मेरो देश “सिंगापुर” नबने पनि “सिरिया”चाहिँ नबनोस् !

मेरो देश “सिंगापुर” नबने पनि “सिरिया”चाहिँ नबनोस् !

मेरो देश “सिंगापुर” नबने पनि “सिरिया”चाहिँ नबनोस् !

देशसँगै मधेश जलिरहँदा म कसरी निदाउन सक्छु र ?
जताततै कालो बादलले घेरिरहेको वेला, अँध्यारोले संसारै आफ्नो ढाकेको वेला पनि आशाको सानो दियो बलेकै छ । त्यसैले आफ्नो मनको भाव कोर्दैछु ।
हुन त मैले यति धेरै संसार त हेरेको पनि छैन । आफ्नो जीवन भोगाइको ३७ वसन्त पार गरिरहँदा केही सहज त केही असहज, केही तिता केही मिठा, केही खुसी केही दुःखका अनुभूति आफूसँग रहेको यथार्थ मेरोसामु छ ।
सायद यो ३७ वर्षको कालखण्डमा ममा शारीरिक र मानसिक परिवर्तन त भयो नै, देशमा आएको बहुआयमिक परिवर्तनसँग मेरो पनि उत्तिकै साक्षात्कार भयो, अन्य समकालीनहरुको जस्तै ।
आफूमा चेतनाको विकाससँगै नयाँ नयाँ विचार उत्पन्न र सोचको निर्माण हुँदै गयो । त्यसैले ११ कक्षा अध्ययन गर्दा नै आफूमा सामाजिक परिवर्तनसँगै राजनीतिक क्षेत्रमा लगाव बढ्दै गयो । फलस्वरुप सामाजिक अभियन्ता हुने कामसँगै स्ववियु निर्वाचनमा एक राजनीतिक विद्याथी संगठनको तर्फबाट उम्मेद्वार बनि निर्वाचित पनि भएँ । सायद मेरो अनुभूतिमा यो मेरो जीवनको पहिलो खुसीको क्षण हो । त्यही खुसीका कारण त्यस रात निद्रा नै लागेन । विद्याथीहरुको मतका कारण स्ववियुको नेता जो भएको थिएँ । विजयी घोषणा लगत्तै अबिर मालाका साथ घरमा पुग्दा बुबा ज्यादै खुसी हुनुभयो र मप्रति गौरवान्वित हुनुभयो । त्यस दिनपछि ममा राजनीतिप्रति निकै लगाव बढ्दै गयो ।
माई (आमा)हरुको काख उजाडिरहँदा र दिदीबहिनीहरुको सिउँदो मेटिरहदाँ राज्यको आँखा किन नरसाएको होला ? के हामी यति संवेदनहीन भइसक्यौं कि हामीलाई आफ्नै शरीरको भाग काटिँदा दुख्नै पो छाडेको हो ?
दुई वर्षको विद्यार्थी राजनीति कालमा पदीय दायित्व पूरा गरें र मतदाताप्रति जवाफदेही भएर काम पनि गरे ।
हो, यसरी नै म २०५४ सालदेखि इमान्दारिता, नैतिकता र आशावादलाई आफ्नो जीवनको सिद्धान्त बनाई कर्मक्षेत्रमा लागेको छु । यसरी लागेको पनि १८ बसन्त पार भइसकेको रहेछ । यस कालखण्डमा तीन वटा राजनीतिक परिवर्तनलाई अनुभूत गरेको छु । विभिन्न कालखण्डमा भएका छन् विद्रोह, जनयुद्ध, जनआन्दोलन, जाति जनजाति समुदाय केन्द्रित आन्दोलन एवम् लोकसंघर्ष । यिनको परिणामस्वरुप देशमा क्रमशः स्थापना र परिवर्तन हुँदै गयो, राजतन्त्रबाट प्रजातन्त्र, प्रजातन्त्रबाट लोकतन्त्र अनि लोकतन्त्रबाट संघीय गणतन्त्रात्मक राज्यव्यवस्था ।
साँच्चीकै गज्जबको कालखण्डमा मेरो जन्म भएछ । म कृतज्ञ छु आमाबुबाप्रति । उहाँहरुकै कारण नेपालको ऐतिहासिक कालखण्डको साक्षी बन्न पाएको छु ।
सायद यो जीवन अनुभूति मेरो मात्र नभई मेरा समकालीन हरेक नेपाली युवाको हुनुपर्दछ । यी सबै कुरा सम्झीराख्दा मेरो मनमा अनेकन प्रश्न उठेका छन्, के ती यति ठूलठूला ऐतिहासिक राजनीतिक परिवर्तन यति सानो कालखण्डमा हुनु समयको माग थियो ? के ती परिवर्तनप्रति हामी आम नागरिक तयार थियौं ? के ती परिवर्तनले आम नेपालीको जनजीविकामा केही फेरबदल गरे ? नेतृत्वकर्ताहरुको नेतृत्वशैलीसँगै सोच, व्यवहार र दृष्टिकोण पनि समय र राजनीतिक परिवेश सँगसँगै परिवर्तन हुँदै गए त ?
