भारतीय सिमा सुरक्षा बलले कुटे नेपाली
भारतीय सिमा सुरक्षा बलले कुटे नेपाली
महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर २६ गते । महोत्तरीको मटिहानीस्थित दशगजामा भारतीय सिमा सुरक्षा बलका सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गरेर आधा दर्जन महिला तथा युवाहरुलाई कुटपिट गरेका छन् ।
भारतीय एसएसबीका महिला जवानको शरीरमा मोटरसाइकल छोएको बिषयलाई लिएर नेपालमै प्रवेश गरेर भारतीय एसएसबीले कुटपिट गरेको हो ।
भारतीय मधवापुरका संजय पुर्वे आफ्नो भारतीय नम्बरकै मोटरसाइकल चढी नेपाल प्रवेश गरिरहेको क्रममा भारतीय एसएसबीकै महिला जवानलाई छुन पुगेका थिए । सोही क्रममा भनाभन पश्चात उनीहरुले कुटपिट गर्न थालेपछि पुर्वे नेपाल तर्फ भागेका थिए । भारतीय एसएसबीले उनलाई पछ्याउदै नेपालको मटिहानीमै प्रवेश गरी पुर्वे सहित आधा दर्जनलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरि राइफलको कुनाले देखिने जत्ति सबैलाई कुटपिट गरेका थिए । नेपाल तर्फ भागेर आएका पुर्वेसँगै मटिहानीका राजेश मण्डल, उर्मिला देवी, मझौरा विशनपुरका राजुप्रसाद गुप्ता, मटिहानीका राकेश यादव, गणेश चौधरी र शिवा साहलाई कुटपिट गरिएको हो । राजेश र उर्मिलाको टाउकोमा, गुप्ताको खुटटा तथा राकेश, गणेश र शिवाको हातमा चोट लागेको जनाइएको छ । उनीहरुको उपचारस्थानीय स्तरमैं भइरहेको छ ।
दशगजामा जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा सशस्त्र सिमा सुरक्षा कार्यालयबाट सुरक्षाकर्मी परिचालन गरिएपछि मटिहानीको अबस्था समान्य भएको प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले जानकारी दिनुभयो । उहाँले भारतीय एसएसबीले गल्ती भएको स्विकार गरेपछि स्थिती सामान्य बनेको जनाइएको छ ।