Wednesday, September 10, 2025

भारतीय मिडियाको ‘ढोल पिटाइ’ !

भारतीय सञ्चारमाध्यमहरूले यो घटनालाई निकै नजिकबाट कभरेज गरिरहेको छ । एनडीटीभी, टीभी नायन भारतवर्षलगायतका केही सञ्चारमाध्यमका रिपोर्टरहरू फिल्डमै आएर रिपोर्टिङ गरिरहेका छन् । तर अन्य अन्तर्राष्ट्रिय मिडियाको तुलनामा भारतीय सञ्चारमाध्यमको कभरेज अलि भिन्न खालको देखिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यस आन्दोलनलाई युवाहरूको आक्रोश भनिरहँदा भारतीय सञ्चारमाध्यमले भने ‘डिप स्टेट’ को योजनामा भएको अराजकताका रूपमा पोट्रेट गरेको छ । यो आन्दोलनलाई षड्यन्त्र, बाह्य हात र भूराजनीतिक खेलसँग जोडेर देखाइएको छ ।
विशेषगरी भारतीय टेलिभिजनहरूमा यस्ता खालका टीकाटिप्पणी भएका छन् । भारतमा चर्चित मानिएका एनडीटीभी, आजतक, डीडी न्युज, टीभीनाइन भारतवर्ष, न्युज १८ इन्डिया, रिपब्लिक टीभी र टाइम्स नाउ नवभारतलगायतका भारतीय टेलिभिजनले नेपाली युवाको आन्दोलनलाई बाह्य शक्तिका रूपमा देखाएका छन् । यी टेलिभिजनहरूले यो प्रदर्शनलाई पाकिस्तान, चीन, अमेरिका, गैरसरकारी संस्थाहरू वा कोकाकोलाजस्ता कर्पोरेट लगानीकर्तासँग जोडेका छन् ।
टाइम्स नाउ नवभारतका प्रस्तोता सिद्धान्त सिन्हाले भनेका छन्, ‘जुन समयमा नरेन्द्र मोदी विश्व राजनीतिमा धमाका गरिरहेका छन्, जब भारतको अगाडि चीन झुकिरहेको छ । त्यही बेला भारतको छिमेकमा ठूलो आगलागी भएको छ ।’ उनले नेपाललाई चीन र अमेरिकाबीचको रणमैदानका रूपमा चित्रण गरेका छन् ।
भारत र चीनको बढ्दो निकटताका कारण झस्किएको अमेरिकाले नेपालमा खेलेको उनको जिकिर छ । मोदीको बढ्दो उदयमा अमेरिकी चलखेल भइरहेको उनले बताए । यद्यपि यसलाई प्रमाणित गर्ने कुनै पनि प्रमाण उनले देखाएनन् । न्युज १८ इन्डियाले पनि यसलाई योजनाबद्ध र षड्यन्त्रकारी प्रदर्शनका रूपमा चित्रण गरेको छ । यस आन्दोलनलाई जेन–जीका नाममा कसैले आतंक मच्चाएको न्युज १८ इन्डियाका प्रस्तोता अमन चोपडाले बताएका छन् । उनले प्रश्न गरेका छन्, ‘यो कथित जेन–जी आन्दोलन अचानक सुरु भएको हो वा यसका पछाडि कुनै संगठित षड्यन्त्र छ ?’
डीडी न्युजका सुधीर चौधरीले नेपाल अस्थिरतातर्फ धकेलिएको संज्ञा दिएका छन् । उनले नेपालमा अमेरिका, पाकिस्तानलगायत अन्य राज्यको संस्थातर्फ जोड्दै नेपाल भूराजनीतिको भुमरीमा परेको टेलिभिजनमार्फत बताएका छन् । उनले नेपालका युवाहरू इन्टरनेटको लतमा परेको कुरा पनि टेलिभिजनमा भनेका छन् ।