यस्तै प्रश्नको लर्को मनमा केही दिनयता थपिँदैछ । यी प्रश्न आफैमा कति जायज वा नाजायज छन्, यसको छिनोफानो गर्ने जिम्मेवारी यहाँहरुको । मात्र मलाई यति थाहा छ, यी प्रश्न मेरो मनमस्तिकमा आएका विचारको लहरले उभ्याएका मात्रै हुन् ।
२०७२ साल नेपालको इतिहासमा यादगार एउटा वर्ष भयो । चाहे त्यो महाविनाशकारी भूकम्पका कारण हजारौं नेपालीले आफन्त गुमाएको र लाखौं परिवार घरवारविहिन भएको कारणले होस्, चाहे १७ हजार नेपालीको ज्यान जानेगरी भएको दशवर्षे जनयुद्धको आधारशिलामा आएको नेपाली जनप्रतिनिधीद्वारा हस्ताक्षरित नेपालको संविधान २०७२ जारी भएको कारणले होस् वा प्रथम महिला राष्ट्रपति भएको कारणले होस्, चाहे पाँच महिनाभन्दा लामो समयसम्म भएको मधेश आन्दोलन र करिब पचासभन्दा बेसी मधेसी समुदायका नेपाली र सुरक्षाकर्मीले सहादत प्राप्त गर्नु परेकोे कारणले होस् । चाहे महिनौंदेखि भएको नाकाबन्दीका कारण तराई–मधेस, पहाड अनि हिमालको सकसपूर्ण जीवनका कारणले होस् । यस वर्षले हामीलाई इतिहासमा धेरै सम्झना हुने लायकका परिघटना दिएको छ, जुन पनि दिने क्रम जारी नै छ । 
मेरो चाहना कति मात्र हो भने मेरो देश “सिंगापुर” नबने पनि, “सिरिया” चाहिँ नबनोस् । ममा यति विराट ‘परिवर्तन’को साक्षी बन्ने हिम्मत र हैसियत छैन, सरकार ! अब “गेम ओभर” गर्न ढिला नगरौं, सबै सरोकारवाला पक्ष संवेदनशील बनौं र समाधानका लागि हातेमालो गरी जुटौं ।
हामी आम नागरिकका लागि धेरै कुरा हामीबाट प्रकृति वा नेतृत्वकर्ताले लिएको वर्षको रुपमा यादगार रहने छ, यो वर्ष २०७२ । यही वर्ष आम नागरिकको अमनचयन लुटिएको, सुरक्षाको अनुभूति शून्य भएको, मानवअधिकार खोसिएको र अभावै अभावबाट ग्रस्त जनजीवन भोग्नुपरेको छ । यी सबले अरुलाई कति छोयो या छोएन, तर मजस्ता आम नागरिकलाई यसले भक्कानो फुट्ने गरी रुवाए । संवेदना हराएको, मानवता गुमाएको अनि मन बौलाएको तथा देशमा अस्तव्यस्त व्यवस्था भइरहेको वेला मजस्ता आम नागरिक कसरी पो निदाउन सक्छ र ?
यस्ता प्रश्न फेरि पनि मेरो मनमा उब्जिएका छन्ः कसका कारण यी सब भइरहेको छ, देशमा, देशको मधेसमा ? जिम्मेवारी कसले पो लिने हो ? यस्तै हिँडाईले हाम्रो गन्तव्य कहाँ पो हुने हो ? म आफू यसको लागि कत्तिको भागीदार छु ? यी सबका कारण दामासाहीले मेरो भागमा आउने परिणाम कति पर्ने हो ? तराई मधेसमा भइरहेको मानवीय र भौतिक क्षतिको जवाफदेही कसले पो लि दिने हो ? अधिकार प्राप्तिको मधेस–थरुहट तथा अन्य समुदायको आन्दोलनका माग कसले पो पूरा गरिदिने हो ? घोषित वा अघोषित नाकाबन्दीका कारण मानव संकटको जिम्मेवारी कसले पो लिइदिने ?
