महोत्तरी समाचारदाता
महोत्तरी, भदौ १७ गते । भारतीय महावाणिज्य दुतावास विरगञ्जका प्रमुख देवी सहायक मिनाले एउटा छोरी पढाउनुको अर्थ पुरै परिवारलाई शिक्षित बनाउने रहेकोले छोरीलाई शिक्षित बनाउन आग्रह गर्नुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको सबभन्दा पुरानो विद्यालय लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय (ल.च.मु.मा.वि) मा आयोजित एक कार्यक्रममा मन्तव्य राख्नुहुदै महावाणिज्य दुत मिनाले अभिभावकहरुले अनिवार्य रुपमा छोरीहरुलाई शिक्षा दिलाउन तथा छोरीलाई आफ्नो पुरै ध्यान शिक्षामा केन्द्रीत गर्न आग्रह समेत गर्नुभयो ।
नेपाल भारत मैत्री युवा संघले उडान कार्यक्रम अन्तर्गत एसईई परिक्षामा पास भएका छात्राहरुलाई साईकल वितरण गर्ने कार्यक्रममा प्रमुख अतिथीको रुपमा मन्तव्य राख्नुहुदै महावाणिज्य दुत मिनाले भन्नुभयो, ‘छात्राहरुलाई शिक्षा तर्फ जागरुकता ल्याउन र शिक्षा तर्फ प्रेरित गर्ने प्रयास स्वरुप साईकल वितरण गरिएको हो ।’
भारत सरकारले शिक्षा, स्वास्थ्य लगायतका विविध क्षेत्रमा नेपाल र नेपालीहरुलाई सहयोग गरिरहेको वताउनुुहुदै समाज र देशलाई परिवर्तन ल्याउन शिक्षा महत्वपूर्ण भएकोले छोरा र छोरीलाई एकसाथ शिक्षित बनाउन आग्रह गर्नुभयो । शिक्षाकै माध्यमबाट हामीले आफ्नो, घर, समाज, देशमा सकारात्मक परिवर्तन ल्याउन सक्नेमा जोड दिनुहुदै उहाँले भन्नुभयो, ‘यो कार्यक्रमले अन्य छात्राहरुलाई समेत शिक्षा अध्ययनको लागि प्रेरित गर्ने मद्दत गर्ने छ ।’
भारतीय दुतावास स्थानीय सरकार, संस्थान र प्रतिष्ठानहरुको साथमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग गरिरहेकोमा जोड दिनुहुदै उहाँले छात्राहरुलाई मन लगाएर अध्ययनमा लाग्न र पढेर समाज र देशको नाम चम्काउन आग्रह गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथीको रुपमा रहनुभएका जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले शिक्षाको क्षेत्रमा नगरपालिकाले समेत लगानी लगाइरहेको बताउनुहुदै छात्राहरुको अध्ययनमा निरन्तरताको लागि साईकल वितरणले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल भारत मैत्री युवा संघका केन्द्रीय महासचिव कृष्णा सिंहले जलेश्वर नगरपालिकाको विभिन्न विद्यालयमा गएर यसवर्ष एसईई परिक्षामा पास भएका छात्राहरुलाई साईकल वितरण गर्ने कार्यक्रम स्वरुप यसक्षेत्रकै पुरानो विद्यालय ल.च.मु.मा.वि.मा समेत साईकल वितरण गरिएको जानकारी दिनुुहुदै यो भन्दा अगाडी महेन्द्र महिला आदर्श मावि जलेश्वर तथा जनता परिक्षण मावि परिकौलीमा साइकल वितरण गरिसकिएको बताउनुभयो । महासचिव सिंहले भन्नुभयो,‘साईकल वितरण एउटा वहाना मात्रै हो, हाम्रो लक्ष्य भनेको यस भेगका छात्राहरुको अध्ययनमा समस्या भएँ, ति समस्याको पहिचान गरि सो को निराकरणको लागि पहल गर्ने हो ।’
सो विद्यालयमा एसईई परिक्षामा उत्तिर्ण भएका २० जना छात्राहरुलाई साईकल वितरण गरिएको थियो भने जानकी परिक्षण मावि परिकौलीमा आठ जना र महेन्द्र महिला आदर्श माध्यमिक विद्यालय जलेश्वरमा १२ छात्राहरुलाई साईकल वितरण गरिएको थियो ।
नेपाल भारत मैत्री युवा संघका जिल्ला अध्यक्ष जितेन्द्र कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा ल.च.मु.मा.वि.का प्रधानाध्यापक संजिव कुमार झा, संवाद फाउण्डेशनका अध्यक्ष कुमार भाष्कर, शिक्षक अवधेश ठाकुरसहित सञ्चारकर्मी, शिक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment