मुसहर र चमार बस्तीमा न्यानो लुगा वितरण

मुसहर र चमार बस्तीमा न्यानो लुगा वितरण महोत्तरी समाचारदाता जलेश्वर, मङ्सिर २८ गते । महोत्तरीमा बढदै गएको शितलहरको कारणले दलितवस्तीकाहरुमा अप्ठयारो परिरहेको बेला जिल्लाको परिकौलीस्थित नेपाली सेनाको शेरगणले लुगा वितरण गरेका छन् । महोत्तरीको जलेश्वर नगरपालिकास्थित धबौलीको मुसहर र चमार बस्तीमा न्यानो लुगा वितरण गरिएको हो । शितलहर शुरु भए लगत्तै नेपाली सेनाले विभिन्न ठाउँबाट संकलन गरिएका लुगाहरु वितरण गरेपछि सो बस्तीमा खुशीयाली छाएको छ । काठमाण्डौस्थित उज्जवल तारा मन्टेश्वरी विद्यालयका विद्यार्थीहरुले आफूले प्रयोग गरेका लुगाहरु प्रधानाध्यापक गायत्री कार्कीमार्फत सेनालाई उपलब्ध गराइएको थियो । त्यस्तै काठमाण्डौमै रहेका बित्तिय क्षेत्र तथा सेनामा कार्यरतहरुले महिला तथा पुरुषले प्रयोग गर्न मिल्ने लुगा सहयोगमा पठाएको गणपति बिष्णु बहादुर कार्कीले बताउनुभयो । मुसहर र चमारबस्तीका सय बालबालिकासहित ४३२ जनालाई न्यानो लुगा वितरण गरिएको हो । गणपति कार्कीले शितलहरबाट बच्नका काठमाण्डौसहितको ठाउँबाट संकलित २८ बोरा कपडा आवश्यकता अनुसार बितरण गरिने जानकारी दिनुभयो । यसैबीच दैविक प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिपक काँफ्लेले शितलहरबाट जिल्लाबासीलाई वचाउन विभिन्न निर्णयहरु गरिएको बताउनुभएको छ । उहाँले आइतवार नै बैठकबसी शितलहरमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा लगायतका कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिनुभयो ।