हत्याको अभियोगमा तिनजना पक्राउ

महोत्तरी समाचारदाता
जलेश्वर, पुस २९ गते । महोत्तरी जिल्लाको भटौलिया वडानं. २ बस्ने एक बालकलाई अपहरण गरी हत्याको अभियोगमा पक्राउ परेका मध्ये तिनजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गदै सार्वजनिक गरेको छ ।
भटौलिया वडानं. २ बस्ने रबिन्द्र महासेठका ८ वर्षिय छोरा जेनिस भन्ने चिरञ्जीवी महासेठलाई २६ गते साँझ अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका वडानं. ३ बस्ने वर्ष १९ को अनिशकुमार साह, वडानं. २ बस्ने वर्ष २१ को सुधिरकुमार साह तथा वडानं. १ बस्ने वर्ष १८ का सावीर अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले यही २६ गते आईतबार साँझ अपहरणमा परेका जेनिसको बारेमा २७ गते मात्रै थाहा भएपछि प्रहरी निरिक्षकको कमाण्डमा खोजतलाश गर्दा उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
पक्राउ गरेकाहरुको सुचनाको आधारमा बालकको शव एकडाराबेला वडानं. ७ स्थित रुपनारायण साहको गहुँ खेतबाट गाडेको अवस्थामा वरामद गरेको जानकारी दिनुहुदै उनीहरुलाई शरिर बन्धक तथा कर्तव्य ज्यानमा मुद्दा चलाउने पहल भइरहेको बताउनुभयो ।
बालकलाई अपहरण गरी फिरौती लिने प्रयास स्वरुप त्यसो गरिएको जानकारी दिनुहुदै प्रहरी उपरिक्षक भट्टराईले तिनैजनाले अपराध स्विकार गरिसकेको बताउनुभयो । अपहरण गरेकै राति बालकको मुख, नाक थुनेर हत्या गरेको उनीहरुले स्विकार गरेको जनाइएको छ ।
पत्रकार सम्मेलन पश्चात जिल्ला प्रहरी कार्यालय भित्रै भेटिनुभएका मृतकका बुबा रबिन्द्र महासेठले गाउँमा हुने झण्डा मेलामा आर्केष्ट्रा ल्याउने विषयलाई लिएर भएको विवादमा छोराको हत्या गरिएको बताउनुभयो । झण्डा निर्माण समितिका संयोजक समेत रहनुभएका रबिन्द्र महासेठलाई आरोपित केटाहरुले आर्केष्ट्रा ल्याउने दवाव दिएको तर समितिले नमानेपछि बालकको हत्या गरिएको बताउनुभयो ।
महासेठको एकमात्र छोराको हत्या भएपछि गाउँ नै शोकमा डुबेका छन् । राहत शिक्षकको रुपमा काम गर्दै आउनुभएका महासेठका छोरा जेनिस गाउँमै रहेको अमर ज्ञान बोडिँग स्कुलको एलकेजीमा अध्ययनरत थिँए ।