२३ भदौ, काठमाडौं । ट्रमा सेन्टरमा मृत्यु भएका ३ जना मृतकहरूको सनाखत भएको छ । अस्पताल स्रोतका अनुसार, अहिलेसम्म ट्रमा सेन्टरमा मात्रै ९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ३ जनाको नाम अनलाइनखबरले प्राप्त गरेको छ । मृत्यु हुनेहरूमा ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ र कीर्तिपुर बस्ने ४२ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छन् ।
अन्य ५ जनाको भने सनाखत हुन बाँकी भएको ट्रमा सेन्टरका एक चिकित्सले बताए । उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
जेनजी प्रदर्शन ः इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु
२३ भदौै, विराटनगर । सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध भएको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएका थिए । अस्पताल स्रोतका अनुसार गोली लागेर अन्दाजी २५ र ३० वर्षीय पुरूषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।
प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकालाइ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरान पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइतेको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको उनले बताए । मृत्युको पुष्टि भइनसकेको उनले बताए ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका थिए । आगजनीमा संलग्न भएको भन्दै प्रहरीले केही युवालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा लगेपछि प्रदर्शनकारीले ढंगामुढा गरेका थिए ।
१४ जनाको मृत्यु (घाइते धेरै भएकोले मृतकको संख्या बढन सक्ने)
काठमाडौँ — जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । घाइते धेरै भएकोले मृतकको संख्या बढन सक्ने देखिन्छ ।
ट्रमा सेन्टरमा ७, एभरेस्टमा ३, सिभिल अस्पतालमा २, त्रिवि शिक्षणमा १ र केएमसीमा १ जनाको मृत्यु भएको हो । विभिन्न अस्पतालमा २ सयभन्दा बढीको उपचार भइरहेको छ । सिभिलमा १००, ट्रमामा ५०, एभरेस्टमा २०, केएमसीमा ३५, वीरमा ७ र पाटन अस्पतालमा ४ जनाको उपचार भइरहेको छ ।
एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थाका छन् । ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले ट्रमामा १० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ ।
प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ’जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।
मानवअधिकारवादी संस्थाहरूले भने–’गृह र सञ्चारमन्त्रीले राजीनामा दिनुपर्छ’
काठमाडौँ — मानव अधिकारवादी संस्थाहरुले जेन–जीको प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध घातक बल प्रयोग भएको भन्दै घोर निन्दा व्यक्त गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दिन मानव अधिकारकर्मीहरुको सञ्जाल जवाफदेहिता निगरानी समितिले माग गरेको छ । घटनाको स्वतन्त्र छानविन र जेन–जीका माग तत्काल सम्बोधनका लागि जोडदार माग पनि गरिएको छ ।
समितिले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्धविरुद्ध जेन–जीको प्रदर्शनमा प्रहरीले अत्यधिक, अन्धाधुन्ध र असमानुपातिक घातक बल प्रयोग गरेका कारण दर्जनबढी प्रदर्शनकारीको मृत्यु भएको भनेको छ ।
सामाजिक, आर्थिक, मनोवैज्ञानिक, शैक्षिक लगायतका आयाममा युवा पुस्तामा पर्न सक्ने प्रतिकूल प्रभावप्रति पूर्णतः बेवास्ता गरी हठात् सामाजिक सञ्जाल बन्द गर्ने, त्यसको चौतर्फी विरोध हुँदासमेत पुनर्विचार गर्न तयार नहुने, उल्टो प्रधानमन्त्री तथा मन्त्रीका हठपूर्ण अभिव्यक्ति सार्वजनिक भइरहने कार्यका कारण घटना भएको निगरानीको ठहर छ ।
‘पूर्वघोषित आन्दोलन देशव्यापी रुपमा भड्कन सक्ने÷घुसपैठ हुन सक्ने आँकलन गरेर त्यसलाई व्यवस्थित र शान्तिपूर्ण बनाउनतर्फ पूर्वहोसियारी, तदारुकता र सावधानी अपनाउन सरकार पूर्णतः असफल भएको परिणामस्वरूप नै नितान्त दुःखद् र त्रासदीपूर्ण घटना घटन पुगेको हो,’ विज्ञप्तिमा भनिएको छ, ’अलोकतान्त्रिक, मानवअधिकार विरोधी हठ त्यागी जेनजी पुस्ताको जायज मागलाई तत्काल सम्बोधन गर्न, घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न, मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछौं । ’
बल प्रयोगका स्थापित मूल्यमान्यता मिचेर नागरिकको जिउज्यानमा भयानक क्षति पुग्ने गरी घटाइएको निन्दनीय घटनाको स्वतन्त्र छानबिन गरी त्यसका जिम्मेवारलाई कारबाहीको दायरामा ल्याउन पनि उनीहरुले माग गरेका छन् ।
‘पूर्वघोषणा गरी युवा पुस्ता सडकमा आएको संवेदनशील र गम्भीर परिस्थितिमा अनुगमनको माध्यमबाट मानवअधिकार उल्लंघनको रोकथाम गर्न हरहमेसा प्रयत्न गर्नुपर्ने संवैधानिक जिम्मेवारी पूरा गर्न राष्ट्रिय मानवअधिकार आयोग समेत असफल भएको भन्दै समितिले खेद व्यक्त गरेको छ ।
जवाफदेहिता निगरानी समितिको तर्फबाट मानवअधिकारकर्मीहरु राजुप्रसाद चापागाई (संयोजक), रुकमनी महर्जन, चरण प्रसाई, डा. गौरीशंकरलाल दास, डा. मन्दिरा शर्मा, दिनेश त्रिपाठी, सुमन अधिकारी, देवी सुनुवार, बाबुराम गिरी, डा. वीरेन्द्र थपलिया, ओमप्रकाश अर्यालसहितले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
जेन–जीले भन्यो, ‘आन्दोलनमा घुसपैठ भयो’,
काठमाडौँ — ‘जेन–जी मुभमेन्ट’ ले शान्तिपूर्ण आन्दोलनमा राजनीतिक स्वार्थ बोकेका व्यक्तिहरू घुसपैठ भएको दाबी गरेको छ । जेन–जी अभियन्ता आजका लागि सडकबाट फर्किसक्दा पनि बानेश्वरको सडकमा भने हिंसा जारी देखिन्छ ।
शान्तिपूर्ण आवाजलाई तोडफोड र संसद् भवनतर्फ जबर्जस्ती प्रवेशको प्रयासले आन्दोलन प्रभावित बनाएको विज्ञप्तिमार्फत ‘जेन–जी मुभमेन्ट’ ले भनेको छ । ‘संसद् भवन हाम्रो शत्रु होइन, संसद् हाम्रो सम्पत्ति हो, जनताको पसिना र करले बनेको संस्था हो,’ जेन–जीको विज्ञप्तिमा भनिएको छ । ‘जेन–जी मुभमेन्ट’ ले संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने कुनै योजना नरहेको तथा आन्दोलन शान्तिपूर्ण गर्ने तयारी रहेको भनिरहँदा आखिर कसले मचायो त हिंसा ? संसद् भवनभित्रै प्रवेशको प्रयास कुन समूहले ग¥यो ?जेन जी आन्दोलनले आफूलाई कुनै पनि राजनीतिक दलबाट अलग्गै रहन दिन आह्वान गरिरहँदा पनि दुर्गा प्रसाईंदेखि रास्वपासम्मले जस लिन होडबाजी गरेका थिए ।
