मधेश केन्द्रित दल वादीदलका शिर्षस्थ नेताहरुले जलेश्वरमा गरे सम्बोधन
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ १० गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मधेशवादीदलका शिर्षस्थ नेताहरुले बिहीबार साँझ सम्बोधन गर्नुभएको छ ।
संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, तराई मधेश समाजवादी पार्टीका अध्यक्ष महेन्द्रकुमार यादवले सम्बोधन गर्नुभएको थियो ।
जलेश्वरको दुर्गा चोकमा भएको सम्बोधनको क्रममा मधेशका शिर्षस्थ नेताहरुले विगतमा सरकारले मधेशवादीदलहरुसंग गरेको सम्झौता पुरा नभएसम्म वार्तामा नजाने अडान राख्नुभएको थियो । त्यसैगरी नेताहरुले मधेशका जिल्लाहरुमा गरिएको सेना परिचालन प्रति आपत्ति जनाउनुहुदै सेना परिचालन फिर्ता गर्नुपर्ने माँग समेत राखेका थिए ।
सम्बोधनको क्रममा संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक पद्धतिबाट भइरहेको अधिकार प्राप्तीको लागि यो आन्दोलन माँग पुरा नभएसम्म जारी रहने बताउनुहुदै यो आन्दोलनले मधेशलाई अधिकारसम्पन्न बनाउने दावी गर्नुभयो ।
वर्तमान सरकारले रोजगार, विकास र अधिकारबाट मधेशलाई बन्चित राखेको वताउनुहुदै उहाँले यी आन्दोलनले सबै अधिकारलाई संस्थागत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले मधेशीलाई रोजगार, विकास र अधिकारबाट बन्चित राखेकोले आन्दोलन गर्नुपरेको छ र यो आन्दोलनले अधिकारलाई संस्थागत गर्ने छ ।’
राजा लगायत अन्य आन्दोलनहरुमा पनि अहिलेसम्म जनताको विरोधमा सेनाको परिचालन नगरेको वताउनुहुदै उहाँले तत्काल सेना परिचालन फिर्ता लिनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले तराईमा भइरहेको घटना सुनियोजित भएको आरोप लगाउनुहुदै सरकारले तत्कालै यी घटना रोक्नुपर्ने वताउनुभयो ।
उहाँले विगतमा प्राप्त भएको अधिकारलाई पनि खोस्ने प्रयास भइरहेको वताउनुहुदै अब मरेर पनि आन्दोलनलाई संस्थागत गरेर जाने वताउनुभयो ।
त्यस्तै तराई मधेश सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्रकुमार यादवले अहिलेको आन्दोलनलाई उचाईमा पु¥याउन जनतालाई अपिल गर्नुहुदै अबको आन्दोलन निर्णायक आन्दोलन हुने वताउनुभयो ।
कार्यक्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि सेना परिचालन फिर्ता लिनुपर्ने वताउनुहुदै विगतका सम्झौता कार्यान्वयन नभएसम्म सरकारसंग वार्ता नगर्ने वताउनुभएको थियो ।
मधेशवादीदलका शिर्षस्थ नेताहरु सम्बोधन पश्चात आ–आफ्नो पार्टी कार्यालयमा गएर कार्यकर्ताहरुलाई आन्दोलनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो भने बिहीबारै महोत्तरीको गौशालामा पनि सम्बोधन गर्ने जनाइएको छ ।