माघ ५ को सहीदलाई सलाम

माघ ५ को सहीदलाई सलाम

अधिवक्ता दिपेन्द्र झा 


नेपालको इतिहासमा माघ ५ सदा सर्वदा गरिमा र सम्मानले सम्झिने दिन हो। स्कुले युवा रमेश महतोले आजैको दिन माओवादीले यात्रा गरिरहेको बसलाई लहान चौकमा रोकेका थिए। उनको त्यो कार्य नेपालको एकात्मक संरचना, जसले सबैभन्दा बढी मधेसीलाई पिरोलेको थियो, त्यसलाई  भत्काउने प्रयासको प्रतीक थियो। यद्यपि माओवादीले रमेश महतोलाई गोली हानी हत्या गरे तर मधेसीलाई अधिकार दिलाउनका लागि रमेश महतोले दिएको शहादत, उनले देखाएको त्यो अदम्य साहस र हिम्मतले  अधिकार प्राप्तीको आन्दोलनलाई अघि बढायो। उनको योगदान स्वर्णिम अक्षरले लेखिनेछ।
महतोको शहादतले उर्जा दिएको त्यही पहिलो मधेस आन्दोलनले अन्ततः नेपालमा संघीयताको प्रत्याभूति गरेको थियो। यस कारण संघीयताको प्रत्याभूतिमा रमेश महतो र अन्य दर्जनौं शहीदको योगदान अविस्मरणीय रहनेछ। आन्दोलनका लागि उठेको त्यो  पहिलो पाइला अझै पनि निरन्तर छ, अहिले लाखौँ मधेसीले त्यो पाइला पछ्याएका छन्।
‍महतोको शहादत पछिका आठ बर्षमा मधेसले  तीन पटक आन्दोलन गर्‍यो र झण्डै एक सय जनाले शहादत प्राप्त गरे। तेस्रो पटकको यो मधेस आन्दोलनले देशकै अनुहार फेरेको छ, किनभने यसले नेपालको राष्ट्रियतालाई पुनः परिभाषित गरेको छ । राज्यको संरचनामा टोपी, घोती, सारीलगायतका  सबै समुदायले लगाउने पोशाक भेटिन थालेका छन्।
संघीयता, समानुपातिक प्रतिनिधित्व  र समावेशी निर्वाचन प्रणालीमा सबै मधेस आन्दोलनका देन हुन्। जसले गर्दा देशको शासन र प्रशासन फेरिने क्रममा छ। अहिले यसको पूर्ण आभाष नभए पनि १० वर्षपछि यसको संरचनामा व्यापक परिवर्तन आउने छ। सम्पूर्ण संरचनाहरु समावेशी भएपछि  हेर्नुहोला, सिंहदरबार, सरकारी कार्यालय अहिलेको भन्दा बलियो र दिगो हुनेछन्, तिनले जनतालाई दिने सेवा झन प्रभावकारी हुनेछ।
नेपालमा लोकतन्त्रको जस काँग्रेसलाई, गणतन्त्रको जस एमाओवादीलाई र संघीयता, समानुपातिक सहितको राज्य पुर्नसंरचनाको जस मधेस आन्दोलनलाई जान्छ। त्यसकारण सम्पूर्ण देश नै मधेसका ती एकसय शहिदप्रति अनुग्रहित हुनुपर्दछ। हो, पुरातनवादी ‘माइन्डसेट’ र संकुचित राष्ट्रवादी परिभाषाको प्रभाव अझै कायम रहेकोले यी सब कराहरुलाई स्थापित गर्नका लागि अझ केही समय लाग्ला। तर असम्भव छैन, किनभने अब पुरानै कायम रहन सम्भव छैन। एकल जातीय र समुदायगत वकालत गर्नेहरु गल्न थालेका छन्। ६ वटा प्रदेशमा एकल जातीय वर्चस्व राख्न खोज्नेको बोली मधुरो हुन थालेको छ।
पाँच महिनादेखि मधेस लगातार सत्याग्रहको मुडमा छ। मधेसका आन्दोलनकारीका आँखा गगाँजलले छर्केर डालोमा राखेको कागजको सहमति भन्दा पनि भावनामाथि भएको प्रहार मूल बिषय बनेको छ। मधेसीको भावनामाथि जुन प्रहार भएको छ, बर्षौ लाग्न सक्छ, यो भावानात्मक दूरीको पीडा हटाउन।
