Wednesday, September 10, 2025

कैदीवन्दीलाई स्वेच्छाले फर्किन कारागार प्रशासनको आग्रहपछि तिनजना कैदीवन्दी फर्किए १० जना कैदीवन्दी भारतीय प्रहरीको नियन्त्रणमा


महोत्तरी समाचारदाता (नागेन्द्रकुमार कर्ण)

महोत्तरी, भदौ २६ गते । जिल्ला कारागार महोत्तरीले कारागारबाट भागेका कैदीवन्दीहरुलाई स्वेच्छाले कारागार फर्किन आग्रह गरेपछि राति नै तिनजना कैदीवन्दी फिर्ता आएको जनाएको छ ।

जिल्ला कारागार महोत्तरीका सुचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख रविनचन्द्र ठाकुरले कारागारबाट भागेका कैदीवन्दीहरुलाई स्वेच्छाले फर्किन आग्रह गरेपछि तिनजना कैदीवन्दी रातीनै आइपुगेको वताउनुभयो । उहाँले भन्नुभयो,‘अरु कैदीवन्दीहरुले समेत सम्पर्क गरेको छ, आज दिनभरीमा सबैजना आउन सक्ने सम्भावना रहेको छ ।’ 

महोत्तरी र धनुषा जिल्लाको लागि रहेको एकमात्र कारागार जलेश्वरका निमित्त कार्यालय प्रमुख रविनचन्द्र ठाकुरले वुधबार साँझ एक अपिल जारी गर्नुहुदै २४ घण्टा भित्र स्वेच्छाले कारागार फर्किन आग्रह गर्नुभएको थियो । 

यही भदौ २४ गते साँझ जेनजीहरुको आन्दोलनले गर्दा जलेश्वर कारागारमा रहेका ५७७ कैदीवन्दीहरु मध्ये ५७६ कैदीवन्दी भागेका थिए । मङ्लवार साँझ ७ बजे लाठीसहित आन्दोलनकारीहरु आएपछि कैदीवन्दीहरु समेत पर्खाल भत्काउँदै भागेको थियो । 

यता मङ्लवार भागेका कैदीवन्दीहरु मध्ये भारत प्रवेश गर्न खोज्ने १० जना कैदीवन्दीहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा राखेको जनाइएको छ । ति कैदीवन्दीहरुलाई कारागारमा बुझाइएको बारेमा जानकारी माँग्दा कारागारका निमित्त कार्यालय प्रमुख ठाकुरले भन्नुभयो, ‘आफुलाई पनि मिडिया मार्फत जानकारी भएको छ, आधिकारिक रुपमा सो सम्बन्धी कुनै पनि जानकारी आफुहरुलाई छैन ।’

भारतीय अखवार प्रभात खबरका सुरसण्डका पत्रकार विजय नारायण मिश्रले भारतीय प्रहरीले १० जना कैदीवन्दीहरुलाई पक्राउ गरेर नियन्त्रणमा लिएको जानकारी दिनुहुदै सो मध्ये सात जनालाई भारतीय भिठा थाना तथा तिन जनालाई सुरसण्ड थानामा राखिएको वताउनुभयो । मङलवार राति कारागारबाट भागेका कैदीवन्दीहरु मध्ये सात जनालाई भारतको भिठामोड नाकाबाट तथा तिनजनालाई सुरसण्ड नाकाबाट भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । 

भारतीय सुरसण्ड थानाध्यक्ष धनंजय कुमार पाण्डेय तथा भिठा थानाध्यक्ष मनोज कुमारलाई उद्दृत गर्दै उहाँले माथिल्लो निकायको आदेशमा थप प्रक्रिया अगाडी बढाउने जानकारी दिइएको वताउनुभयो । नियन्त्रणमा लिएका कैदीवन्दीहरु मध्ये आठ जना नेपाली रहेका छन् भने दुई जना भारतीय छन् ।

भारतीय सिमानाकाबाट पक्राउ परेका कैदीवन्दीहरुमा भारतको मोतिहारीको चकिया घर भई लागुऔषध मुद्दामा रहेका गुडु कुमार यादव, जवरजस्ती करणी मुद्दामा कारागारमा रहेका जलेश्वर नगरपालिका वडानं. ८ बस्ने रियाज दफाली, मकवानपुर घर भएका राजेश तामाङ्ग रहेका छन् । यी तिनजनालाई भारतीय सुरसण्ड क्षेत्रबाट नियन्त्रणमा लिइएको छ । 

त्यसैगरी धनुषा मुखियापट्टी मुसहरनिया घर भएका रामगुलाम महतो, औरही हसनपुर बस्ने विनोद राय, जनकपुर कुर्था वस्ने इन्द्रेश मण्डल, धनुषा यदुकाहा बस्ने कृष्णकुमार महतो, जलेश्वर बस्ने मोजाहिद अंसारी, महोत्तरी लोहारपट्टी घर भएका सुरेन्द्र साह सोनार, भारतको वैशाली वस्ने मोहन कुमारलाई समेत कारागारबाट भारत भाग्ने क्रममा नियन्त्रणमा लिइएको छ । 


No comments:

Post a Comment