- महोत्तरी समाचारदाता
जलेश्वर, माघ ६ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडानं. १२ मलिवाराका ११ वर्षिय बालक क्यूट भनिने निश्चलकुमार पाण्डेलाई अपहरण गरी हत्या गरिएको विरोधमा जलेश्वरका युवाहरुले मुखमा पट्टी बाँधेर मैनबत्ती बाल्दै श्रद्धाञ्जली कार्यक्रम गरेका छन् ।
सदरमुकाम जलेश्वरको दुर्गाचोकमा सयौंको संख्यामा स्वस्पूर्mत रुपमा सहभागी भएका युवाहरु तथा वुद्धिजीवीहरुले महोत्तरीमा श्रृखलावद्ध रुपमा बालबालिकाहरुलाई अपहरण गरी हत्या गर्ने क्रम चलेको विरोध गदैं यस्तो गरेको हो ।
मानवअधिकार रक्षक सञ्जाल महोत्तरीका सचिव रञ्जन भण्डारीले ‘या त चुप लाग, या त बोल’ सन्देश दिन मुखमा पट्टी बाँधेर दुर्गाचोकमा महोत्तरीका दुई बालकको अपहरणपश्चात हत्या गरेको विरोध र शोकमा श्रद्धाञ्जली दिइएको वताउनुभयो ।
भण्डारीले भन्नुभयो, ‘दुईटा बालकको अपहरण पश्चात हत्या भएपनि कुनै पनि सरोकारबालाहरुले नबोलेपछि बाध्य भएर युवाहरुलाई अगाडी आउनु परेको छ ।’ अब युवाहरुले यस्तो खालका कार्यक्रमहरुलाई निरन्तरता दिदैं दोषीलाई कडा भन्दा कडा कारवाही गर्न तथा यस्ता खाले घटना रोक्न दवाव श्रृजना गर्ने उहाँको कथन थियो ।
पुस ३० गते बिहीबार साँझ भिठामोडस्थित बुवाको पसलबाट घर जान हिडेका जलेश्वरनगरपालिका वडानं. १२ मलिवाराका नविनकुमार पाण्डेयका ११ वर्षिय छोरा क्यूट भनिने निश्चलकुमार पाण्डेलाई अपहरण गरेर सोही राति हत्या गरिएको थियो ।
निश्चलको हत्याको आरोपमा प्रहरीले जलेश्वर नगरपालिका वडानं. १ बस्ने वर्ष २७ को पप्पु यादव, वडानं. ६ बस्ने वर्ष २० का गोबिन्दकुमार मिश्र, वडानं. १२ मलिवाडा बस्ने वर्ष २७ को सरोज पाण्डे तथा सोही वडा बस्ने वर्ष ३१ को संजीव मिश्रलाई पक्राउ गरेको थियो । उनीहरुकै वयानको आधारमा निश्चलको शव आईतबार राति ११ बजे जलेश्वर नगरपालिका वडानं. १३ धवौली नजिकै रातो खोलाको किनारमा रहेको खरघारीमा गाडीएको अवस्थामा वरामद गरेको थियो ।
यो घटनाको एकहप्ता अगाडी मात्रै जिल्लाको भटौलिया गाविस वडानं. ८ बस्ने रवीन्द्र महासेठका ८ वर्षिय छोरा जेनिस भनिने चिरञ्जीवी महासेठलाई पनि अपहरण पश्चात हत्या गरिएको थियो ।
महोत्तरीमा बालकको अपहरण र हत्या गर्ने क्रमबढेपछि त्रास बढदै गएको छ । अभिभावकहरुले बालकहरुलाई जथाभावी नजान, नचिनेको व्यक्तिसंग नजान तथा घरमै रहन सल्लाह दिने गरेको जलेश्वरका युवा विजय रायले बताउनुभयो । उहाँले यस्तोमा युवाहरुले घटनालाई रोक्न सम्बन्धित निकायलाई दवाव श्रृजना गर्नुपर्ने कारणले युवाहरु अगाडी आएको बताउनुभयो ।
उहाँले चुप्प लागेर बस्नु भन्दा युवाहरुलाई अगाडी आउनुपर्ने आवश्यकतामा जोड दिनुहुदै निरन्तर दवाव कार्यक्रम गर्नुपर्ने आवश्यकतालाई औंल्याउनुभयो ।
उहाँले मधेश आन्दोलनको बाँछिटाले यस्तो कार्यलाई अगाडी बढाएको देखिएकोले मोर्चाका नेताहरुले पनि यी घटनाहरुलाई रोक्नको लागि दवाव दिनुपर्ने वताउनुहुदै दोषीलाई कारवाही गरी कडा कारवाही गर्नुपर्ने वताउनुभयो ।
यसैबीच प्यावसन र एनप्यावसनले विद्यार्थी हत्याको विरोधमा वुधबार एकदिनको लागि सम्पूर्ण निजी विद्यालय बन्द गरेको छ ।