संविधान निर्माण प्रक्रियामा १६ बुँदे सहमति र फास्ट ट्रयाक प्रक्रिया गलत थियो यद्धपि काठमाडौंका बुद्धिजिवीहरुले यो कुरा अलि ढिलो बुझे जस्तो लाग्छ। वातावरणको प्रभाव पनि होला, चारैतिर डाँडाकाँडा रहेकोले उपत्यकामा खुल्ला हावा लिन समय लिन्छ। नत मधेसको जनतामा कुनै भ्रम छ, नत पहाडका जनतामा छ। सानो सुविधाभोगी जमातमा जो काठमाडौंको पानी खाएपछि शक्तिशाली र ज्ञानी भएको आफुलाई ठान्छ, त्यसले मधेस आन्दोलनबारे भ्रम पालेको छ। उसको विचारमा यो जनताको आन्दोलन होइन, यो त केवल त्यहाँका जमिन्दारहरुको आन्दोलन हो ।
एमाओवादी मधेसको मुद्दामा केहि उदार देखएको थियो। मधेसी दलसँग मिलेर आन्दोलन पनि गरेको हो। तर अहिले उसले  अहिले एमालेसामु, जुन समर्पण गरेको छ त्यसको एउटै कारण के छ। एमालेको सहयोगबिना द्वन्द्वकालको मुद्दा मिलाउन सकिदैन भन्ने छ, किनभने मानवअधिकारको एकल विर्ताको लालपुर्जा ओलीजीको खल्तीमा छ।
बलमिच्यााइँ गरेर प्रक्रियाको नाउँमा संविधानसभा नियामावली विपरीत संविधानमा आफ्नो अभिमत राख्न पाउने जनताको अधिकारको समेत उल्लंघन हुने गरी फास्ट ट्रयाक विधिबाट संविधान ल्याउने कुरा अलोकतान्त्रिक थियो भने कुरा विस्तारै स्थापित हुँदै गएको छ । संविधानको बुँदामा जनतालाई छलफलको लागि पर्याप्त समय दिनु आवश्यक थियो।
मधेशी मोर्चालाई संविधान निर्माणको प्रकृयाबाट बाहिर राखिनु हुँदैन थियो। संविधानसभा नियमावली संशोधन गर्नु भुल थियो। अभिलेख तथा निक्र्यौल समिति तथा राजनीतिक, संवैधानिक संवाद तथा सहमति समितिले सहमति गरी पठाएका संविधानका विषयलाई जस्ताको त्यस्तै मस्यौदामा राखिनु पर्दै थियो। खेलको नियम बिचमा परिर्वतन हुनु हुँदैन थियो।
यही विषय हामीले तात्कालीन समयमा उठाएका थियौं। तर यी विषय हामीले उठाँउदा देशप्रतिको हाम्रो वफादारितामा शंका गरियो।  जनताले समान हक अधिकार प्राप्त गरेनन भने सत्ताविरुद्धको विद्रोहको अधिकार जनताको नैसर्गिक अधिकार हो । यो अधिकार विभिन्न मुलुकका जनताले प्रयोग गरिसकेका छन् । संविधानमा छलछामको भाषा प्रयोग गरेर  शक्तिको भरमा केहि समयसम्म थोपर्न सकिन्छ, सँधैको लागि संविधानलाई सर्वस्वीकार्य बनाउन सकिदैन।
अहिले सरकार र मधेसी मोर्चाबिच हुने सहमतिको पूर्वाधार मधेस आन्दोलनले निर्माण गरेको हो। मधेसी मोर्चा यति ‘उदार’ भएर आएको बेलामा जसरी शब्द शब्दमा किचलो झिकेर केही नेताले वार्ता लम्बयाउन खोजिरहेका छन्, त्यो कसैको लागि पनि हितकर छैन । फेरि एउटा कुरा के बुझ्न आवश्यक छ भने मधेशी मोर्चाले मधेशका जनताका माझ लिएर जान नसक्ने सहमतिमा भाषागत जालको भरमा हस्ताक्षर गराउने बँठ्याईँ कसैले गर्न खोजेको हो भने त्यो देशको लागि समेत हितकर हुँदैन। पाँच महिना देखि आन्दोलन गरेका जनतालाई जितको आभाष हुन आवश्यक छ।
