिन्नता छ । राजनीतिको उनको संसार मेरो संसारभन्दा धेरै व्यापक छ । तैपनि, हामी मित्र हौं । यसले हाम्रो मित्रतामा कुनै प्रभाव पार्न सकेको छैन । पेशाको हिसाबले, सैद्धान्तिक हिसाबले हामी परस्परमा निर्भर छौं र पनि आत्म–निर्भर छौं । उनी विवेकको जुन भाषा बोल्दछन् त्यही भाषा बोल्ने प्रयत्नमा म छु ।
मलाई थाहा छ, नयाँ संविधानका निर्माताहरूले देशभित्रको मधेश, तराई, खोंच र उपत्यकामा बस्ने नेपाली मान्छेको अन्तरात्माको आवाज नसुनेकोमा महन्थ यतिबेला दु:खी र कुपित छन् । उनी बितेका झण्डै दुई महिनादेखि आन्दोलनमा छन् भन्नु गलत हुनेछ । यस्तो लाग्छ उनी आन्दोलनकै लागि जन्मिएका मानिस हुन् । उनले व्यक्तिगत हिसाबले थुप्रै अवसादका क्षणहरू भोगेका छन् । नियतिको ठूला मार खेपेका छन् । तर, त्यो व्यक्तिगत विपद्ले उनलाई छुन सकेको छैन । उनी आफ्नो लक्ष्यमा एकाग्र छन् र राजनीतिका एकलव्य बनेका छन् उनी ।
देशको अवस्था बिग्रिँदै गएको छ । तर, जनताका नेता हौं भन्नेहरू जनताका मागलाई सम्बोधन गर्न हिचकिचाइरहेका छन् । राजनीतिमा लागेका कसैमा पनि संवेदनशील भावना छैन । यस्तोमा मधेशका मानिसको दु:खेको मन महन्थको मनसँग ठोकिन पुगेको छ । देशको एउटा ठूलो हिस्सालाई बाहिर राखिएको छ संविधान बनाउँदा । असन्तोष त्यसैमा छ । संविधान निर्माताहरूको यही एउटा कृत्यका कारण देशभित्र विखण्डनवादी र साम्प्रदायिक भावनाले प्रोत्साहन पाइरहेको छ । भारतसँग जोडिएका सीमानाका नाकाहरू बन्द छन् ।
भर्खरै भुइँचालोको विस्फोटबाट पीडित र आक्रान्त सामान्य नेपालीले बुझ्नै सकेका छैनन्, विपत्तिका बेला सहयोगका हात बढाउने छिमेकीको व्यवहार अनायाश किन बदलिएको छ ? राजनीतिका सूक्ष्म तन्तुहरूमा कतिबेला के परिवर्तन हुन्छ ? त्यो सामान्य जनताले थाहा पाउँदैनन् । नेपाल र भारतका सामान्य जनताले पनि यो बुझ्न सकेका छैनन् प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार किन सत्ताईस वर्षअघि प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीले जगाएको नाकाबन्दीको भूत अहिले दोहोर्याएर जगाइरहेका छन् ?
गत आइतबार (सेप्टेम्बर २७) का दिन मैले महन्थलाई उनको पार्टी कार्यालयको कार्यकक्षबाहिरको भेटघाट कक्षमा भेट्दा उनी थाकेका देखिन्थे । सरकारका सदस्यहरू र प्रतिनिधिहरूसँग बिहानैदेखिको अनुत्पादक मिटिङले उनलाई थकाएको थियो । सरकार सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको राष्ट्रवादको प्रभावमा अल्मलिएको छ । हुन्न केही नभन्ने र हुने वातावरणको निर्माण गर्न नसक्नेहरूको बोलवाला छ देशमा । मधेशीलाई अधिकार दिनु हुँदैन भन्ने मान्यता राख्नेहरूको संख्या ठूलो छ । उनीहरूको हातमा हतियार र देशको ढुकुटीको साँचो छ । संविधानमा लेख्दैमा सामान्य जनता देशको सार्वभौम शक्तिको मालिक हुँदैनन् । महन्थ थाकेका होइनन्, थकाइएका हुन् भन्ने बुझ्न कठिन थिएन ।
चुरो कुरा बोलेपछि चुप लाग्ने बानी छ उनको । उनले मसँग भने, ‘यार, तिमी पछाडि फर्केर हेर त । लोकतन्त्रको लडाइँमा होमिंदा हामी भर्खर यौवन अवस्थामा प्रवेश गरेका थियौं । त्यतिबेला लोकतन्त्रको कल्पनाभन्दा ठूलो कुरा हामीसँग केही थिएन । हामीले एउटा सपनाका लागि तीस वर्ष लगातार लड्यौं । अहिले पनि लड्दैछु म । तर, अहिले जुन प्रकारको घुटन म अनुभव गर्दैछु, त्यस्तो घुटनको अनुभव यसअघि कहिल्यै गर्नुपरेको थिएन ।’
देश नाकाबन्दीको चपेटमा छ र मधेशी मोर्चासँग सत्तापक्षको औपचारिक वार्ता शुरु भएको छ । वार्ता भएको यो पहिलोपटक होइन । कपिलवस्तुमा भए पनि, कुनौलीमा भए पनि वार्ताका लागि महन्थ सरकारमा रहेका साथीहरूले बोलाउनेबित्तिकै काठमाडौं झरेका छन् । तर, कहिल्यै फलदायी भएको छैन वार्ता । सत्ताको नेतृत्वमा रहेको कांग्रेसका सबैलाई उनी चिन्दछन् । तिनको क्षमताका बारे पनि उनी अनविज्ञ छैनन् । व्यक्तिगत हिसाबले सबैसँग उनको सम्बन्ध सदभावपूर्ण छ । तैपनि, महन्थलाई आश्चर्य लागेको छ, समयले देशमा सम्पूर्ण परिवर्तनको आग्रह गरिरहेका बेला कांग्रेस किन निर्णयहीन बन्दैछ ? के यति नै निरीह छ त कांग्रेस ?
महन्थले नाकाबन्दी पनि बुझेका छन् र आन्दोलनका विभिन्न आयामहरू पनि केलाएका छन् । आन्दोलनमा सम्यक् विचारहरूको मात्रै सक्रियता छैन । मधेशी मोर्चाको संयोजकका रूपमा उनको भूमिका जटिल हुँदै गएको छ । मधेशको आन्दोलन कचल्टिनेभन्दा पनि बहकिने आशंका बढ्न थालेको छ । यताबाट मधेशका मागहरूका विरुद्ध पर्चाबाजी र उताबाट विभेदकारी संविधानका विरुद्ध नाराबाजी । दुवैतिरका नेपालीले नेपालीकै विरुद्ध नारा लगाएपछि किनारा फराकिनु अस्वाभाविक होइन । यो स्वाभाविक अवस्थाले अन्धकार जन्माउँछ । त्यो अन्धकारमा विभाजन र विखण्डनले राम्ररी खेल्ने मौका पाउँछ ।
महन्थ भन्छन्– मलाई पनि थाहा छ, सामाजिक विकासको गति सुस्त हुन्छ । त्यो रातारात हुने कुरा होइन । तर, कसैले न कसैले काम त शुरु गर्नुपर्यो । मधेश आन्दोलनका क्रममा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन गरे समस्या समाधानको क्रम शुरु भैहाल्छ । त्यसमा पनि हामी लचिला भएका छौं । हेर्नुहोस्, संसदीय प्रजातन्त्रको पुनस्र्थापनापछिको पहिलो निर्वाचित सरकारले पहिलो तीन वर्ष निकै काम गर्यो । त्यसैको परिणाम हो, अहिले केही न केही विकास देखिएको छ । त्यसपछि देशमा अस्थिरता शुरु भयो । ठूला परिवर्तन भए । तैपनि, नेतृत्वमा चेत आएन । अहिले नेताहरूमा हामीले संविधान बनाएर ठूलै काम गर्यौं भन्ने परेको छ । तर, उनीहरूको मनोबल राजाले आफ्नो हातमा शासन लिँदा जसरी गिरेको थियो त्यसरी नै गिरेको छ । नेताहरूले यसको जवाफ आफैंसँग खोज्नुपर्दछ ।
प्रकाशित: आश्विन १६, २०७२