महेशकुमार दास
Font size:
तराईमा सशस्त्र संघर्षरत विभिन्न समूहले बारम्बार चन्दा माग्दै धम्क्याउन थालेपछि कार्यालय प्रमुख जिल्ला छाडेर हिँडेका हुन्
नयाँ पत्रिका
महोत्तरी, २४ चैत
जिल्लाका १२ सरकारी कार्यालय प्रमुखविहीन बनेको छ । असुरक्षाको कारण देखाउँदै कार्यालय प्रमुख कार्यालयमा नआउँदा दैनिक कामकाज प्रभावित भएको छ ।
तराईमा सशस्त्र संघर्षरत विभिन्न समूहले बारम्बार चन्दा माग्दै धम्क्याउन थालेपछि कार्यालय प्रमुख जिल्ला छाडेर हिँडेका हुन् । जिल्ला शिक्षा, जिल्ला विकास समिति, सिँचाइ, मालपोतजस्ता महत्त्वपूर्ण सरकारी कार्यालयमा प्रमुख नहुदा सेवाग्राही मारमा परेका छन् । असुरक्षाको कारण देखाउँदै जिल्ला शिक्षा अधिकारी सुरेश सिंह, स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेय, कोष तथा लेखा नियन्त्रण प्रमुख रामदुलार झा, कृषि प्रमुख ओमप्रकाश विराजी, मध्यमाञ्चल सिँचाइ विकास डिभिजन नं.१ का प्रमुख अजयकुमार जयसवाल कार्यालयमा आएका छैनन् ।
यसैगरी, तटबन्धका प्रमुख सीताराम यादव, महिला विकास प्रमुख मिरा मिश्र, मालपोत प्रमुख लालदेव राय पनि लामो समयदेखि कार्यालय नआएको स्रोतले बतायो । यसैगरी, असुरक्षाको कारण देखाउँदै तथ्यांक, नापी, घरेलुलगायत १२ सरकारी कार्यालयका प्रमुख आएका छैनन् । कार्यालय प्रमुख नभएपछि कार्यालयको कामकाज प्रभावित भएको छ भने न्यायिक, अर्धन्यायिक कामकाजसमेत बन्द भई सेवाग्राहीलाई कठिनाइ भएको छ । उनीहरू चन्दा आतंक, धम्की र असुरक्षाको कारण देखाउँदै तालिम, गोष्ठीको नाम दिएर बाहिर जिल्ला बसेको सर्वसाधारणको गुनासो छ ।
कार्यालय प्रमुख छाडेर गएपछि ती कार्यालय कर्मचारी पनि असन्तुष्ट छन् । कार्यालय प्रमुखहरू लामो समयदेखि गोष्ठीका नाममा काज देखाई कार्यालयमा अनुपस्थित रहनाले कार्यालयको दैनिक कामकाज प्रभावित भएको जिविसका एक कर्मचारीले बताए । चैत १४ मा गाविससचिव हकहित संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष शिवराम पाण्डेयलाई गोली हानेको विरोधमा एक साता सरकारी कार्यालय बन्द भएका थिए । बन्द खुलेपछि पनि कार्यालय प्रमुख नआएपछि सेवाग्राही झनै मारमा परेका छन् ।
प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले कार्यालय प्रमुखहरू कार्यालयमा नआएको स्विकार्दै कारबाही गरिने बताए । 'विनासूचना बस्नेलाई कारबाही हुन्छ,' उनले भने ।