त्यसै पनि अहिले गरिने ५ वा ६ बुँदे सहमतिले मधेसको भावनाको चोटलाई भुलाउन सक्दैन। आगोले पोलेपछि पानीमा हामफाल्दा एकछिन चिसो त हुन्छ, तर पोलेको घाउ चाहिँ निको हुँदैन । त्यस्तै अहिलेको सहमतिले पोलेको मान्छेलाई एकछिन राहत त देला, र पाँच महिने आन्दोलनले परेको आहतमा राहत होला, तर घाउ चाहिँ निको हुनेछैन। दीर्घकालमा घाउ निको हुन्छ कि हुन्न भन्ने मधेसीप्रति गरिने बोली र व्यवहारले देखाउने छ। राज्यको संरचनाहरुमा संविधानको आत्मा र मधेसीसँग गरिएको सहमतिबमोजिम परिवर्तन हुन्छ कि हुदैन भन्ने कुराले सुनिश्चित गर्छ ।
अहिले काठमाडौंको बजारबाट मधेसमा जाने र प्रतिवेदनमा मधेसमा आहत परेको भन्ने कुरा ल्याउनु आफैमा सकारात्मक कुरा हो। ‘अब पछतावन काव होत, जब चिडिया चुक गई खेत।’
१६ बुँदेको आधारमा मधेसीलाई बाइपास गरेर फास्ट ट्रयाकबाट संविधान ल्याइएको प्रक्रिया त्रूटिपूर्ण थियो भन्ने अनुभूति  अहिले भएर के हुन्छ ? यी प्रतिवेदनकर्ता अथवा विचार निर्माताहरुले त्यति बेलै यो कुराको आंकलन गरेको भए शायद देशले यति धेरै मानवीय क्षति, आर्थिक क्षति, मनोबैज्ञानिक क्षति, र सामाजिक क्षति खेप्नु पर्दैनथ्यो। खैर केही छैन, अहिले पनि ढिलो भएको छैन । भनाइ छ, ‘जब जागो तब सबेरा है।’
अब समानुपातिक समावेशी नीतिलाई  जालझेल होइन सफा नियतका साथ लागू गर्नुपर्छ र छिटोछिटो लागू गर्नुपर्छ। प्रदेशहरुलाई अधिकतम स्वायत्तता, मधेसीसँगको हरेक भेदभावको अन्त्य, र विकास एवं अवसरमा साझेदारी गर्न अब ढिलाई गर्नु हुन्न। नभए समतल भूमिमा अतिवादको डढेलो यति छिटो फैलिन्छ, कुनै बारूण यन्त्रसँग निभाउने ताकत हुन्न।
मधेसी जनताले संघीयताको लागि ठूलो त्याग गरेका छन्। देश जुन बेला गलत ट्रयाकमा जान खोज्छ, त्यति बेला मधेसले देशलाई सही बाटोमा फर्काउन आफ्नो ज्यानको आहुती दिनेगरेको छ । चाहे त्यो लोकतन्त्रको लागि होस्, चाहे संघीयता, समावेशीको लागि। स्व. कृष्णप्रसाद भट्टराईले कुनै बेला भारतमा मधेसी कायर हुन्छन् भनि बोलेको हामीले सुनेको अभिव्यक्ति शतप्रतिशत गलत प्रमाणित भएको छ। किनभने मधेस यो देशमा शहिद जन्माउने उर्बर थलो भएको छ। 
आज माघ ५ गते मधेस आन्दोलनको क्रममा मारिएका शहिदहरु राष्ट्रिय शहिद हुन भन्ने काठमाडौं र पहाडका कुना कुनाले मनन गर्न सक्नु पर्छ । ती शहिदहरु प्रतिको सम्मानले नेपाललाई नयाँ राष्ट्रियताको गोरेटोमा डोर्‍याउनेछ । ८ बर्ष निरन्तर रहेको मधेस आन्दोलनको उपलब्धि पनि त्यही नै हुनेछ।
झा सर्वोच्च अदालतमा अभ्यासरत छन्

प्रकाशित मिति: मंगलबार, माघ ५, २०७२ ११:५१:०७