एकदिन एउटा नयाँ विद्यार्थी कोलकाता स्टेसनमा रेलबाट ओर्लियो । उसको साथमा उसैले बोक्नसक्ने सानो झोला थियो । तर, ऊ त्यो झोला बोक्न कुल्लीलाई कराउन थाल्यो । त्यहीवेला एक सज्जन व्यक्ति उसको अगाडि आएर झोला उठाउँदै 'यो झोला कहाँ पुर्याउने भनेर सोधे ?'
महाविद्यालयमा पढ्न आएको त्यस विद्यार्थीले सानसँग आफ्नो महाविद्यालयको नाम बतायो । झोला बोकेर ती सज्जन कुल्ली फटाफट महाविद्यालयतिर लम्के । त्यो महाविद्यालय एकदम नजिक भएकाले पुग्न कतिबेर पनि लागेन । झोला राखिदिएर तपाईंले भनेको विद्यालय यही हो भनेर ती सज्जन फनक्क फर्किएर हिँड्न लाग्दा विद्यार्थीले उसलाई केही ज्याला दिन खोज्यो ।
झोला बोक्ने ती सज्जन कुल्लीले भने मलाई ज्याला या इनाम केही पनि चाहिँदैन । यदि मलाई ज्याला दिने नै हो भने, मैले भनेअनुसारको काम गर्ने बानी गर त्यही नै मेरा लागि इनाम र ज्याला दुवै हुन्छ । मानिसले सकेसम्म आफ्नो काम आफैँ गर्ने गर्यो भने स्वावलम्बी, निरोगी र सफल बन्दछ । यति भनेर ती व्यक्ति फटाफट हिँडे ।
भोलिपल्ट जब त्यो विद्यार्थी आफ्नो महाविद्यालयमा पुग्यो त्यसवेला प्रार्थनास्थलमा हिजोको कुल्ली -ईश्वरचन्द्र विद्यासागर) लाई प्राचार्यको आसनमा बसेको देख्दा कालो-नीलो भयो ।
जब प्रार्थना सकेर सबै विद्यार्थी आ-आफ्नो कक्षामा गए, तब त्यस विद्याथीले आफ्नो प्राचार्य विद्यासागरको खुट्टामा टाउको राखेर माफ माग्यो । विद्यासागरले सो विद्यार्थीलाई उठाउँदै सम्झाए, 'कुनै पनि कामलाई सानो नसम्झनु । आफ्नो काम आफैँ गर्दा कोही पनि सानो हुँदैन । हिजो तिमीले तिम्रो त्यो झोला आफैँ बोक्न नसक्ने थिएनौ । आफैँ बोकेर हिँड्दा के तिमी साना हुन्थ्यौ ? मैले बोकी दिएँ, खोई मलाई के भयो ? विद्यार्थी आत्मग्लानीले शिथिल हुँदै गुरुले दिएको ज्ञानलाई सधैँ व्यवहारमा उतार्ने प्रण गर्यो ।
धैर्य
लुथर किङ एक सार्वजनिक सभामा भाषण दिँदै थिए । एकजना प्रतिक्रियावादी श्रोताले उहाँलाई मञ्चनमा जुत्ताले हिर्काइ पठायो ।
यस घटनाले सभामा हलचल मच्चियो । सभाका आयोजकहरू लाजले रातो भए । तर, लुथर किङ अविचलित भई मञ्चमा उभिरह्यो । उहाँले सो जुत्तालाई बडो प्रेमपूर्वक उठाए र स्नेहपूर्वक मीठो वचनले भने, 'धन्य छ, त्यो देश, जहाँका मानिसलाई आफ्नो सेवकहरूको यस्तो ध्यान छ । मजस्तो पैदल हिँड्ने व्यक्तिलाई कुनै कृपालु सज्जनले बडो उदारताका साथ परिचय दिनुभएको छ । तर, खेद यस मानेमा छ कि, यो जुत्ता सिर्फ एउटा गोडाका लागि मात्र छ ।
केहीबेर रोकिएर उहाँ पुनः बोल्न थाल्नुभयो, 'कृपालु सज्जनसँग मेरो विनम्र अनुरोध छ कि, कृपया दोस्रो जुत्ता पनि मलाई दिनुहोस् । यसो गर्नुभएको खण्डमा म उहाँप्रति साँच्चिकै आभारी हुने थिएँ ।'
मार्टिन लुथर किङको मुखबाट यस्तो वचन सुनेपछि उपस्थित सबै श्रोताहरू स्तब्ध भए र मार्टिन लुथर किङको जयजयकारले सभास्थल गुञ्जायमान भयो । लुथर किङको अधरमा चिरपरिचित मुस्कान देखा पर्यो ।