الخميس، 14 أبريل 2011



गाउँ वस्तीविहिन
महोत्तरी समाचारदाता
जलेश्वर, चैत २७ गते । घरमा पालिएका चौपायाहरु अहिले छाडा भई भोकप्यासले मर्न आँटेका छन् । घरमा पालिएका घरपालुवा कुकुरहरु पनि भुस्याहा भैसकेका छन् । कुनै मानिसलाई देख्ने वित्तिकै खान पाउने लोभमा चौपायाहरुको लर्को मानिस भएतिर लाग्छ । आफुलाई बचाउ नगर्ने हो भने कुकुरहरु नौलो मानिसलाई झम्टिन समेत थाल्छ । वस्तीका हरेक घरमा ताला लागेको छ । वस्ती भएपनि एउटा मानिसलाई खोज्न पनि पुरै वस्ती नै चहार्नुपर्छ । तर पनि स्थानीय मन्दिरमा रहेका एकवृद्धवृद्धा बाहेक अरु कोही पनि त्यहाँ भेटदैनन्् । अहिले महोत्तरी जिल्लाको सिंग्याही वडानं. ४ को अवस्था यस्तै रहेको छ । अहिले सो वडा मानव विहिन भई वस्ती खाली भएपछि चौपायाहरु र टोलको यस्तो अवस्था आएको हो ।
सामुहिक कुटपिट र लुटपाट हुन थालेपछि सो वडाका करिब ६० घर परिवार अहिले विस्थापित भई अन्यत्र वस्न बाध्य भएका छन् । सो वस्तीका करिब अढाई सय भन्दा बढी जना अहिले गाउँ भन्दा अन्यत्र आफन्त कहाँ शरण लिन वाध्य भएका हुन् । दिनभरी ३–४ जना महिलाहरु आएर बसे पनि साँझ परेपछि केही चौपाया, ३ वटा कुकुर र एकजोडी वृद्धवृद्धा बाहेक सो गाउँ नै सुनसान हुन्छ । स्थानीय गणेश मन्दिरमा बसोबास गर्दे आउनुभएका वृद्ध पुजारी वुद्धु दास बाँतरले राती पुरै गाउँ नै सुनसान हुने वताउनुहुदै आफुहरु जे पर्ला पर्ला भनेर बसेको वताए । मन्दिरमा उनीसंगै उनकी वृद्ध श्रीमती हुन्छिन् । पुजारी दासले यस मन्दिरमा पुजारीको रुपमा आफ्नो चारपुस्त नै वितेको जानकारी दिनुहुदै जे हुन्छ हुन्छ भनेर बसेको जानकारी दिनुभयो । उहाँले एक हप्ता देखि सो गाउँ सुनसान रहेको जानकारी दिनुहुदै प्रहरीले समेत गाउँलेलाई दुःख दिने भएपछि बस्ती खाली भएको दावी गर्नुभयो ।
शनिबार दिउँसो केही मानवअधिकारकर्मी र संचारकर्मीहरुको टोली सो गाउँमा पुग्दा तीन जना महिला र पुजारीद्धय मात्रै रहेका थिए । गाउँमा भेटिएका पानो देवीले शनिबार आफुलाई स्थानीय चौकीमा तारिखको लागि बोलाएकोले गाउँमा आएको जानकारी दिइन । उनले रातीमा एक परिवार पनि यहाँ नबस्ने वताउँदै आफु पनि राति आफन्त कहाँ जाने जानकारी दिइन । उनीसंग सोध्दा राति बसे इज्जत लुट्छ भन्ने सुनेकोले गाउँमा नबस्ने बताइन ।
चैत १३ गते राति स्थानीय सिंग्याही वडानं.६ बस्ने धर्मनाथ साहलाई वडानं. ४ का बाँतर समुदायले कुटपिट गरी हत्या गरेको भन्दै स्थानीय वडानं. ६ का केही व्यक्तिहरुले वडानं. ४मा सामुहिक कुटपिट र लुटपाट मच्चाएपछि सो बस्ती अहिले डरले विस्थापित भएका हुन् । वडानं. ४ बस्ने सुन्दरकलादेवी वाँतरसंग धर्मनाथको अवैध सम्बन्ध रहेको थियो । स्थानीयबासिहरुले सो कुरा वारम्वार थाहा पाएका थिए कसैले उनलाई समात्न सकेको थिएन तर चैत १३ गते राति साह सुन्दरकलाको घरमा आएपछि सो वडाका केही स्थानीयले साहलाई समातेर कुटपिट गर्दे हत्या गरेर फालेका थिए । त्यो हत्या भएको शव त्यसको भोलीपल्ट फेला परेपछि वडानं. ६ का स्थानीयबासीहरुले सो वाँतर वस्तीमा गएर लुटपाट मच्चाएका थिए । वाँतर बस्तीमा अहिले हरेक घरमा तालावन्दी गरिएको छ । उनीहरुको चौपायाहरु अहिले त्यसै छाडा बनेका हुन् । स्थानीय वडानं. ५ का पार्वती देवीले कतिपय गाईवस्तुहरु त्यसै मरिरहेको जानकारी दिइन्् । उनले अहिले दिनमा पनि यो टोलमा आउन डर लाग्ने जानकारी दिदै भनिन् ‘ पानी लेवऽ बालाके आ नहाईबालाके धारा सभपर भिड रहैछई, लेकिन अखैन सभ खाली छै’ । (धारामा पानी लिने, नुहाउनेहरुको भिड हुन्छ तर अहिले सबै खाली छ ।) उनले वडानं. ६का केही स्थानीयहरुले वडानं. ४ को वाँतरवस्तीको हरेक घरमा छापामारी गरी रेडियो, टिभी सेट, सिडी, धनसम्पत्ति, गरगहना लगायतका सामग्रीहरु समेत लुटिलगीसकेको जानकारी दिइन ।
सदरमुकाम जलेश्वरदेखि करिब ३० किलोमिटरको दुरीमा रहेको सो ठाउँको नजिकै लोहारपट्टी चौकी समेत रहे पनि प्रहरीकै डरले समेत कतिपय विस्थापित भएको पुजारीले वताए । उनले वडानं. ६ का स्थानीय यादव समुदाय तथा साह समुदायका मान्छेहरु धनिमानि भएकोले उनीसंगै प्रहरी मिलेको कारणले यस्तो भएको दावी समेत गरे ।
तिनदिन देखि प्रहरीले दुई जनालाई पक्राउ गरी सो गाउँमा सुरक्षा दिइरहे पनि डरका कारण स्थानीयबासिहरु अहिले गाउँमा फर्कन्न नमान्ने गरेको छ ।
अनुगमनमा जानुभएका मानवअधिकार संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष मदनकुमार झाले प्रशासनले चाँडै नै गाउँमा राजनीतिक सहमति गरि विस्थापितहरुलाई पुर्नस्थापित गर्नुपर्ने माँग गर्नुभयो । उहाँले अहिले सो गाउँमा पशुहरुको अवस्था समेत चिनताजनक भएकोले प्रशासनले चाँडै नै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

ليست هناك تعليقات:

إرسال تعليق