राहत संकलन र वितरण कार्य जारी

राहत संकलन र वितरण कार्य जारी

महोत्तरी समाचारदाता
जलेश्वर, असोज १९ गते । महोत्तरीमा करिब दुई महिना लामो बन्दले गर्दा दैनिक काम गरेर गुजारा गर्नेहरु प्रभावित बन्दै गएपछि जलेश्वरका युवाहरुले आइतबारदेखि शुरु गरेको राहत संकलन र वितरण गर्ने कार्य जारी राखेको छ ।     जलेश्वरका युवाहरुले पहिलो दिन आईतबार २ सय ५० जना परिवारलाई चामल, दाल, आलु र खाने नुन वितरण गरेका थिए भने दोस्रो दिन ५ सय ५३ जना परिवारलाई तथा मंगलबार साढे पाँच सय परिवारलाई चामल, दाल, आलु, सोयाबिन वितरण गरिएको राहत संकलन तथा वितरण केन्द्रका संयोजक शिवचन्द्र चौधरीले जानकारी दिनुभयो ।



यस राहत वितरणमा विभिन्न गाउँ विकास समिति, जलेश्वरका स्थानीय वासिन्दा, मधेसी रिलिफ फन्ड तथा विभिन्न गाउँ विकास समितिबाट प्राप्त भइरहेको वितरण समितिका सदस्य पप्पु साहले बताउनुभयो ।
साहले मधेशी रिलिफ फन्ड जनकपुरले १६ हजार, महोत्तरी गाविसबाट ३–४ क्वीन्टल चामल, दाल, आलु, नगद ६हजार ५सय, महोत्तरी गाविस अनैठाबाट चामल ८० केजी, दाल ७ केजी, आलु १० केजी, नगद ६ हजार ५ सय प्राप्त भएको वताउनुभयो ।
त्यसैगरी भ्रमरपुरा गाविसबाट चामल २ सय ६७ केजी, चुरा २५ केजी, सोयाबिन १० केजी, चाउचाउ २ पैकेट, बिस्कुट २ पैकेट, सुगा गाविस वडा नं. ७ बाट चामल २५ केजी, दाल ५ केजी, सब्जी १० केजी, आलु २ बोरा, मझौरा बिसनपुर गाविसबाट चामल ७५० केजी, आलु ५० केजी, दाल ५० केजी, नगद ७ हजार ३१ रुपैया, नुन १०० केजी, तेल २ लीटर, राम एकवाल साह ५० केजी चावल, सनुखरा गाविस ९ क्वीन्टल चामल सहयोग वाप्त दिनुभएको संयोजक चौधरीले बताउनुभयो ।
त्यस्तै जलेश्वरका स्थानीय वासिन्दाहरु गजेन्द्र गुप्ता, हनुमान प्रसाद साह, पर्शुराम साह, केदार ठाकुर, सिजय चौधरी, राजदेव साह, जालिम सिंह, रामबहादुर साह सुडी, सर्युग साह, सिताशरण मिश्र, स्व देवशरण महतो, शिवशंकर साह लगायतकाबाट १८ हजार ८ सय ७० रुपैया नगद संकलन भएको बताइएको छ ।
हरेक परिवारलाई अढाई किलो आलु, आधा किलो दाल, एककिलो आलु र खानेनुन, सोयाविन वितरण गरिएको राहत संकलन तथा राहत अभियानका संयोजक चौधरीले जानकारी दिनुभयो ।
जलेश्वर लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु तथा गाविसहरुबाट आएको सहयोगले दैनिक गुजारा चलाउन कठिनाई भएका गरिब परिवार, रिक्सा, ठेला, टाङ्गा चलाउने परिवारलाई राहत मिलेको छ । राहतको क्रममा महिला र पुरुषहरुको ठुलै भिड देखिने गर्छ ।
आफूहरुले संकलन गरिएका राहतहरु गरिब परिवार, दैनिक काम गरी घर चलाउने परिवार, आन्दोलनमा शहादत दिएका तथा घाइते भएका परिवार तथा नाकामा बसेर आन्दोलन गरिरहेका आन्दोलनकारीहरुलाई वितरण गर्ने संयोजक चौधरीको कथन छ ।
उहाँले यसैक्रममा असोज १४ गते मानव साँगलो कार्यक्रममा सहभागी भई मृत्यु भएका सहसरामका उमेश कापरका परिवारलाई पनि एक क्विन्टल चामल राहतस्वरुप दिइएको वताउनुभयो ।
महोत्तरीमा ५३ दिनदेखीको बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । पसल, यातायात, सामुदायिक विद्यालय, सरकारी कार्यालयहरु, वित्तिय संस्थाहरु पूर्णतः बन्द छ । लामो समयको बन्दले दैनिक काम गरेर गुजारा गर्नेहरु सबैभन्दा बढी मारमा परेका देखिएका छन् ।