जेन–जीको मुभमेन्टलाई माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रमा प्रदर्शनको स्थान प्रशासनले तोकेको थियो । जेन जीहरू बिहान १० बाट माइतीघरमा जम्मा भएर बानेश्वरतिर लागेका थिए । बानेश्वरमा निषेधित क्षेत्रभित्र प्रवेश गर्ने तथा आन्दोलनका लागि पूर्व निर्धारित गरिएको भन्दा फरक तीनकुने क्षेत्रबाट प्रदर्शनकारीहरू संसद् भवनतर्फ प्रवेश गरेका थिए । तर यी दुई समूहलाई रणनीतिक रूपमा व्यवस्थापन गर्न गृह प्रशासन पूर्णतः असफल भएको थियो ।
जेन जी आन्दोलनले आफूलाई कुनै पनि राजनीतिक दलबाट अलग्गै रहन दिन आह्वान गरिरहँदा पनि दुर्गा प्रसाईंदेखि रास्वपासम्मले जस लिन होडबाजी गरेका थिए । प्रसाईंले आन्दोलनमा आउन खोजेपछि जेन जी अभियन्ताले उनकै घरमा गएर सम्झाउनु परेको थियो । त्यस्तै सहकारी ठगीमा सर्वोच्च अदालतसमेतको आदेशमा जेलमा रहेका रवि लामिछानेले पनि जेलबाटै सार्वजनिक पत्र लेखेर जस लिन खोजेका थिए । रास्वपाकै नेता गणेश कार्कीदेखि रास्वापा केही सासंदको निजी सचिवालयमा आबद्ध व्यक्ति पनि जेन जीको प्रर्दशनमा देखिएका थिए । त्यस्तै संसद् भवनको पर्खालमाथि चढ्ने युवा माओवादीका वाईसीएल नेता भएको पनि खुलासा भएको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा बिहान शान्तिपूर्ण ढंगले अझ प्रहरीलाई फूल दिएर सुरु भएको आन्दोलन घुसपैठले हिंसात्मक बन्न पुगेको हो । त्यही बहानामा सरकार असंवेदनशील भएर सरकारले अत्यधिक बल प्रयोग गर्दा युवाहरूको ज्यान गएको छ । आन्दोलनका आह्वानकर्ता तथा प्रत्यक्षदर्शीहरूले पनि बाहिरिया घुसपैठ भएको बताइरहेका छन् । आन्दोलनमा मृत्यु हुने र घाइतेहरुको संख्या थपिँदै गएको छ । प्रहरीको सेन्ट्री पोस्टदेखि यातायात विभाग अघि थोपारिएको खानेपानी पाइप मात्रै नभएर बानेश्वरको सशस्त्र प्रहरीको एम्बुलेन्समा समेत आगलागी गरिएको छ ।
द्वन्द्वात्मक मनसाय बोकेका मानिसहरूले आन्दोलनलाई अशान्ति र तोडफोडतर्फ तानेको जेन जीको दाबी छ । ‘अशान्ति र तोडफोडतर्फ तान्नेहरू राजनीतिक स्वार्थ बोकर आएका परिचालित व्यक्तिहरू हुन् । उनीहरूले हाम्रो मर्म र आत्मालाई प्रतिनिधित्व गर्दैनन्,’ जेन जी आन्दोलनले विज्ञप्तिमार्फत भनेको छ ।
काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले सरकारको औचित्व समाप्त भएको भन्दै तत्काल कांग्रेसले सरकार छाड्नुपर्ने बताएका छन् । उनले राजाको कालमा पनि नभएको दमन वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै कांग्रेस अब सरकारमा बसिरहन नमिल्ने बताए ।
‘अब एउटा गृहमन्त्रीले राजीनामा दिनुको कुनै अर्थ छैन, कांग्रेस सरकारबाटै अलग हुनुपर्छ, यो सरकारमा अब एकछिन पनि रहन हुन्न’ कोइरालाले कान्तिपुरसँगको कुराकानीमा भने । करको दायरामा आएका सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णय आफ्नो अलोकप्रिय काम छोप्नका लागि मात्रै भएको कोइरालाको भनाइ थियो ।
‘जेन–जीहरुको निकालेको शान्तिपूर्ण आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर राजाको शासनमासमेत नभएको घटनाको झल्को दिएको छ, यो कदम निरंकुश र अधिनायकवादको पराकाष्ठा हो, तत्काल जेन–जीहरुको माग पूरा गरिनुपर्छ,’ कोइरालाले भने,‘भ्रष्ट्राचार आजको आम नागरिकको मुद्दा हो । यसलाई निर्मूल गर्ने बाटो नसमात्ने हो भने मुलुक अर्को द्वन्द्वको चपेटमा जान सक्ने अवस्था बन्छ ।’
