जिल्लाका १३ स्थानलाई प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

महोत्तरी समाचारदाता
जलेश्वर, चैत २३ गते । आम नागरिकको शान्ति सुरक्षामा खलल पुग्ने सम्भावनालाई दृष्टिगत गर्दे जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाको १३ स्थानका मुख्य चोक र बाजारलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले निषेधित क्षेत्रमा राति ९ बजे देखि होटल, रेष्टुरेण्ट, मदिरा पसल खुला राख्ने, मदिरा विक्रि वितरण गर्ने, अनावश्यक रुपमा भेला, जम्मा हुने कार्यहरु गर्नमा रोक समेत लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी तेजराज पौडेलले एक सुचना जारी गर्नुहुदै चैत २२ गते मंगलबारबाट नै लागु हुने गरी यस्तो निषेध आदेश जारी गर्नु भएको हो । प्रशासनले जलेश्वर नगरपालिका क्षेत्र, भिठामोड, मटिहानी, सम्सी, पिपरा, रामगोपालपुर, गौशाला, सरपल्लो, बखरी, मनरा, बलवा, औरही र कान्तिबाजारलार्इृ निषेधित स्थान घोषणा गर्दे यस्तो क्रियाक्लाप गर्न रोक लगाएको छ । प्रशासनले अपराधिक घटना बढन थालेको भन्दै रोक लगाएको सुचना जारी गर्दे जनाएको छ । प्रशासनले जलेश्वर नगरपालिका तथा जिल्ला भित्रका विभिन्न स्थानहरुमा होटल, रेष्टुरेण्ट, मदिरा वेचविखन गर्ने पसलहरु राति अबेर सम्म खुला रहने, संचालन हुने गरेको कारणबाट मानिसहरु जथाभावी जम्मा हुने, होहल्ला गर्ने, झै झगडा गरी आम नागरिकको शान्ति सुरक्षामा समेत खलल पुग्ने सम्भावनालाई दृष्टिगत गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को अधिकार प्रयोग गरी निषेध आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले जथाभावी झै झगडा भई अपराधिक घटना बढदै गएकोले त्यसमा रोक लगाउन दुई महिनाको लागि यस्तो निषेध आदेश जारी गर्नुपरेको जानकारी दिनुभयो । उहाँले निषेधित क्षेत्रमा राति ९ बजेदेखि बिहान ४ बजे सम्म अनावश्यक होहल्ला र अनावश्यक रुपमा भेला जम्मा हुने कार्य नगर्न सबैमा अनुरोध गर्नुभएको छ ।
ज्ञातव्य छ यो हप्तामा मात्रै महोत्तरीमा एकजनाको हत्या गरिएको छ भने एक जना माथि हत्याको प्रयास गरिएको छ ।
सिंग्याही–४ बस्ने मदिरा व्यवसायी धर्मनाथ साहको घाँटीमा डोरीले बाँधि हत्या गरिएको शव प्रहरीले चैत्र १४ गते सिंग्याही बाजारकै एउटा खेतमा फेला पारेको थियो भने चैत १४ गते साँझ सदरमुकाम जलेश्वरसंगै रहेको पिगौनामा गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष तथा बलवा गाविसका सचिव शिवराम पाण्डेलाई गोली प्रहारी गरिएको थियो ।
यसैबिच उद्योग वाणिज्य संघ जलेश्वरका उपाध्यक्ष दिल बहादुर श्रेष्ठले प्रशासनले गरेको यो आदेश स्वागत योग्य भएको वताउनुभएको छ । उहाँले प्रशासनले उद्योग वाणिज्यसंघसंग समन्वय गरी यस्तो कार्य गरेको भए अझ राम्रो हुनेमा जोड समेत दिनुभयो । उहाँले सदरमुकाममा राति १० बजे देखि मात्रै पसलहरु बन्द गर्न गराउन आदेश दिन प्रशासनसंग आग्रह समेत गर्नुभयो ।