रिपब्लिक टीभीमा अर्णव गोस्वामीले भने सिधै यो प्रदर्शनलाई सीआईएको षड्यन्त्र भनेर व्याख्या गरे । उनले भने, ‘के अमेरिका यसको पछाडि छैन भन्ने कल्पना गर्न पनि सकिन्छ, सीआईएको अराजकताको खाका धेरै वास्तविक छ ।’ उनले नेपालको सरकार ढल्नुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हात रहेको दाबी गरे ।
त्यस्तै आजतकमा अञ्जना ओम कश्यपले त एउटा गैरसरकारी संस्था ‘हाम्रो नेपाल’ को नाम लिएर यसले कोकाकोला, जापानबाट सञ्चालित भाइबर र अरू कम्पनीबाट प्रदर्शनका लागि २० करोड रुपैयाँ आर्थिक सहयोग पाएको आरोप लगाइन् । यही कुरा इन्डिया टुडेको ओसिन्ट समूह र लल्लनटपले पनि प्रसारण गरेको छ ।
भारतीय टेलिभिजनले ‘डिप स्टेट’ को चलखेल भनेर आरोप मात्रै लगाएको छैन । नेपालमा हिन्दु राष्ट्र र राजतन्त्रको माग भएको भन्दै गलत रूपमा पनि देखाइएको छ । सइद सुहैलले नेपालका मानिस राजतन्त्र चाहन्छन् भन्दै फेरि हिन्दु राष्ट्र बनाउने माग गरेको भन्दै एनडीटीभीमा गलत रूपमा पोट्रेट गरे । त्यस्तै आजतककी अञ्जनाले पनि नेपालीहरू प्रजातन्त्रबाट निराश भएका भन्दै हिन्दु राष्ट्र र राजतन्त्रको फिर्ती चाहेको बताइन् । तर जेन–जीको प्रदर्शनमा यस्तो खालको कुनै पनि माग भएका थिएनन् ।
भारतका सबै सञ्चारमाध्यमले यसरी लेखेका भने छैनन् । द वायर, द हिन्दु, हिन्दुस्तान टाइम्स, न्युजलन्ड्रीलगायतका केही वैकल्पिक सञ्चारमाध्यमहरूले भने टेलिभिजनभन्दा विपरीत रहेर लेखेका छन् । द वायर, द हिन्दु, हिन्दुस्तान टाइम्सले यो आन्दोलनलाई नेपाली युवाले अनियमितता, भ्रष्टाचार र बेथितिविरुद्धको आक्रोशका रूपमा चित्रण गरेको छ । त्यस्तै टेलिभिजन एंकरहरूको आलोचना गर्दै न्युजलन्ड्रीले घटना नै तोडमोड गरेर गलत शैलीमा प्रस्तुत गरेकामा कटाक्ष गरेको छ । यसरी हेर्दा भारतीय सञ्चारमाध्यममा दुईखाले रिपोर्टिङ भइरहेका छन् । एकातर्फ ‘डिप स्टेट’ को षड्यन्त्र भनिरहेको छ भने अर्कोले युवाको आक्रोशका रूपमा देखाइरहेको छ ।
यसरी हेर्दा पश्चिमा सञ्चारमाध्यमहरूले यसलाई भ्रष्टाचार, बेरोजगारी र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्धको युवा आक्रोशपूर्ण विद्रोहका रूपमा हेरेका छन् । अर्कोतर्फ, भारतीय सञ्चारमाध्यमहरूको ठूलो हिस्सा (विशेषगरी टेलिभिजन च्यानलहरू) ले यस आन्दोलनलाई ‘डिप स्टेट’ को षड्यन्त्र, बाह्य शक्तिहरूको चलखेल र भूराजनीतिक दाउपेचका रूपमा चित्रण गरेका छन् ।
यद्यपि, भारतकै केही वैकल्पिक सञ्चारमाध्यमहरूले भने पश्चिमा मिडियाहरूसँग मिल्दोजुल्दो विश्लेषण प्रस्तुत गर्दै नेपाली युवाको भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक आक्रोशका रूपमा व्याख्या गरेका छन् ।
Source : Kantipur

No comments:

Post a Comment