आगजनी र तोडफोडपछि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको देखियोः मानव अधिकार आयोग
.२३ भदौं, काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोग युवाहरूको प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिएपछि सुरक्षा निकायले अत्यधिक बल प्रयोग गरेको जनाएको छ।
आयोगले सोमबार एक विज्ञप्ति जारी गरी लोकतान्त्रिक सरकारले नागरिकको उचित आवाजलाई समयमै पहिचान गर्नुपर्ने औंल्याएको हो। उसले सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नुलाई ‘दुःखद’ भन्ने बाहेक अरु टिप्पणी गरेको छैन।
प्रदर्शनपूर्व उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन र प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न सुझाव दिएको मानव अधिकार आयोग आन्दोलनको दमनका विषयमा थप टिप्पणी गर्नुभन्दा ‘मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन’ केन्द्रित बनेको छ।
आन्दोलनको पूर्वसंकेत पाइसकेको आयोग जनज्यानको क्षति हुने घटना भइसकेपछि समेत मौन थियो। प्रदर्शन र मानव अधिकार उल्लंघनका घटनाको सघन अनुगमनको नेतृत्व गर्नुपर्ने आयोगका अध्यक्ष तपबहादुर मगर आफैं दिनभर भाषा आयोगको गोष्ठीमा व्यस्त थिए। चौतर्फी रूपमा आयोगको मौनतामाथि प्रश्न उठेपछि आयोगले विज्ञप्ति निकालेको हो।
मानव अधिकार आयोगका अध्यक्ष मगरलगायत सबै पदाधिकारीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त भएका हुन्। उनीहरूमाथि सरकारका मानव अधिकार उल्लंघनका घटनामा मौन हुने गरेको आरोप लाग्दै आएको छ। १६ जनाको ज्यान जाने गरीको अत्यधिक बल प्रयोगको घटनामाथि टिप्पणी गरेको आयोग तुलनात्मक रूपमा सरकारको काम–कारबाहीप्रति मौन देखिएको छ।
आयोगले प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गर्न खाजेको भन्दै त्यसपछि प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहारको घटना भेटिएको जनाएको छ। मर्नेहरूमध्ये प्रायःलाई टाउको र छातीमा गोली लागेको घटनामा आयोगले कुनै टिप्पणी गरेको छैन। आयोगले अनुगमनका क्रममा आफ्नै सवारीसाधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको दावी गरेको छ।
आयोगले घटनाको निष्पक्ष, विश्वसनीय र सुक्ष्म अनुसन्धानको माग गरेको छ, अनि दोषीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ। अनि आयोगले आफ्नो प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउन प्रदर्शनकारीलाई आग्रह गरेको छ।
‘कलर रेभोलुसन’ सम्झाउने जेनजी विद्रोह, जसमाथि राज्यले रक्तपात मच्चायो
कलर रेभोलुसन अर्थात्, लोकतन्त्रको लागि शान्तिपूर्ण तवरले गरिने विद्रोह । आज सोमबार काठमाडौं र मुख्य शहरका सडकमा नयाँ पुस्ताले यस्तै झल्को दिने प्रदर्शन ग¥यो ।
अक्सर कुनै पनि शान्तिपूर्ण विद्रोहको सुरुवात प्रहरीलाई फूल दिएर हुन सक्छ । दुई चार झडपहरू, निषेधाज्ञाको उल्लंघन अनि आपत्तिजनक लाग्ने चर्का नारा सडकमा स्वाभाविक हुन सक्छन् । कांग्रेस, एमाले र माओवादीले विगतमा कुनै पनि प्रदर्शन जगजीत सिंहका गजल र भक्तराज आचार्यका प्रभुनाम भजन गाएर थालेका पक्कै थिएनन् ।
