नागेन्द्रकुमार कर्ण
महोत्तरी, असोज ३ गते । जेनजी आन्दोलनको क्रममा महोत्तरी जिल्लाको १० नगरपालिका र ५ गाउँपालिका गरि १५ वटै स्थानीय तहमा आन्दोलन देखिएपनि सबभन्दा बढी क्षति भने चार पालिकामा मात्रै देखिएको छ । जसमा दुईवटा नगरपालिका र दुई गाउँपालिका रहेको छ ।
प्रारम्भिक चरणमा प्राप्त सुचना र जानकारी अनुसार जिल्लाको बर्दिबास तथा मटिहानी नगरपालिका तथा पिपरा र सोनमा गाउँपालिकामा बढी आन्दोलनको क्रममा क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिनुभयो । उहाँले दिनुभएको जानकारी अनुसार जेनजी आन्दोलनको क्रममा महोत्तरी जिल्लामा तिनवटा मोटरसाइकल, एक वटा स्कारपियो, दुई वटा टयाक्टर, एकवटा सिटी रिक्सा तथा एक वटा जेसीवीमा क्षति पुगेको छ ।
आन्दोलनको क्रममा पिपरा गाउँपालिको कार्यालयमा तोडफोड र आगजनी हुदाँ मोटरसाइकल दुई थान, सिटी रिक्सा एक थान, टयाक्टर दुई थान पुर्ण रुपमा जलेको छ भने कार्यालय परिसरमा रहेको जेसिवीको सिसा तोडफोड गरिएको छ । सो क्रममा आन्दोलनकारीहरुले कार्यालय प्रमुख तथा पालिका अध्यक्ष वस्ने कोठामा आगजनी गर्दा एसी ११ थान पूर्ण रुपमा तोडफोड भएको छ भने सो पालिकाको वडानं. ३ र ४ को वडाकार्यालयमा तोडफोड गरिएको छ । पिपराको वडानं. १ को वडा कार्यालयमा कुर्सी एक थान, स्टेन फेन एक थान, प्लाष्टिकको कुर्सी तिन थान, सोफा सेट दुई थान बाहिर निकाली तोडफोड र आगजनी गरिएको छ ।
त्यसैगरी जिल्लाको बर्दिबास नगरपालिका वडानं. १४ मा रहेको मालपोत कार्यालय, इलाका प्रशासन कार्यालय तथा बर्दिबास नगरपालिका वडानं. ३ मा रहेको अख्तियार कार्यालयको भवन तोडफोड गरी क्षति पु¥याइएको छ । त्यस्तै बर्दिबास वडानं. १ मा रहेको यातायात व्यवस्था कार्यालयमा समेत ढुङ्गामुढा गरि तोडफोड गरिएको छ ।
त्यस्तै जिल्लाको मटिहानी नगरपालिकाको वडानं. ३ को वडाकार्यालयमा मानिसहरु प्रवेश गरी कम्प्युटर दुई थान, पंखा तिन थान, कुलर एक थान, सोफा चार थान, दराज चार थान, झयाल सात थान, मेनगेट एक थान तोडफोड गर्नुका साथसाथै कार्यालयको कागजातहरु बाहिर निकालेर च्यातिदिएका थिए ।
त्यसैगरी मटिहानी नगरपालिकाको वडानं. २ को वडाकार्यालयमा कम्प्युटर एक थान, सोफा पाँच थान, एसी दुई थान, स्टिल दराज दुई थान, झयाल चार थान तोडफोड गर्नुका साथै कागजातहरुमा आगजनी गरेको हो ।
जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीहरुले मटिहानी नगरपालिका वडानं. ४ को वरण्डामा रहेको सेफा र काठको कुर्सी बाहिर निकालेर तोडफोड र आगजनी गरेको हो ।
जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीहरुले सोनमा गाउँपालिका वडानं. १ मारहेको गाउँपालिकाको कार्यालयमा कुर्सी, सोफासेट बाहिर निकालेर आगजनी गर्नुका साथै कार्यालय परिसरमा लगाइएको प्रदेश २–०२–००१ ब ११२ नम्बरको मोटरसाइकल तोडफोड समेत गरेको छ ।
जलेश्वर नगरपालिकाको वडानं २ मा रहेको ट्राफिक कार्यालयमा समेत आगजनी गरिएको थियो । जसमा कुर्सी, पंखासहित कागजात जलेको हो । अहिले विवरणहरु संकलन भइरहेकोले क्षतिको विवरण बढन सक्ने सुचना अधिकारी भट्टले बताउनुभयो ।
आन्दोलनको क्रममा आन्दोलनकारीहरुले बर्दिबासमा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीको पावन मिथिला होटलमा आगजनी गर्नुका साथसाथै मधेश प्रदेशका मन्त्री तथा एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादवको घरमा समेत आगजनी गरेका थिए ।
नोट ः माथि दिइएको तथ्याँकहरु गोरखापत्रबाट लिइएको छ ।
No comments:
Post a Comment