मोदीको भ्रमण रद्द भएपछि पुर्नलेखन गरेको आर्टिकल

मोदीको आगमन र नेपाली राजनीति नागेन्द्रकुमार कर्ण बाँदरले न त आफ्नो घर बनाउँछ न त अरुलाई बनाउन दिन्छ भन्ने भनाई नेपाली खस शासकहरु तथा स्वयंमधेशवादीहरुको कारणले अहिले चरितार्थ भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको जनकपुर र लुम्बिनी आगमन अन्तिम समयमा आएर रद्द भएपछि माथिको भनाई चरितार्थ भएको देख्न सकिन्छ । मोदीको भ्रमण रद्दले मधेशमा अब शीत युद्ध, बाक युद्ध, छिटाँकशी सहित अर्के खालको राजनीतिक धु्रवीकरण शुरु भएको छ । एकिकृत माओवादी सहितको २२ दलिय मोर्चाले यसको आरोप सरकार र नेपाल सरकारका भौतीक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिमाथि लगाएको छ भने मन्त्री निधिले मोर्चामाथि नै यसको दोषारोपन गरेको छ । भारतीय प्रधानमन्त्रीको आगमनको तयारी अन्तिम चरणमा पुगिसकेको अवस्थामा यसरी रद्दको खबर आउनु कुनै पनि पक्षबाट राम्रो र शोभनिय होइन । यो भ्रमण रद्द हुनुबाट सरकारको निरिहता झल्काएको छ भने मधेशवादी र मिथिलाबासीको विश्वासमाथि कुठाराधात भएको छ । यस्तो निर्णय जसले लिए पनि यो निर्णय भने प्रत्युत्पादक बन्ने देखिन्छ भने स्वयं भारतीय प्रधानमन्त्री मोदीको लागि पनि यो निर्णय विवेकपूर्ण भने छैन् । हो, कहि आउने वा जाने कुरा कसैको लागि व्यक्तिगत कुरा होलान तर लाखौं मानिसको विश्वासलाई भने यसरी तुसारपात गर्ने गरी निर्णय गरिनु व्यक्तिगत हुन सक्दैन् । भारतीय प्रधानमन्त्रीको जनकपुरमा हुने जनसभालाई सरकारले अनुमति नदिइरहेको समयमा भारतीय राजदुतावासले यसले कुटनीति असर पर्न सक्ने भन्दै हकारेपछि सरकार नरम बनेको थियो । यसले झन मिथिलाबासीमा मोदीको आगमन निश्चित रहेको र स्वागत तथा उनको नागरिक अभिनन्दनको आश लगाएका थिए तर अन्तिम समयमा राजदुतावासले मिलनविन्दु खोज्नुपर्नेमा यसरी एक्कासी रद्द गर्नु भनेको त अति नै भएको भन्न सकिन्छ । हो, जहाँ एक आपसमैं कलह छ । जुन घरमा दिन प्रतिदिन आफ्नै परिवारबीच झगडा हुन्छ त्यहाँ कुनै पनि आफन्त आउन चाहँदैनन् । आफ्नो वेइज्जती होलान भनेर । त्यस्तै नै मोदीले गरेको हो भन्न सकिन्छ । तर विवाद भएपनि सुल्झाउने दायित्व त आफन्तको पनि त्यत्तिकै हुन्छ नि । सुखीमा सबै, दुखीमा कोही न कोही त स्वार्थी आफन्तको चरित्र मात्रै हो । भारतीय प्रधानमन्त्रीको जनकपुर र लुम्बीनी आगमन त कुनै स्वार्थ भन्दा पर रही भाइचाराको सम्बन्ध रहेको छ । दुवै देशको गौरब बढाउने कुरामा स्वार्थ हुनै सक्दैन् । त्यसैगरी साना मसिना कुरामा पनि यसरी भ्रमण नै रद्द