मेवा खेतीबाटै युवाले गर्दैछन् लाखौं आम्दानी

महोत्तरी समाचारदाता जलेश्वर, मङ्सिर २७ गते । महोत्तरी जिल्लाको माइस्थानका एक युवा मेवा खेतीबाटै लाखौं रुपैया कमाईरहँदा सो क्षेत्रका वासिन्दाहरु पनि यसको सिको गर्न थालेका छन् । माईस्थान–३ का २५ बर्षिय सन्दीप मण्डलले कम लगानीमा मेवा खेती गरि मज्जाले आम्दानी लिन थालेपछि सो क्षेत्रका कृषकहरु पनि यसतर्फ विस्तारै विस्तारै आकर्षित हुन थालेको जनाइएको छ । मण्डलले पुना शिलेक्सन ३ र पुसा डिलिसियस जातिका मेवा आफ्नै १० विग्हा जमिनमा गरिरहनुभएको छ । अहिले ति जातीका मेवाहरु खेतमा लटरम्म फलेका छन् । सानो सानो आकारको हुने र मनग्ये फल्ने भएपछि यसक्षेत्रका अरु कृषकहरु पनि यसतर्फ आकर्षित भएको उहाँले वताउनुभयो । स्थानिय उच्च माविबाटै बि.बि.एस द्वितीय बर्षसम्म शिक्षा हासिल गर्नुभएको मण्डलले खेतमा ६÷६ फिटको दुरीमा मेवाको बोट रोप्नुभएको छ । एउटा बोटले प्रति सिजन ५० किलोका दरले मेवा दिने गरेको छ । प्रति विग्हा २ हजारका दरले मेवाको बोट लगाइएको खेतमा ३० प्रतिशत भाले जातका विरुवाहरु रहेको मण्डलले जानकारी दिनुभयो । प्रत्येक चार चार महिनामा गरि एक बर्षमा ३ पल्ट मेवा फल्ने सो बोटमा एक बर्षको तीन सिजनमा एउटा मेवाको बोटले डेढ क्वीन्टलभन्दा बढी उत्पादन दिने गरेको र यसको कारणले लाखौंको आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । उर्वर मलिलो माटो भएकाले थोरै मिहिनेतबाट नै बढी मेवा फलाउन थालेपछि स्थानीयहरु अन्य खेती भन्दा यसतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट सजिलै सात जनाको भरणपोषण हुनुका साथसाथै स्वदेशमैं बसेर अलिकति मेहनतले पनि धेरै कमाउन सकिने उदाहरण युवा मण्डल बनेका छन् । उनको यो मिहिनेतले परिवारजन मात्रै होइन गाउँले पनि खुशी रहेको मण्डलका वुवा गंगारामले जानकारी दिनुभयो । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र बर्दिवास भन्दा २ किलोमिटर पश्चिम तथा पूर्वपश्चिम राजमार्ग भन्दा एक किलोमिटर उत्तरको दुरीमा मण्डलको मेवा खेती रहेको छ । उनले मेवा काठमाण्डौ, पोखरा, नेपालगन्ज, विराटनगर, इटहरी सहित विभिन्न शहरी क्षेत्रमा विक्रीको लागि पु¥याउने गरेका छन् । गोलभेडा, परवलको मुख्य खेति रहेको माइस्थान गाविसमा कृषकहरु मण्डलको सिको गर्दै मेवा खेती शुरु गरिरहेको माइस्थानका निवत्र्तमान गाविस अध्यक्ष रामबहादुर रानाले बताउनुभयो । उहाँले मेवा खेतीका लागि सरकारले अनुदान एवं ऋण उपलब्ध गराउन सके कृषकहरुले कम लगानीमा बढी आम्दानी गर्न सक्ने यसप्रति झन कृषकहरु आकर्षित हुने बताउनुभयो ।