शनिबार, २८ भदौ २०८२,
काठमाडौँ । जनमत पार्टीका नेता एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुख्यमन्त्री पदबाट दिएको राजीनामाबाट पछाडि हटेका छन् ।
जेनजी पुस्ताको आन्दोलनका कारण जनमत
पार्टीका अध्यक्ष डा.सिके राउतले दिएको निर्देशनका आधारमा मुख्यमन्त्री सिंह आफ्नो
पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर अहिले देशमा नयाँ प्रधानमन्त्री
नियुक्त भइसकेपछि उनी आफू नै मुख्यमन्त्री रहेको भन्न थालेका हुन् ।
भदौ २४ गते आन्दोलनले उग्र रूप लिएपछि उनले आफ्नो फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका थिए । राजीनामा दिनका लागि पार्टीका अध्यक्ष राउतले उनलाई निर्देशन दिएका थिए । कैलाश मानसरोवरमा रहेका अध्यक्ष राउतले आफू पनि संसद् पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
मुख्यमन्त्री सिंहले आफ्नो फेसबुकमा लेखेका थिए, ‘....नागरिकको ज्यान भन्दा ठुलो अरू केही छैन भने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेस प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु ।’
त्यति मात्र होइन उनले भनेका थिए, ‘म मुख्यमन्त्री रहँदा प्रत्यक्ष वा
अप्रत्यक्ष रूपमा सहयोग र साथ दिनु हुने सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्दछु ।
साथै यो महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने अवसर प्रदान गर्नु भएकोमा जनमत
पार्टीका श्रद्धेय राष्ट्रिय अध्यक्ष माननीय डा. सिके राउतज्यूसहित पार्टीका सबै
समिति,
नेता, कार्यकर्ताहरूप्रति कृतज्ञता प्रकट गर्दछु ।’
मुख्यमन्त्री सिंहले प्रेस विज्ञप्ति जारी
गरेर राजीनामा दिए पनि उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष औपचारिक
पत्र बुझाएका थिएनन् । त्यसैलाई आधार मानेर उनी आफू नै मुख्यमन्त्री रहेको भन्न
थालेका छन् । उनी पुनः मुख्यमन्त्रीमा फर्किनका लागि वकिल तथा विभिन्न दलका
नेताहरूसँग छलफलमा जुटेका छन् ।
मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाले भदौ २४ गते मधेस भवनमा तोडफोड हुन
थालेपछि आफ्नो राजीनामा घोषणाले त्यो साम्य हुन्छ कि भनेर मुख्यमन्त्री सिंहले
राजीनामाको घोषणा गरेको स्पष्ट पारे । धनजनको धेरै क्षति नहोस् भनेर मुख्यमन्त्री
सिंहले त्यो दिन आफ्नो फेसबुकबाट राजीनामा घोषणा गरेको उनको भनाई छ ।
‘मेरो राजीनामाले यदि अवस्था सहज हुन्छ, सबै कुरा शान्त हुन्छ भने म राजीनामा दिन
तयार छु भन्दै मुख्यमन्त्री सिंहले राजीनाको घोषणा गर्नु भएको हो । अहिले फरक
परिस्थिति भएको कारण अब के गर्ने भनेर त्यसको बारेमा उहाँ दलका नेता तथा
वकिलहरूसँग छलफलमा जुट्नु भएको छ’, सल्लाहकार झाले भने ।
तर, जनमत पार्टीका अध्यक्ष राउतले आफूहरूले संसद् र सरकार सबै छाडेको बताएका छन् । हिजो आफ्नो फेसबुकमा लेख्दे उनले भनेका छन्, ‘मैले पद छोडेको भोलि पल्टै देश र मधेस स्वर्ग बन्नेछ, मैले छोडेको भोलि पल्टै १० लाख रोजगारी सिर्जना हुनेछ, मैले छोडेको भोलि पल्टै स्कुल र अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको सेवा सुचारु हुनेछ, मैले छोडेको भोलि पल्टै आर्थिक समृद्धि आई मान्छे पिच्छै मकान र गाडी हुनेछ । मानौँ मैले छोडेको भोलि पल्टै र ऊ आउने बित्तिकै यी सब पूरा हुनेछन् । ल त, छोडी दिएको छु सांसद पद, सरकारी पद ! ल त, छोडी दिएको छु बाटो ! ल त, अब रातारात माथिका कुरा पूरा गरेर तपाईँ नै देखाउनोस् ।’
No comments:
Post a Comment