पार्किङ्गस्थलमैं गाडी पार्किङ्ग हुदैनन्
महोत्तरी समाचारदाता
जलेश्वर, पुस १ गते । एकताका जनकपुर अञ्चलकै सदरमुकाम रहेपनि अहिले महोत्तरी जिल्ला सदरमुकाममा सिमिटन पुगेका जलेश्वर नगरपालिकामा एउटा पनि व्यवस्थित पार्किङ्ग नहुँदा यातायात गुडाउन सकस हुने गरेको छ ।
व्यवस्थित पार्किङ्गस्थल अभावमा सडकमैं यातायातका साधनहरु राखिएपनि निर्वाधरुपमा अरु यातायात गुडाउन सकस हुने गरेको जलेश्वरका युवा लक्ष्मीकुमार साहले जानकारी दिनुभयो ।
उहाँले जलेश्वरमा सुरक्षित रुपले साइकल राख्ने ठाउँ पनि नरहेको बताउनुहुदै सबैभन्दा बढी मान्छेको आवतजावत हुने ठाउँमा व्यवस्थित पार्किङ्ग सुविधा राखिनुपर्ने माँग गर्नुभयो ।
जलेश्वर नगरपालिकाले भने रंगशालाको उत्तरपट्टीको पर्खालसंगै जोडिएको पसलहरुलाई हटाएर ‘नगरपालिकाद्वारा सञ्चालित निःशुल्क पार्किङ्ग’ लेखेर राखेका छन् तर त्यहाँ एउटा पनि यातायातका सवारीहरु पार्किङ्ग गरेको भेटिदैनन् । नगरपालिकाकाले व्यवस्थित पार्किङ्गको लागि पहल नगरेको कारण पनि त्यहाँ सवारीसाधनहरु नराखिएको स्थानीयहरुले बताए ।
तर, जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत सुजितकुमार कर्णले हामीले पार्किङ्गको पहल स्वरुप नै यहाँबाट पसलहरु हटाएर पार्किङ्गस्थल बनाएको बताउनुहुदैं यातायात चलाउनेहरुले नै यहाँ नराखि सडकमैं जहाँ पायो त्यही पार्किङ्ग गरिरहेकोले समस्या देखिएको बताउनुभयो ।
जलेश्वरमा सबभन्दा बढी महेन्द्रचोकदेखि शंकर चोक जाने बाटोमा, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, शिक्षा कार्यालय लगायतका कार्यालयहरुमा जथाभावी सडक नै ढाक्ने गरी पार्किङ्ग गरिएको हुन्छ ।
जलेश्वर ट्राफिक कार्यालयका प्रमुख रामकुमार यादवले ति सडकहरुमा यातायात सहज बनाउन आफुहरुलाई हम्मेहम्मे पर्ने गरेको बताउनुहुदैं अधिकतरले सडकमै पार्किङ्ग गर्छन्, मान्छेको भीड हुने सडक पार्किङ्ग गरिएका गाडीले भरिएपछि यस्तो समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जलेश्वरमा सडक नै पार्किङ्गस्थल बनेको छ ।’ व्यवस्थित पार्किङ्गको व्यवस्था जलेश्वरमा जरुरी भएको उहाँको जिकिर थियो ।
सडक पेटिमा पसल, साँघुरा र जिर्ण सडक, सडकमैं नालाको पानी, सार्वजनिक शौचालय अभावको कारण जथाभावी फोहोर तथा अव्यवस्थित पार्किङ्ग नै अहिले जलेश्वरको चिनारी भएको व्यंग्य गर्नुहुदै युवा गजेन्द्र गुप्ताले पुरानो सदरमुकाम भन्दै हामी गर्व गछौं तर विकासको नाउँमा भने सबभन्दा पछाडी रहेको बताउनुभयो ।
उहाँले दलिय नेताहरु भागवण्डामा लिप्त तथा जलेश्वर नगरपालिकाले काम नगरेपछिको अवस्थाको हाल जलेश्वरले भोगिरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पुरानो भएपनि अहिले पनि नगरपालिकाको लागि चाहिने आवश्यक पूर्वाधारहरु जलेश्वरमा छैन ।’
तर, नयाँ अधिकृतका रुपमा आउनुभएका कर्णले आफु स्थानीय भएकै नाताले पनि ममाथि जिम्मेवारी बढी भएको बताउनुहुदै सडकमै त्यसै छाडिने चौपाया गाईवस्तु नियन्त्रण र पार्किङ्ग व्यवस्थापनको कार्यलाई प्राथमिकताका साथ गर्न लागिपरेको बताउनुभयो ।
उहाँले जलेश्वरमा सबभन्दा बढी वाणिज्य बैंकअगाडि पार्किङ्गको समस्या हुने गरेका कारण बैंकको बायाँपट्टि रहेको मीनाबजारलाई अन्यत्र सारेर सोही ठाउँमा व्यवस्थित पार्किङ्ग थलो बनाउने सोचमा रहेको बताउनुभयो । तर, सो कार्य हुन केही समय लाग्ने उनले बताए ।
ति सडकहरुको वैकल्पिक व्यवस्था नहुँदा पनि समस्या ज्यूँका त्यूँ रहेको देखिएको छ । वैकल्पिक उपायको प्रबन्ध नगरि गरिने कार्य हचुवाको भरमा मात्रै हुने युवाका क्षेत्रमा सक्रिय अकवर अंसारीले बताउनुभयो । उहाँले नगरपालिकाले रंगशालाको अगाडी पार्किङ्गको व्यवस्था गरेपनि त्यहाँ कुनै व्यवस्था नगरेको कारणले उपयोग हुन नसकेको बताउनुभयो ।