शैक्षिक बेथितीलाई सुधार्न निर्देशन, सामुदायिक अध्ययन केन्द्रको दुरुपयोग

शैक्षिक बेथितीलाई सुधार्न निर्देशन, सामुदायिक अध्ययन केन्द्रको दुरुपयोग महोत्तरी समाचारदाता जलेश्वर, मङ्सिर २९ गते । महोत्तरी जिल्लाको शैक्षिक बेथितीलाई सुधार्न जिल्ला शिक्षा कार्यालय महोत्तरीले ५५ बुंदे निर्देशन विद्यालयहरुमा पठाएको छ । शिक्षा अधिकारी अरबिन्द लाल कर्णसहितको टोलीले जिल्लाको सामुदायिक विद्यालयहरुको निरीक्षण गर्दा अधिकांशमा भद्रगोलको स्थिति देखिएपछि यस्तो निर्देशन पठाइएको हो । जेष्ठ महिनाको १५ गतेभित्रै पठाउनुपर्ने फ्लास पहिलो नपठाएको, बिना स्विकृती शिक्षकहरु आफ््नो इच्छा अनुसार बिदामा बसेको, सामुदायिक अध्ययन केन्द्र एवं विद्यालय ब्यबस्थापन समितिमा शिक्षक एवं राजनैतिक दलका सदस्यहरु भएको, ब्यबस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गर्न आलटाल भइरहेको, पठनपाठनमा समस्या देखिएको लगायतका समस्याहरु देखिएपछि शिक्षा कार्यालयले निर्देशन नै जारी गर्नुपरेको शिक्षा अधिकारी अरबिन्द लाल कर्णले बताउनुभयो । उहाँले जिल्लामा संचालित ४४ सामुदायिक अध्ययन केन्द्रहरुले उद्देश्य विपरित काम नै नगरी रकम दुरुपयोग बढेको जानकारी दिनुहुदै यसलाई रोक्न पनि आफु लागिपरेको बताउनुभयो । हरेक वर्ष शिक्षा कार्यालयले केन्द्रलाई अनुदान स्वरुप ५० हजार रकम दिने गरिएपनि त्यसको कुनै काम नै नभई दुरुपयोग बढेको पाइएपछि कार्यालयले बैठक बसाएको थियो । सो बैठकको क्रममा केन्द्रको उदासिनता झन बढी देखिएको जिशिअ कर्णले बताउनुभयो । उहाँले केन्द्रको अध्यक्षमा शिक्षकहरु, व्यवस्थापन समितिका पदाधिकारीहरु नै बढी भएको पाइएपछि उनीहरुलाई तत्कालै राजिनामा गर्न निर्देशन दिएको जानकारी समेत दिनुभयो । तर, सामुदायिक अध्ययन केन्द्रका संचालकहरुले सो आरोपलाई ठाडै अस्विकार गरेका छन् । जलेश्वरमा संचालित एक सामुदायिक अध्ययन केन्द्रका संचालकले नाम नलेख्ने शर्तमा भन्नुभयो, ‘हाम्रो केन्द्रको उद्देश्य त शिक्षा कार्यालयकै कारणले पुरा नभएको हो ।’ संचालकले समुदायको सशक्तिकरणको लागि, वचत तथा ऋण तालिम शिक्षा कार्यालयबाटै सामुदायिक अध्ययन केन्द्रका समूहहरुलाई दिनुपर्नेमा त्यसो नभएपछि केन्द्रको उद्देश्य कसरी पूर्ति हुन्छ प्रश्न समेत गर्नुभयो । संचालकले केन्द्रको लागि शिक्षा कार्यालयले टेनिङ्ग दिनुपर्ने र वचत तथा ऋणको लागि सिड मनि दिनुपर्नेमा त्यसको केही नदिएको स्पष्ट गर्नुहुदै यसको दुरुपयोग शिक्षाकै कर्मचारीहरुबाट भएको दावी गर्नुभयो । शिक्षाकै एक कर्मचारीले अरुको नाउँमा कमिशन खाने लोभमा त्यस्तो कार्य गरिरहेको आरोप लगाउनुहुदै संचालकले शिक्षा अधिकारीलाई यसको छानविन गरी कारवाही गर्न आग्रह गर्नुभयो ।