महोत्तरी समाचारदाता
जलेश्वर, चैत २० गते । महोत्तरीका दुई शिक्षक संगठनहरु नेपाल शिक्षक युनियन महोत्तरीबाट आइतबार अलग भएका छन् ।
शिक्षक युनियन संग आवद्ध नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक मञ्च महोत्तरी युनियनबाट अलग भएको आइतबार आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो । विगत ६ महिना देखि युनियनमा आन्तरिक द्धन्द्ध बढदै गएको थियो । द्धन्द्ध बढदै गएपछि अन्ततः हामीले युनियनबाट अलग हुनुपर्ने घोषणा गर्नुपरेको आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष फुलबाबु झाले जानकारी दिनुभयो ।
राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष फुलबाबु झा र नेपाल शिक्षक मञ्चका अध्यक्ष दिनेश कुमार पाण्डेयले युनियनका वर्तमान अध्यक्ष विनोदानन्द झा लगायतका पदाधिकारीहरुले आफै मनोमानी ढंगबाट कार्य थालेपछि आफुहरुले युनियनबाट अलग भएको जानकारी दिनुभएको थियो । शिक्षक तथा शिक्षा क्षेत्रका समस्या समाधानमा आत्मसर्मपणवादी, एवं व्यक्तीवादी प्रवृति अपनाइकोले शिक्षकको गरिमामा ठेस पुगेको भन्दै आफुहरु युनियनको विभिन्न पदबाट राजीनामा दिदै युनियनबाट नै अलग भएको उनीहरुले जनाएका थिए ।
युनियनका वर्तमान पदाधिकारीले जिल्लामा स्विकृत दरबन्दि प्रावि १ हजार ५८ रहेकोमा आर्थिक लेनदेन गरि दरबन्दि भन्दा बढी ४४ शिक्षकलाई विभिन्न विद्यालयमा राख्न लगाएको र ३ सय राहत शिक्षक दरबन्दी रहेको जिल्लामा ३१ वटा राहत शिक्षक थप राखि आर्थिक अनिमियतता गरेको आरोप लगाइएको छ । सो कारणले दरबन्दिमा रहेका शिक्षकहरुलाई समेत समस्या भोग्नु परेको युनियनबाट राजीनामा दिएका संघ आवद्ध शिक्षक सुरेन्द्र पाण्डेयले बताउनु भयो ।
युनियनबाट निर्णय गराई जिल्ला शिक्षा कार्यालयमा काम गराउने परिपाटीलाई उल्लघंन गर्दै युनियनका पदाधिकारीहरुले जिल्ला शिक्षा कार्यालयबाट जाने विद्यालयहरुको बजेट ,भवन निर्माण तथा वितरणमा समेत आर्थिक लेनदेन गरि युनियनको मार्यादाको विपरित गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उनीहरु युनियनबाट अलग्गीएका हुन ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा नेपाल शिक्षक युनियन महोत्तरीको सम्पुर्ण निर्णयमा नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक मञ्चको समर्थन नहुने समेत जनाइएको छ ।