अपहरित बालकको हत्या, चार पक्राउ, विद्यालय तीन दिन बन्द

अपहरित बालकको हत्या, चार पक्राउ, विद्यालय तीन दिन बन्द

जलेश्वर, ५ माघ । विगत चार दिनदेखि हराएका जलेश्वर नगरपालिका वडानं. १२ मलिवाराका नविनकुमार पाण्डेयका ११ वर्षिय छोरा क्यूट भन्ने निश्चलकुमार पाण्डेयको हत्या गरेको अभियोगमा चारजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको छ । पुस ३० गते बिहीबार साँझबाट नै अपहरणमा भनिएका निश्चलको शव आईतबार राति ११ बजे जलेश्वरनगरपालिका वडानं. १३ धवौली नजिकै रातो खोलाको किनारमा रहेको खरघारीमा गाडीएको अवस्थामा फेला परेको हो ।

अपहरण गरेको आशंकाको आधारमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा उनीहरुकै भनाईको आधारमा प्रहरीले गाडीएको अवस्थामा शव वरामद गरेको हो । निश्चलको हत्याको आरोपमा प्रहरीले जलेश्वरनगरपालिका वडानं. १ बस्ने वर्ष २७ को पप्पु यादव, वडानं. ६ बस्ने वर्ष २० का गोबिन्दकुमार मिश्र, वडानं. १२ मलिवाडा बस्ने वर्ष २७ को सरोज पाण्डे तथा सोही वडा बस्ने वर्ष ३१ को संजीव मिश्रलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक जनक भट्टराईले पक्राउ परेका चारैजनाले अपराध स्विकार गरिसकेको जानकारी दिँदै घटनामा संलग्न मुख्य व्यक्ति अहिले पनि फरार रहेको बताए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले बिहीबार साँझ नै प्रहरीलाई अपहरण गरिएको सूचनाको आधारमा गरिएको अनुसन्धानमा पक्राउ गरेकोहरुबाटै शव वरामद गरिएको जानकारी दिए ।

निश्चल जलेश्वर स्थित अल्हेव्स स्कुलको कक्षा ४ मा अध्ययनरत थिए । उनी सो दिन विद्यालय सकेर घर गएका थिए र घरबाट खाजा खाएर निस्केका उनी पुनः घर फर्किन सकेनन् । यसैबीच उनी पढने विद्यालय अल्हेब्सले विद्यार्थीको हत्या भएको विरोधमा तिन दिनको लागि विद्यालय बन्द गर्ने घोषणा गरेको छ । विद्यालयका फाउण्डर लवराजा सिंहले विद्यार्थीको हत्यामा संलग्नहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने भन्नुहुदै शोकमा सोमबार, मंगलबार र वुधबार गरी तिनदिनको लागि विद्यालय बन्द गरिएको जानकारी दिए ।
त्यसैगरी प्यावसन महोत्तरीले पनि विद्यार्थीहरुको अपहरण पश्चात हत्या भएको विरोधमा वुधबार महोत्तरीका प्यावसन सम्बद्ध विद्यालयहरु बन्द गरिने घोषणा गरेको छ ।
- See more at: http://www.madheshvani.com/details/10725/madhesh-update#sthash.k6AGYwUe.dpuf