Thursday, September 11, 2025

महोत्तरीमा आज दिनभरीको अपडेट


३५ जना कैदीवन्दीहरु कारागार फर्किए

महोत्तरी समाचारदाता

महोत्तरी, भदौ २६ गते । जिल्ला कारागार महोत्तरीबाट मङ्लवार साँझ भागेका कैदीवन्दीहरु कारागार प्रशासनले फिर्ता हुन गरेको अपिल पछि धमाधम कारागार फर्किन थालेका छन् । अहिलेसम्म ३५ जना कारागारमा फिर्ता भइसकेको कारागारका निमित्त कार्यालय प्रमुख रविनचन्द्र ठाकुरले जानकारी दिनुभयो ।

उहाँले ज्यान मार्ने मुद्दामा पूर्पक्षमा रहेका बलवा नगरपालिका ५ का दिपक कुमार यादव, कर्तव्य ज्यान मुद्दाका चन्द्रदिप यादव, संजय साह, लागुऔषध मुद्दाका सनत शिवाकोटी, सवारी ज्यान मुद्दाका ब्रिकेश मण्डल, थमन विक हत्या मुद्दाका प्रदिप साह माझी, अपहरण मुद्दाका राहुल सिंह, सवारी ज्यान मुद्दाका राहुल कुमार झा, कर्तव्यज्यान मुद्दाका नारायण थापा, हरिदेव यादवलगायतका कैदीवन्दीहरु फर्किएको जानकारी दिनुभयो । 

मङ्लवार साँझ आन्दोलनकारीहरुले मधेश आन्दोलनको मुद्दामा कारागारमा रहेका कौशल यादव, प्रदिप माफी, संजय साह, देवेन्द्र चौधरी, चन्द्रिप यादवलगायतलाई छोडन माँग गर्दै कारागारमा आन्दोलन गर्दै पुगेपछि वाहिर र भित्र दुवैको ढोका फोडेर कैदीवन्दीहरु भागेका थिए । 

सो बेला कारागारको सुरक्षार्थ ४९ जना नेपाल प्रहरी र ३५ जना सशस्त्र प्रहरी रहेको बताउनुहुदै प्रहरीले बल प्रयोग नगरेपछि कैदीवन्दीहरु भागेको कारागारका निमित्त कार्यालय प्रमुख ठाकुरले जानकारी दिनुभयो । 

महोत्तरीमा निषेधाज्ञा र कफ्र्यु जारी,


महोत्तरी जिल्लामा मङलवार साँझदेखि लगाइएको निषेधाज्ञा र कफ्र्यु जारी रहेको जनाइएको छ । विहिबार विहान केही समय खुला गरिएपनि विहान ११ः३० बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिनुभयो । उहाँले जिल्लाभरि नै निषेधाज्ञा र कफ्र्यु रहेको जानकारी दिनुहुदै स्थानीयबासीहरुलाई सरसामान तथा रासनपानी खरिदको लागि केही समय खुकुलो गर्ने गरिएको वताउनुभयो ।

उहाँले विहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ः३० बजेसम्म जिल्लाभरि नै कफ्र्यु रहने जानकारी दिनुभयो । जिल्लाभरि रहेको निषेधाज्ञा र कफ्र्युको कारण बजार, हाट, यातायात सम्पूर्ण रुपमा ठप्प छ भने स्थानीय पालिकाहरुले कार्यालय तथा विद्यालयहरुमा विदा घोषणा गरिसकेको छ । 

प्रमुख जिल्ला अधिकारी रिसालले निषेधाज्ञाको समयमा भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता सामग्री टाँस्न वा लेख्न एवम् शान्ति र व्यवस्थामा असर हुने कुनै कार्य गर्न नपाउने र एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने वताउनुभयो । त्यसैगरी कफ्र्युको समयमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रर्दशन, सभा, समुह बनाई हिड्न, बैठक वा घेराउ गर्न नपाउने गरि वन्देज रहेको बताउनुभयो । 

प्रजिअ रिसालले अत्यावश्यक कार्यको लागि आवतजावत गर्न बिहीबार साँझ ५ बजेदेखि ७ बजेसम्म जिल्लाभरि नै केही खुकुलो बनाउने बताउनुहुदै निषेधाज्ञा र कफ्र्युको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्नुभयो । 

प्रजिअले जारी गर्नुभएको आदेशमा जिल्लाको पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा यस जिल्लामा सार्वजनिक सम्पत्ति र जनताको जनधनको सुरक्षाको लागि मिति २०८२÷०५÷२५ बिहान ८ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क र ६ख वमोजिम यस जिल्लाभरका सम्पूर्ण क्षेत्रमा कफ्र्यु आदेश जारि गरिएकोमा आज मिति २०८२÷०५÷२६ गते बिहान ११ः३० बजेदेखि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ख वमोजिम दंगाग्रस्त क्षेत्र घोषणा गरि कफ्र्यु तथा निषेधाज्ञा आदेश जारी गरिएको उल्लेख छ । 

निषेधाज्ञामा पनि ट्राफिक प्रहरी र प्रहरी विटमा आगजनी



महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा निषेधाज्ञाविच ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरिएको छ ।

आगजनीको कारण ट्राफिक प्रहरी कार्यालय जलेश्वरको कार्यालयमा क्षति पुगेको छ । त्यसैगरी जलेश्वरको जिरोमाइलमा रहेको प्रहरी विटमा समेत आगजनीको प्रयास गरिएको जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक शैलेन्द्र कुमार भट्टले ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरिएको स्विकार गर्नुभयो । उहाँले केही व्यक्तिहरु आएर आगजनी गरेको हो । हामी तिनीहरुको खोजी कार्य गरिरहेका छौं । आगजनीको कारण कार्यालयको अगाडी पट्टी रहेको मुख्य कार्यालयको कुर्सीलगायतका कागजातहरु जलेको हो । सुचना पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले तत्कालै जलेश्वरको वारुणयन्त्र बोलाएर आगोलाई नियन्त्रणमा लिएकोले थप क्षति हुन सकेन । त्यसैगरी आन्दोलनकारीहरुले जलेश्वरको जिरोमाइलमा रहेको प्रहरी विटमा पनि आगजनी गरेको थियो तर त्यो आगजनी तत्कालै नियन्त्रणमा लिइएको कारणले क्षति नभएको वताइन्छ ।

मङलवार मात्रै जिल्लाको सोनमा गाउँपालिकामा पनि आन्दोलनकारीहरुले तोडफोड र आगजनी गरेको थियो । स्थानीय आन्दोलनकारीहरुले कार्यालयको तालचा फुटाइ कार्यालय भित्र रहेका कागजात, कम्प्युटर, कुर्सी लगायतका सामग्री तोडफोड गर्दै बाहिर निकाली जलाइदिएका हुने । 


No comments:

Post a Comment