नागेन्द्रकुमार कर्ण/महेश कुमार दास
महोत्तरी, भदौ २४ गते । महोत्तरी जिल्लामा मङ्गलबार साँझबाट स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।
जेनजी आन्दोलनकारीहरुको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जिल्लामा मङ्गलबार साँझ ६ः४० देखि वुधवार बिहान ८ बजेसम्मको लागि कफ्युको आदेश जारी गर्नुभएको हो । आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम यस जिल्ला भरका क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रर्दशन, सभा, समुह बनाई हिडन्, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्र्युको आदेश जारी गरिएको उल्लेख छ ।
जिल्ला कारागार महोत्तरीमा जेनजी आन्दोलनकारीहरुले मुख्यगेटबाटै प्रवेश गरेर कैदी वन्दी भगाउनुका साथसाथै बर्दिबासमा शरतसिंह भण्डारीको घर तथा होटल पावन मिथिलामा समेत आगजनी गरेको छ । जेनजीको आन्दोलनकारीहरु मङ्गलबार विहानैदेखि जिल्लाको विभिन्न ठाउँहरुमा आन्दोलन गर्दै आएका थिए । साँझ बजार बन्द गर्दै जिल्ला कारागार पुगेका युवाहरुको भिडलाई देखेर कारागार सुरक्षाार्थ खटिएका सुरक्षाकर्मीहरु साइड लागेका थिए ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जिल्ला कारागार जलेश्वरमा रहेको ५५० कैदी वन्दी मध्ये एकजना बाहेक सबै भागेको जानकारी दिनुभयो । उहाँले बल प्रयोगको अवस्था नरहेको कारणले सुरक्षाकर्मी साइड लागेपछि आन्दोलनकारीहरुले कारागारका मूलगेटको ताल्चा खोलिदिएपछि वन्दीहरु भागेका थिए । बल प्रयोग गरेको भए धेरै हताहत हुन्थ्यो त्यही भएर बल प्रयोग गरिएन प्रमुख जिल्ला अधिकारी रिसालले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार मन्त्रीको घरमा आगजनी, अख्तियारको कार्यालयमा पनि प्रयास
महोत्तरी जिल्लाको बर्दिबासमा रहेको मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवको घरमा आन्दोलनकारीहरुले आगो लगाइ दिएका छन् ।
मङ्गलवार बिहानैदेखि जेनजी पुस्ताका युवाहरु बर्दिबासमा आन्दोलन गर्दै आएका छन् । सोमबार राजधानी काठमाण्डौंसहित देशको विभिन्न ठाउँमा जेनजी आन्दोलनकारीमाथि भएको वर्वरतापूर्ण आन्दोलनको विरोध गर्दै बर्दिबासका युवाहरुले बर्दिबास नगरपालिका वडानं. ३ मा रहेको भौतिक पूर्वाधार मन्त्री यादवको घरमा आगजनी गरेको हो । नेकपा एमाले संसदीय दलका नेता समेत रहनुभएका यादवको घरमा आगलागीको कारणले घरमा क्षति पुगेको जनाइएको छ ।
आन्दोलनकारीहरुले बर्दिबासमै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा समेत ढुँगामुढा गर्दै आगजनीको प्रयास गरेको हो ।
यसैबीच जिल्लाको सदरमुकाम जलेश्वरमा मङ्गलबार विहानैदेखि जारी रहेको आन्दोलन अझै जारी रहेको छ । अहिले आन्दोलनकारीहरुले सदरमुकाम जलेश्वरमा प्रर्दशन गर्दै बजार बन्द गराएको छ ।
महोत्तरीमा युवाहरुको प्रर्दशन, जलेश्वर जनकपुर सडक बन्द, जलेश्वर बर्दिबास तथा राजमार्गमा समेत अवरोध
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित विभिन्न बजारहरुमा मङ्गलबार बिहानैदेखि जेनजीको समर्थनमा प्रर्दशनहरु भइरहेको छ । प्रर्दशनकारीहरुले जलेश्वर जनकपुर सडकखण्ड, जलेश्वर बर्दिबास सडकखण्ड तथा पूर्वपश्चिम राजमार्गलाई समेत बर्दिबासमा अवरुद्ध पारेका थिए ।
सोमबार काठमाण्डौंदेखि देशको विभिन्न ठाउँहरुमा जेनजीहरुको प्रर्दशनमा १९ जनाको मृत्यु भएको आक्रोशमा युवाहरु बिहानैदेखि महोत्तरीको जलेश्वर, पिपरा, बर्दिबास, गौशाला, औरहीसहितका विभिन्न ठाउँहरुमा सडक अवरुद्ध तथा सडकमा टायर बालेर विभिन्न ठाउँहरुमा प्रर्दशन गरेका थिए ।
युवाहरुले जलेश्वर जनकपुर सडकखण्डको अलिपट्टी पर्सामा तथा जलेश्वर बर्दिबास सडकखण्डको औरहीमा सडक अवरुद्ध गरेका थिए । अलिपट्टी पर्सामा स्थानीयबासीहरुले सडकमै बाँसहरु राखेर र टायरहरु बालेर प्रर्दशन गदै सडक अवरुद्ध गरेका थिए ।
सडकमै टायर बालेर तथा मुढाहरु राखेर सडक बन्द गराएपछि जलेश्वर जनकपुर तथा जलेश्वर बर्दिबास जाने यात्रुहरु अलपत्र परेका थिए । कार्यालय जाने कर्मचारीहरु समेत वैकल्पिक बाटो प्रयोग गर्न वाध्य भए ।
जलेश्वरका युवाहरुले नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरी अगाडी समेत धर्ना दिएर प्रर्दशन गरेका छन् ।
जेनजी युवाहरु भेला भएर बिद्यार्थी मार्न पाइँदैन, भ्रष्टाचार अन्त्य गर, प्रधानमन्त्री राजिनामा देउ, प्रशासन पछाडी हटजस्ता विभिन्न नाराहरु समेत लगाइरहेको छ । बर्दिबासमा विद्यार्थीहरु स्कुल डे«समै सडकमा उत्रिएका छन् भने जलेश्वर नगरपालिकाले आज अत्यावश्यकीय बाहेक सम्पूर्ण सेवा वन्द गर्ने निर्णय गरेको छ । यसक्षेत्रको विद्यालयहरु समेत आज वन्द छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा गरेपछि आन्दोलन केही मत्थर भएको देखिएपनि अहिले पनि चोक चोकमा युवाहरु भेला भएर आन्दोलन गरिरहेका छन् ।
No comments:
Post a Comment