फेसबुक, इन्स्टा, रेडिट, डिस्कर्ड चलाउने, पब्जी, फ्रिफायरतिर लगाव राख्ने भनिएको जेनेरेसन जेड अर्थात् सन् १९९७ देखि २०१० सम्म जन्मेको पुस्ता, जसलाई हामी जेनजी पनि भन्ने गर्छौं, उनीहरू यो प्रदर्शनको केन्द्रमा छन् ।
उनीहरूले नेपाली अंग्रेजी मिसाउँदै लगाएका नारामा पक्कै भावुकतापूर्ण आक्रोश थियो । सिंहदरबारतिर फर्केर दुईचार गाली दिनु पनि त्यति अनौठो होइन । तर त्यसलाई सामना गर्ने नाममा सत्ताले आज जे हर्कत देखायो, त्यो सम्पूर्ण रूपमा निन्दनीय छ ।
आफू २०५१ सालको सरकारमा गृहमन्त्री छँदा आफ्नो कार्यकालभरि कालगतिले बाहेक एकजना पनि नेपाली नमरेको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीको छविमा आजको घटनाले नराम्रोसँग दाग लगाएको छ ।
चैत १५ मा राजावादीहरूले गरेको उग्रवादी प्रदर्शन नियन्त्रणका क्रममा गृहप्रशासनले भूल गरेको थियो । त्यस भूलबाट उसले कुनै शिक्षा लिएको रहेनछ भन्ने आज फेरि स्पष्ट भयो । यो लेख्दासम्म १४ जना प्रदर्शनकारीको ज्यान गइसक्यो ।
सयौं घाइते र अंगभंग छन् । क्षतिको विवरण जुटाउन सम्भव छैन । अस्पताल हुन् कि युद्धक्षेत्र जस्तो अवस्था छ । सिभिल अस्पतालको लबीमा देखिएको दृश्य सम्झन पनि सकस पर्ने खालको छ ।
आजका घटनाले ज्ञानेन्द्रको राजशाहीलाई सम्झाउँदैनन्, बिर्साउँछन् ।
सन् ९० दशकको सुरुवाततिर सोभियत ब्लक अन्तर्गतका युरोपेली देशतिर भएका यस्ता प्रदर्शनबारे हामीले इतिहास पढेका हौं । मध्यपूर्वमा सन् २०१० को दशकमा भएका विभिन्न आन्दोलनमा पनि यस्तै विद्रोहको झल्को मिलेको थियो ।
व्यवस्था बदल्न आह्वान गरिएका ती आन्दोलनहरूमा सरकारविरोधी समूह र नागरिक समाज केन्द्रमा थियो । अहिले नेपालमा सामाजिक सन्जाल निर्णायक बनेको छ । युरोपमा आन्दोलनमा अभ्यस्त पंक्तिले कलर रेभोलुसन गरेको थियो । यहाँ चाहिं अहिलेसम्म कहिल्यै आन्दोलनमा नहिंडेको पंक्ति सडकमा छ ।
नेपालमा २००७ साल यताका आन्दोलनहरू सम्झौं । यसअघिका सबैजसो जुलुसहरूमा आर्थिक स्रोत, शक्ति, कार्यकर्ता व्यवस्थापन, प्रशिक्षणको एउटा टेम्प्लेट नै सेट हुने गरेको थियो । जेनजीको यो आन्दोलनमा स्न्यापच्याट, डिस्कर्ड, रेडिट आदि सन्जालको भर्चुअल आह्वानबाहेक दोस्रो कुनै स्रोतसाधन परिचालित देखिँदैन ।
पलिटिक्स इज् डर्टी गेम भन्दै नेताहरूलाई धारे हात लगाउनेमध्येकै कतिपयले अब राजनीतिक सरोकारमा प्रत्यक्ष रुचि र सहभागिता देखाउन थालेका छन् । नयाँ पुस्ताले देश चिन्दैन, राजनीति बुझ्दैन भन्ने धारणा आज भत्किएको छ ।
याद गर्नैपर्ने के छ भने, यसअघिका सबैजसो परिवर्तनका आन्दोलनमा सक्रिय भएर यति बेला सत्ता–संस्थापन अनि प्रतिपक्षसमेतमा बसेकाहरू विरुद्ध एउटा नयाँ वर्ग सडकमा उदाएको छ । हिंसा र अतिवाद यसको छनोटमा थिएन । दुर्गा प्रसाई लगायत केही अतिवादी, दक्षिणपन्थी र अराजक समूहले एजेन्डा अपहरण गर्ने कोसिस गरे पनि युवाले सफल हुन दिएनन् ।
