Thursday, September 4, 2025

औरहीमा एकदिने शिविरमा २७ जनामा क्षयरोग भेटियो



महोत्तरी समाचारदाता 

महोत्तरी, भदौ १९ गते । महोत्तरी जिल्लाको औरही नगरपालिकामा गरिएको एक दिने क्षयरोग स्क्रिनिँगमा २७ जनामा क्षयरोग देखिएको छ । 

औरही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रभुषण ठाकुरले राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत एआई एक्सरे विधिबाट सक्रिय क्षयरोग खोजपडताल शिविर चलाउँदा त्यत्तिको संख्यामा क्षयरोगी भेटिएको वताउनुभयो । 

उहाँले एआई एक्सरे विधिबाट सक्रिय क्षयरोग खोजपडताल शिविरमा १६८ जनामा स्क्रिनिँग गर्दा २७ जनामा क्षयरोग देखिएको जानकारी दिनुुहुदै उहाँले एकदिनकै शिविरमा यत्तिको संख्यामा क्षयरोगी भेटिनु गम्भिर र जोखिम रहेको वताउनुभयो । वागमति सेवा समाजको आर्थिक तथा प्राविधिक सहयोगमा र औरही नगरपालिकाको आयोजनामा औरही नगरपालिका वडानं. ९ को सोनामाई स्वास्थ्य चौकीमा गरिएको सो जाँचले यसक्षेत्रमा क्षयरोगीहरुको संख्या बढी रहेको देखिएको स्वास्थ्य शाखा प्रमुख ठाकुरले वताउनुभयो । उहाँले यसले गर्दा सन् २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त बनाउने अभियानमा चुनौती थपेको बताउनुहुदै निरन्तर रुपमा क्षयरोग चेकजाँच शिविर चलाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । 



सो शिविरमा औरही नगरपालिकाका कार्यवाहक नगरप्रमुख रेणु झा, स्वास्थ्य शाखा प्रमुख चन्द्रभुषण ठाकुर, वागमत्ति सेवा समाजका प्रमित कुमार साहसहित नगरपालिकाका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । 

औरही नगरपालिकाको छिमेकी रहेको बर्दिबास नगरपालिकामा पनि एक वर्षको अवधिमा मात्रै १४५ जनामा क्षयरोग देखिएको छ । बर्दिबास नगरपालिकाको वडानं. ७ र ११ मा पनि गरिएको शिविरमा १२३ जनाको चेकजाँच गर्दा २८ जनामा क्षयरोगको आशंका गरिएको थियो । 

स्वास्थ्य कार्यालय महोत्तरीका फोकलपर्सन प्रतिभा सिंहले आ.व.२०८०÷८१ म महोत्तरीमा १ हजार २०२ क्षयरोगीको बिरामी फेला परेको बताउनुहुदै सो मध्ये १ हजार १५० क्षयरोग सर्ने खालको रहेको बताउनुभयो । सो आर्थिक वर्षमा सबभन्दा बढी १७१ जना गौशाला नगरपालिकामा र सबभन्दा कम एकडारा गाउँपालिकामा २९ जनामा क्षयरोग फेला परेको थियो । त्यसैगरी आ.व.२०७९÷०८० मा १ हजार ३२६ क्षयरोगीको विरामी फेलापरेको तथ्याँक रहेको वताउनुभयो । सो आर्थिक वर्षमा जलेश्वर नगरपालिकामा सबभन्दा बढी १९५ जना तथा सबभन्दा कम महोत्तरी गाउँपालिकामा ४१ जनामा क्षयरोगी भेटिएको थियो ।



प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल अधिकृत डा.कृष्णकुमार पंजियारले क्षयरोग भएमा छाती र फोक्सोलाई असर गर्ने वताउनुहुदै एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकोले जनचेतना जगाउन जरुरी रहेको बताउनुभयो । उहाँले क्षयरोगको औषधी निःशुल्क पाउने गरेको वताउनुहुदै नियमितको उपचारले क्षयरोग निको हुने गरेको बताउनुभयो । 

उहाँले अस्पतालमा उपचारको लागि आउने बिरामीहरुलाई लक्षणको आधारमा स्वास्थ्य कार्यालय महोत्तरीमा खकार जाँचको लागि पठाउने गरेको र सो जाँचमा पोजेटिभ आएपछि औषधी शुरु गराउने गरेको बताउनुभयो । लामो समयसम्म लगातार खोकी आउने, ज्वरोहरु आइरहने, दुब्लाउने, खाना खाने इच्छा नहुने, खकारमा रगतदेखिने जस्ता समस्या रहेको बिरामीले बताएपछि खकार चेकजाँच लेख्ने गरेको चिकित्सक पंजियारले बताउनुभयो । 

क्षयरोगको क्षेत्रमा कामकाज गर्दै आइरहनुभएका बागमत्ती समाज सर्लाहीका जलेश्वर प्रतिनिधि कैलाश यादवले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकामा क्षयरोग सम्बन्धी कामकाज हुने गरेको जानकारी दिनुभयो । उहाँले समुदायमा रहेका क्षयरोग प्रभावित व्यक्तिलाई पहिचान गर्ने, उनीहरुको खकार चेकजाँच गराउने, पोजेटिभ आएमा औषधी खुवाउने र सो को नियमित अनुगमन गर्ने, सही उपचार सेवा दिनाका साथै क्षयरोग रोकथामका क्रियाकलाप गर्ने गरेको जानकारी दिनुभयो ।

उहाँले जनचेतनाका साथसाथै क्षयरोग लागेका बिरामीहरुले लापरवाही समेत गर्ने गरेको कारणले रोगीको संख्या बढेको बताउनुभयो । उहाँले चेकजाँच गराउन आनाकानी गर्ने, जथाभावी रुपमा हाँच्छयु गर्ने लगायतका कार्यहरु गर्ने गरेको बताउनुहुदै यस कार्यमा पालिकाहरुले जनचेतना जगाउन जरुरी रहेको बताउनुभयो । उहाँले छुटेका सबै क्षयरोगका विरामीहरुलाइ खोजौं, उपचार गरी निको पारौं भन्ने अभियान समेत सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो । 

No comments:

Post a Comment