नगरपालिकाको करोडौंको घरवहाल तथा जग्गाकर उठाउन बाँकी

महोत्तरी समाचारदाता जलेश्वर, मङ्सिर १८ गते । जलेश्वर नगरपालिकाले सदरमुकामका विभिन्न सरकारी कार्यालय, तथा संघसंस्थाहरुसंग घरवहाल तथा जग्गा कर उठाउन बाँकी रहेको छ । जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत सुजितकुमार कर्णले विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाहरुले जग्गा तथा घरवहाल करको करोडौं रकम तिर्न बाँकी रहेको बताउनुभयो । उहाँले यो भन्दा अगाडीका अधिकृतहरुले प्रयास गरेपनि सफल हुन नसकेको बताउनुहुदै आफुले ति रकम उठाएर जलेश्वरको विकास गर्न लागिपरेको जानकारी दिनुभयो । नगरपालिका क्षेत्र भित्र घर, सरकारी कार्यालय वा संस्थाहरुले दुई प्रतिशत कर तिर्नेुपर्ने सरकारी प्रावधान रहेपनि हाल सम्म राष्ट्रिय वाणिज्य बैंक जलेश्वरशाखा बाहेक कसैले सो कर नतिरेको कार्यकारी अधिकृत कर्णको भनाई थियो । करिब २ महिना पहिलेनै नगरपालिकाले सबै कार्यालयहरुलाई सो करको रकम बुझाईदिन पत्राचार गरिसकेपनि हाल सम्म कसैले सो नबुझाएको बताउनुहुदै अधिकृत कर्णले नगरपालिकाले सो रकम उठाउन सके नगरको विकाश निर्माणमा ठुलो योगदान हुन सक्ने तर्क राख्नुभयो । उहाँले भन्नुभयो, ‘जलेश्वरको विकासको लागि जसरी भए पनि आफुले ति रकम उठाई छाडछु’ । सबै सरकारी कार्यालयहरु तथा संघसंस्थाहरुले विं.सं. २०३९ सालदेखि नै अहिलेसम्मको घरवहाल तथा जग्गा वहालकर तिर्न बाँकी रहेको छ । त्यसैगरी जिल्लामै जलेश्वर नगरपालिकासंग मात्र रहेको बारुणयन्त्रको सेवावाप्त पनि गाउँ विकास समितिहरुले वार्षिक पाँचहजार रकम वुझाउने निर्णय गरिएपनि अहिलेसम्म कुनै पनि गाविसले रकम दिएका छैनन् । नगरपालिकालाई प्रत्येक गाविसले वारुणयन्त्रको सेवा वाप्त रकम दिने जिल्ला परिषदको निर्णय रहेपनि सो रकम कसैले नदिएको बताउनुहुदै अधिकृत कर्णले नगरपालिकाको काम मात्र खोजिने तर कर तिरि आफ्नो जिम्मेवारी पुरा नगरिदिनाले नगरपालिकाले विभिन्न समस्या बेहोर्नु परिरहेको गुनासो गर्नुभयो । नगरपालिकामा सेवा उपयोग गर्न दवाव दिने तर सहयोग गर्ने परिपाटी नहुँदा नगरपालिकाले अपेक्षा गरेअनुरुपको काम गर्न नसकेको अधिकृत कर्णले स्विकार्नु भयो । उहाँले भन्नुभयो, ‘म काम गर्न आएको हुँ सबैले मलाई सहयोग गर्ने हो भने म काम गरेर देखाइदिन्छु’ ।