महोत्तरी समाचारदाता
जलेश्वर, चैत २० गते । विगत ६ दिन देखि बन्द रहेका महोत्तरीका सरकारी कार्यालयहरु सोमबार देखि सुचारु हुने भएका छन् ।
महोत्तरीको जलेश्वरमा आइतबार बसेको सर्वदलिय बैठकले कर्मचारीहरुको माँगको सम्बोधन गरेपछि उनीहरुले सोमबार देखि कार्यालय सुचारु गर्ने निर्णय गरेको हो । कर्मचारी सम्बद्ध निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष जितेन्द्र प्रसाद सिंहले यथाशिघ्र दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, विशेष चनाखो भई सुरक्षाको प्रत्याभुति गर्ने लगायतका माँगहरु पुरा गर्ने प्रशासनले सहमति गरेपछि सोमबार देखि कार्यालय सुचारु गर्ने निर्णय भएको जानकारी दिनुभयो । गृहमन्त्रालयले सचिव पाण्डेलाई २ लाख उपचार खर्च दिने तथा स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभुति दिने जनाएपछि कर्मचारीहरुले कार्यालय बन्द फिर्ता लिएका हुन
सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने र घाइते सचिवलाई उपचार खर्च दिनुपर्ने लगायतका माँगहरु राख्दै महोत्तरीका कर्मचारीहरु विगत ६ दिनदेखि सरकारी कार्यालयहरु ठप्प पार्दे आएका थिए । सरकारी कार्यालयहरु ६ दिनदेखि ठप्प हुँदा सेवाग्राहीहरु मारमा पर्दे आएका थिए ।
गाविस सचिव हकहित संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष तथा बलवा गाविसका सचिव शिवराम पाण्डेमाथि चैत १४ गते सोमबार साँझ भएको गोली प्रहारको घटनाको विरुद्ध महोत्तरीका कर्मचारीहरु आन्दोलित रहँदै आएका थिए । सचिव पाण्डेलाई अनियमितताको आरोप लगाउँदै गोली प्रहार गरिएको थियो । गोली प्रहारको जिम्मा तराईमा सशस्त्र संघर्षरत तिनवटा समुहले लिएका थिए । सचिव पाण्डेलाई अखिल तराई मुक्ति मोर्चा गोइत समुह, जनतान्त्रिक तराई मुक्ति ज्वाला समुह र जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताहरुले आफुहरुले कारवाही गरेको भन्दै संचारकर्मीलाई जनाएका थिए ।
सोमबार साँझ सदरमुकाम जलेश्वरबाट काम सकि पिगौना–२ स्थित घर फर्किरहेका सचिव पाण्डे माथि सारी र पिगौनाको बिचमा रहेको बाटोमा गोली प्रहार गरिएको थियो । उनको गोली पेटमा लागेको थियो । अहिले उनको उपचार काठमाण्डौंमा भइरहेको छ ।
यता बन्द रहेका महोत्तरीका सरकारी कार्यालयहरु मध्ये आइतबार छैठों दिन जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कामकाज गरिए पछि कर्मचारी सम्बद्ध टे«ड युनियन माथि बन्द खोल्न दवाव परेपछि बन्द खोलिएको जानकारहरुको भनाई रहेको छ । जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले नाम नलेखि दिनु भन्दै कर्मचारी सम्बद्ध टे«ड युनियनले गरेको सम्झौताकै आधारमा खोलिएको जानकारी दिएका थिए । उनले गृह मन्त्रालयले उपचार खर्च २ लाख दिएपछि कर्मचारी सम्बद्ध टे«ड युनियनहरुले बन्द फिर्ता लिने जनाएका थिए । आइतबार जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ला हुलाक लगायतका कार्यालयहरु खुलेका थिए ।