नयाँ पुस्ता कतै व्यवस्था बदल्ने बाटोमा पो लक्षित हुने हुन् कि भनी सन्देह समेत गरेका छन् । यद्यपि उनीहरूले गणतान्त्रिक व्यवस्थाकै सम्बद्र्धनका लागि आफूहरू क्रियाशील भएको घोषणा गरेका छन् । यसबारे तल चर्चा गरिने छ ।
संसद भवनमा प्रदर्शनकारी छिरेसँगै कफ्र्यु लागेको छ । बानेश्वर क्षेत्र तनावग्रस्त छ । नेपालका अरू केही सहरमा पनि निषेधाज्ञा लागिसकेको छ । यसपछि के हुने हो भन्ने स्पष्ट छैन ।
‘लिडरलेस मुभमेन्ट’ अर्थात् एक किसिमले नेतृत्वविहीन आन्दोलन जस्तो अनुभूति भए पनि यसभित्र सुषुप्त नेतृत्व भने देखिन्छ ।
इनफ् इज इनफ्, नो नट अगेन जस्ता समूह, अनि विगतमा उज्वल थापाको नेतृत्वमा अघि बढेको विवेकशील नेपाली दलसँग निकट भएका सामाजिक अभियानकारी युवाहरूले यसलाई अनौपचारिक रूपमा संगठित गरिरहेका छन् । रास्वपा र बालेन निकट युवाहरूको चाखसँगै संलग्नता देखिन्छ । अनि त्रिभुवन विश्वविद्यालयमा पढ्ने थुप्रै विद्यार्थी कीर्तिपुरबाट बानेश्वर आएका छन् ।
आन्दोलन नै आन्दोलन भइरहने देश नेपालमा उदाएको नयाँ पुस्ताले, जसले आफ्नो जीवनकालमा ठूलो परिवर्तनकारी आन्दोलन देखेन, बरु फेसबुक, ट्वीटर, इन्स्टाग्राम, रेडिट आदिमा आफ्ना अनुभूति र आक्रोश पोख्यो, त्यो पुस्ता यति बेला खुद सडकमा छ । सोसल मिडिया काटिँदा आफ्नो जीवनशैली नै अपहरित भएको यो पुस्ताको बुझाई छ ।
माथि भनिएझैं प्रहरीलाई फूल दिएर, अनि सरकारले प्रतिबन्ध लगाएका सामाजिक सन्जालमा त्यसको भिडियो पोस्ट गरेर थालिएको प्रदर्शन अन्ततः उत्तेजक बन्यो । नेपालको शक्तिकेन्द्रको नाभी मानिने सिंहदरबारको अगाडिबाट थालिएको प्रदर्शन संसद भवन परिसरमै प्रवेश ग¥यो । स्थिति नियन्त्रणबाहिर गएको निष्कर्ष निकाल्दै प्रशासनले कफ्र्यु आदेश नै जारी गरेको छ ।
यो पंक्तिकारले बानेश्वर, बुद्धनगर र बबरमहल आसपासका क्षेत्रमा अवलोकन गर्दा देख्यो– स्कूल, कलेजको पोशाक लगाएका, हातमा सिर्जनशील प्लेकार्ड लिएका, राष्ट्रिय झन्डा र पानी बोकेका युवायुवती, अनि किशोर किशोरीहरू सडकमा थिए । संस्थापनविरोधी नयाँ दलहरूमा संलग्न युवा पनि दृश्यमान थिए ।
सामाजिक सन्जाल बन्द गर्ने पछिल्लो सरकारी निर्णय युवा आक्रोशको केन्द्रमा रह्यो । भ्रष्टाचार, बेथिति र कुशासन उनीहरूको तारोमा छ, जसलाई निश्चित वैचारिक लेप दिइएको छैन ।
जेनजी आन्दोलनमा संलग्न एक अभियन्ता युजन राजभण्डारीले अनलाइनखबरलाई उपलब्ध गराएको पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत बिहान नौ बजे माइतीघर मण्डलमा जम्मा भएर ११ बजेसम्म प्रर्दशन गर्ने, त्यसपछि बानेश्वरको एभरेस्ट होटलसम्म प्रदर्शन गरेर निषेधित क्षेत्रमा रोकिने कार्यसूची थियो । तर उनी, रक्षा बमसहित आयोजकमध्येका केही अगुवाले घुसपैठ भएका व्यक्तिहरूले गरेको गतिविधिका कारण स्थिति नियन्त्रणबाहिर गएको दुखेसो गरे ।
गणतन्त्रपछिका झन्डै दुई दशकमा आलोपालो सत्तासीन यी नेताहरूको विगत र वर्तमान, तिनका सन्तान र आसेपासेहरूको आकस्मिक वर्गोत्थानविरुद्ध तन्नेरी आक्रोश झल्किरहेका छन् ।
