शवयात्रापछि अन्त्येष्टी गरियो, १२ घण्टा कफ्र्यु खुला, एकिकृत माओवादीको केन्द्रीय सदस्यबाट राजिनामा

शवयात्रापछि अन्त्येष्टी गरियो, १२ घण्टा कफ्र्यु खुला, एकिकृत माओवादीको केन्द्रीय सदस्यबाट राजिनामा
महोत्तरी समाचारदाता
जलेश्वर, भदौं २९ गते । संयुक्त मधेशी मोर्चाले आव्हान गरेको आन्दोलनको क्रममा महोत्तरीमा मृत्यु भएका ६ जनाको मंगलबार शवयात्रा पछि पैतृक गाउँमा अन्त्येष्टी गरिएको छ ।
जिल्ला अस्पताल जलेश्वरबाट निस्केको शवयात्रा नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सो शवयात्रामा मधेशवादीदलका केन्द्रीय अध्यक्ष सहित नेता, कार्यकर्ता तथा हजारौंको संख्यामा जिल्लाबासीको सहभागिता रहेको थियो ।
शवयात्रामा सहभागी नेताहरु

सदभावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतो, नेपाल सदभावना पार्टीका केन्द्रीय अध्यक्ष अनिलकुमार झा, तराई मधेश सदभावना पार्टीका केन्द्रीय अध्यक्ष महेन्द्रप्रसाद राय, नेपाल सदभावना पार्टीका सभासद डिम्पल झा, महोत्तरी क्षेत्रनं. ४ का स्वतन्त्र सभासद चन्देश्वर झा, एकिकृत माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्मा लगायतका नेताहरुले श्रद्धाञ्जली दिनुभएको थिए ।
नगर परिक्रमा पश्चात उनीहरुको जन्मस्थानमा अन्त्येष्टीको लागि लगिएको र गाउँमै अन्त्येष्टी गरिएको जनाईएको छ । आन्दोलनको क्रममा भदौ २३ गते वुधबार जलेश्वरमा महोत्तरी ५ का रामविवेक यादव, जलेश्वर नगरपालिका वडानं. ७ बजराहीका रोहन चौधरी र जलेश्वर नगरपालिका १४ बखरीका मुसवा भनिने अमित कापरको सुरक्षाकर्मीको गोलीलागि मृत्यु भएको थियो । त्यसैगरी भदौ २५ गते शुक्रबार सुरक्षाकर्मीकै गोली लागि रोहनका हजुरवुवा गणेश चौधरी, हात्तिलेटकी रामशिला ठाकुर तथा वुधबार नै घाइते भई काठमाण्डौमा उपचार गराईरहेका पिगौनाका विरेन्द्र विच्छाको समेत मृत्यु भएको थियो ।
बिहान ११ बजे नै शवयात्रा निकाल्ने भनिएपनि शवहरु गन्हाउन थालेका कारण शवगृहबाट निकाल्न समस्या भएकोले ढिलो भएको थियो । जिल्ला अस्पताल जलेश्वरबाट जिरोमाईल, वुद्धिजीव चोक, खैरा चोक, साहुजीपट्टी हुदै नगरपालिका चोकसम्म शवयात्रा गरिएको थियो । त्यसपछि अन्त्येष्टीको लागि आ–आफ्नो पैतृक गाउँ लगिएको थियो । शवयात्राको क्रममा घरको अगाडीमा कसैले चिसो पानी त कसैले फुल दिएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
शहिदहरुलाई श्रद्धाञ्जली दिन शवयात्रामा सहभागी भएकाहरु

शहिदहरुलाई श्रद्धाञ्जली दिन शवयात्रामा सहभागी भएकाहरु

शहिदहरुलाई श्रद्धाञ्जली दिन शवयात्रामा सहभागी भएकाहरु

शहिदहरुलाई श्रद्धाञ्जली दिन शवयात्रामा सहभागी भएकाहरु

जिल्ला प्रशासन कार्यालय महोत्तरीले शवयात्राको क्रममा शवयात्राको लागि छुट्टयाइएको बाटोमा भने कफ्र्यु हटाएको थियो । मंगलबार दिनभरीमा एक घण्टा मात्रै कफ्र्यु लगाइएको थियो । विहान ६ बजेदेखि साढे ९ बजेसम्म तथा साढे ११ बजेदेखि साँझ ७ बजेसम्मको लागि कफ्र्यु खुला गरिएको प्रमुख जिल्ला अधिकारी दिपक काँफ्लेले जानकारी दिनुभयो ।
उहाँले दक्षिणमा महेन्द्रचोकदेखि खैरा चोकसम्म, पुर्वमा महेन्द्रचोकदेखि लचमुमावि स्कुलसम्म, पश्चिममा महेन्द्रचोक देखि मिनाबाजारसम्म तथा उत्तरमा जिल्ला प्रहरी कार्यालयदेखि अस्पताल जानेबाटोको ५सय मिटरसम्मको कफ्र्युलाई यथावत राखिएको जानकारी समेत दिनुभयो । शवयात्राको क्रममा कफ्र्यु लागेको क्षेत्रमा प्रवेश निषेध गर्न काँडेतार लगाइएको थियो ।
श्रद्धाञ्जलीको क्रममा आउनुभएका केन्द्रीय अध्यक्षहरुले पत्रकारहरुसंगको कुराकानीमा आफुहरु वार्ता विरोधी नभएपनि सरकारले वार्ताको वातावरण नबनाएको आरोप लगाउनुभएको थियो । उहाँहरुले अब छिट्टै मोर्चाको बैठक बसेर आगामी रणनीति तय गर्ने वताउनुहुदै आन्दोलनको कार्यक्रमलाई भने यथावत राखिएको जानकारी दिनुभयो ।
शहिदहरुप्रति फुल अपैण गदै महिलाहरु

शवयात्रामा सहभागी भएकाहरुलाई पानी दिदै स्थानीय

पत्रकारहरुसंगको कुराकानीमा नेताहरुले संविधान आफुहरुले वहिष्कार गरिसकेको बताउनुहुदै अब आर र पारको लडाई हुने चेतावनी दिनुभएको थियो ।
त्यस्तै केन्द्रीय अध्यक्ष अनिलकुमार झा र महेन्द्रप्रसाद रायले अब कसैले रोकेर पनि मधेश आन्दोलन नरोकिने चेतावनी दिनुहुदै मोर्चाको बैठकबाट अबको रणनीति तय गरिने जानकारी दिनुभयो ।
यसैबीच, एकिकृत माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीको केन्द्रीय सदस्यबाट राजिनामा दिनुभएको छ ।
शवयात्रा पश्चात बखरीमा आयोजित पत्रकारसम्मेलनमा उहाँले आजैको मितिबाट राजिनामा दिएको घोषणा गर्नुहुदै मधेशको अधिकार नमिलेसम्म आफु आन्दोलनमा लाग्ने वचनवद्धता प्रकट गर्नुभयो ।