यी सबै परिवेशमा गरिखाने मानिसहरुले कसरी गरी खान पाउने होला ? समान अधिकार र सम्मान पाउन आन्दोलनमा होमिएका समुदायहरुले हामी नेपाली भनी गर्व गर्न पाउने दिन पो कहिले आउने ? माई (आमा)हरुको काख उजाडिरहँदा र दिदीबहिनीहरुको सिउँदो मेटिरहदाँ राज्यको आँखा किन नरसाएको होला ? के हामी यति संवेदनहीन भइसक्यौं कि हामीलाई आफ्नै शरीरको भाग काटिँदा दुख्नै पो छाडेको हो ? हामी बसेकै घरमा अर्का एक कोठामा आगो लागिरहँदा आफू अर्का कोठामा सुरक्षित रहेको भन्दै रमाइरहन हामीलाई कुन स्वार्थले साथ दिइरहेको होला ? यस्तो विषम परिस्थितिमा हामीले मानवतालाई बिर्सिदिने हो भने हामीसँग आफ्नो भन्ने केही बाँकी नरहला कि ?
यी र यस्तै अनेकन प्रश्न उब्जिएका छन् म र मजस्तै आम नागरिकको मनमा । जवाफ पो कसले दिने ? जवाफ दिन जवाफदेही पो कसले लिने ?
यो कस्तो द्वन्द्व र द्विविधामा हामी फस्दै गएका छौ ? सामाजिक संजालमा वाकयुद्वको शंखनाद भएको निकै भयो । वाकयुद्धमा वर्षाइएका कुरा व्यवहारमा हुने त होइन ? त्यसले हामीलाई कतै दीर्घकालीन द्वन्द्वमा त फँसाउदै छैन ? यस्ता प्रश्न उठ्नासाथ मनमा कहाली लागेर आउँछ ।
अरुले के भने, के लेखे, हेक्का हामीलाई भोलि होला नहोला, तर जिम्मेवार ओहोदामा भएका नेतृत्व र मानवताको पाठ वर्षौदेखि पढाउँदै आएका व्यक्तित्वहरुको भनाइले भने प्रभाव पार्दछन् नै । उनीहरुका भनाइ र लेखाइ गैरजिम्मेवारीपूर्ण ढंगले सामाजिक संजालमा आउँदा, नरम÷निर्दोष ओठले सार्वजनिक कार्यक्रममा तिक्ततापूर्ण वचन बोलिदिँदा आम नेपालीको मनमा चिरा पर्दै गएको छ । असमझदारी बढ्दै गएको छ, शंकाउपशंका थपिँदै गएका छन् । तिनले मलाई निकै दुखाएका छन्, घाउ लगाएका छन् । सायद यहाँहरुलाई पनि दुखाएकै हुनुपर्दछ । Sunil-Sah
समस्या समाधानका लागि हामीले एकले अर्काप्रतिको हेर्ने नजरियामा परिवर्तन ल्याउन जरुरी छ, सोचमा परिवर्तन ल्याउन आवश्यक छ, हामीले एकअर्काप्रति गरिने व्यवहारमा पनि सकारात्मक परिवर्तन हुनु जरुरी छ । थाहा छैन, मलाई यी सब कुरा लेख्न मलाई अनुमति छ वा छैन, मात्र केही दिनयताको आफ्ना अनुभूति यी शव्दमार्फत साट्ने प्रयास गरेको छु ।
मेरो चाहना कति मात्र हो भने मेरो देश “सिंगापुर” नबने पनि, “सिरिया” चाहिँ नबनोस् । ममा यति विराट ‘परिवर्तन’को साक्षी बन्ने हिम्मत र हैसियत छैन, सरकार ! अब “गेम ओभर” गर्न ढिला नगरौं, सबै सरोकारवाला पक्ष संवेदनशील बनौं र समाधानका लागि हातेमालो गरी जुटौं । नत्र आआफ्नो अडान र हठ नत्याग्ने हो भने हामी आम नागरिकको हित त हुँदै हुँदैन, यहाँहरुको सत्ताको जग पनि नभासिएला भन्न सकिन्न । एकआपसमा बाचचितलाई निरन्तरता दिनोस्, मुख फुलाएर बस्नुभयो भने बात मार्नेहरु टाढा गएपछि आवाज दिएर बोलाउनु भए पनि आवाज त्यहाँसम्म नपुग्न सक्छ ।
रिसानी माफ होस्, मेरो देशसँगै मधेस जलिरहँदा म एक आम नागरिक कसरी पो निदाउन सक्छु र ?
लहान, सिरहा