सामान्यतया संसद् भवन छिर्ने, राष्ट्रपति वा प्रधानमन्त्री कार्यालयतिर लक्षित हुने अवस्थालाई राजनीतिशास्त्रीहरूले व्यवस्था नै बदल्ने प्रयास भनी बुझ्ने गर्छन् । शान्तिपूर्ण प्रदर्शनलाई संसद् भवनतर्फ लक्षित नगरेको भए पक्कै यो खति हुने थिएन । यद्यपि त्यहाँ कुनै वितण्डा वा तोडफोड नमच्चिएको अवस्थामा सुरक्षाकर्मीले जसरी प्रतिकार ग¥यो, त्यसले नेपाली राज्ययन्त्रको साख सिंगो विश्वका सामु उदांगिएको छ ।
जेनजी समूहरूले आफ्नो आन्दोलन राजावादीको नभएको, राजनीतिक दलविशेषसँग संलग्न नरहेको, अनि गणतान्त्रिक व्यवस्था बदल्न नगरिएको भनी वैचारिक लक्ष्मणरेखा कोरेका छन् । आफूहरूले स्वतन्त्र पारदर्शी संस्थाहरूको निर्माण हुनुपर्ने, सोसल मिडिया बन्देज हट्नुपर्ने माग राखेको उनीहरूले बताएका छन् । कोशीका मन्क्रीको गाडीले बालिकालाई जेब्रात्रसिङमा ठक्कर दिएर भागेको संवेदशील घटनामाथि प्रधानमन्त्री ओलीले एमालेको गोदावरी महाधिवेशनमा दिएको पछिल्लो अभिव्यक्तिप्रति जेनजी प्रदर्शनकारीको तीव्र आपत्ति देखिन्छ ।
प्रदर्शन उत्तेजक बन्दैजाँदा सुरक्षाकर्मीले हानेको रबर बुलेट, हवाई फायर अनि कडा प्रतिकारका कारण सडकमा प्रदर्शनकारी ढलिरहेका दृश्य हामीले देख्यौं । सरकारविरुद्ध उत्तेजक नाराहरूको कमी छैन ।
विगतमा हामीले अन्तिम शाह राजा ज्ञानेन्द्र, तत्कालीन युवराज पारसविरुद्ध सुनेकै शैलीका कडा नाराहरू प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्डविरुद्ध लक्षित छन् । गणतन्त्रपछिका झन्डै दुई दशकमा आलोपालो सत्तासीन यी नेताहरूको विगत र वर्तमान, तिनका सन्तान र आसेपासेहरूको आकस्मिक वर्गोत्थानविरुद्ध तन्नेरी आक्रोश झल्किरहेका छन् ।
लिडरलेस आन्दोलन भनेर जतिसुकै भने पनि अब यसले आन्दोलनकारी अगुवा खोजिसक्यो । संयमित भएर सुझबुझ देखाउँदा यो प्रदर्शन विद्रोहकै बाटोमा अघि बढ्न सक्छ, जसबाट नयाँ नेपालको सत्तासंस्थापन नै पुनःपरिभाषित हुन सक्छ । कथं योजनाविहीन भएर अघि बढ्यो भने कहिलेकाहीं अराजकतावादी शक्तिहरूले दुरूपयोग गर्ने खतरा पनि त्यत्तिकै हुन्छ ।
नयाँ पुस्तासँग शक्तिशालीविरुद्ध पर्याप्त आक्रोश छ । उनीहरूले खोजेको परिवर्तनको मोडल के हो भनेर स्पष्ट पार्ने बेला पनि सँगसँगै आएको छ ।
‘कलर रेभोलुसन’ सम्झाउने जेन जीको यो विद्रोहमाथि राज्यले अमानवीय भएर जुन रक्तपात मच्चाएको छ, यसको सम्झना भने पछिसम्मै हुने छ । एउटा माफी वा केही क्षतिपूर्ति घोषणाको भरमा आगामी नेपाल सम्हाल्ने पुस्ताले राज्यलाई क्षमा दिन कठिन छ ।
यी हुन् ट्रमा सेन्टरमा उपचाररत ४९ घाइते (नामावली)
२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा घाइते भएकाहरूको संख्या बढ्ने क्रममा छ । सोमबार सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलन हिंसात्मक बन्न पुगेको थियो ।
सो क्रममा १४ जनाको मृत्यु भइसकेको छ । विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।
ट्रमा सेन्टरमा मात्रै ४९ जना घाइते उपचाररत छन् । अन्य अस्पतालहरूमा पनि घाइतेको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार, घाइतेमध्ये अधिकांशलाई गोली लागेको छ ।
‘गोली लागेका बिरामीहरू नै धेरै छन् । धेरैलाई रबरको गोली र छर्रा लागेको देखिन्छ,’ ती चिकित्सकले भने ।
source : eKantipur & Onlinekhabar
No comments:
Post a Comment