भएको जस्तो ठुलो निर्णय गरिनु शोभनिय पनि भएन । मोदीले जनकपुरमा धार्मिक भ्रमणको साथसाथै जन्तीमा सहभागि हुन आउन लाग्नुभएको थियो । जुन मिथिलावासीको लागि एउटा स्वर्णीम अवसर थियो तर आफैमा झगडा गरेर हामीले यो अवसर गुमाउन पुग्यौं । अतिथि देवो भवः मिथिला र मधेशवादीको गौरबको पहिचान हो तर यसलाई पनि नामेट गर्ने गरी यो निर्णय लिइएको छ जुन देखिँदा सानो देखिन्छ तर यसको बाछीटाले भने थुपै्रलाई नै गिज्याइरहेको छ । नेपालमा हरेक तवरबाट राजनीतिकरण गरी मोदीलाई यतातिर आउन निषेध गरिएको छ । पहिला सुरक्षा, प्रोटोकल, सडकको दुरावस्था देखाएर निषेध गरियो भने यसले सम्भव नभएपछि खस शासकहरुले भाइ फुटे गवाँर लुटे खेल देखाएर भ्रमण निषेध गराएको छ । हामी मिथिलाबासीहरु जसले जे गरेपनि, जसले जे भनेपनि आफ्नो अतिथि सत्कारको संस्कृतिलाई भने उपयोग गर्ने ध्याउन्नमा थियौं तर हामीले यो अवसरलाई उपयोग गर्नबाट चुक्यौ । भारतसंग हाम्रो रोजी, रोटीको सम्बन्ध देखाउनको लागि मात्रै होइन आइपरेको खण्डमा हामीले गर्न पनि सक्छौ भन्ने देखाउने समय पनि थियो । हाम्रो संस्कृति, सभ्यता तथा रहनसहन समेत मिल्ने भएकोले पनि यसमा हामीलाई अवसर आएको थियो तर सिमित व्यक्तिको लालसा, उनीहरुको स्वार्थको कारणले सम्पूर्ण मिथिलाबासी र मधेशवासीलाई अहिले लाजमर्दो बन्नुपरेको छ । भने फुटको राजनीतिकरण पनि शुरु गरिसकेका छन् । ‘नभएको जात्रा हाँडी गाउँमा’ झै नेपाली खसशासकको मानसिकता मात्रै होइन मधेशवादीहरुको पनि उपयोग हुने मानसिकता पुरानै रहेको छ । लोकतन्त्र, गणतन्त्र लगायत अन्य शब्दहरुमा हेरफेर र परिवर्तन भएपनि मानसिकतामा परिवर्तन नभएसम्म यसलाई संस्थागत गर्न सकिन्न् त्यसैले पनि अहिलेसम्म नेपालमा लोकतन्त्र र गणतन्त्र संस्थागत हुन नसक्नुको पछाडी तिनै शासकहरुको हात छ भन्दा अत्युक्ति नहोला र यसमा तथाकथित मधेशका मसिहा भनाउँदाहरु पनि चुर्लुम्म डुबेको उदाहरण यो भ्रमण रद्द हुनुले देखाएको छ । जनकपुर र लुम्बिनीसंग भारतको पुरानो सम्बन्ध रहेको छ । जनकपुर र अयोध्याको सम्बन्ध त्रेताकालिन रहेको कसैसंग लुकेको छैन् भने लुम्बिनीको सम्बन्ध पनि गया, कुशिनगर सहितकासंग रहेको छ । यसले पनि भारतीय प्रधानमन्त्रीले यसलाई महत्व दिएर आउने वाचा गर्नुभएको थियो । त्यसैगरी आउँदो वर्ष बिहार र उत्तरप्रदेशमा हुने विधानसभालाई लक्षित गरि पनि मोदीले बिहार भएर आउने तथा उत्तरप्रदेशबाट जाने ईच्छा गरेको थियो । किनकी, मोदी दक्षिण एसियामा मात्रै होइन विश्वमा नै उदाउँदो एउटा राजनेता भएको र उनी दुरदर्शी भएकोले पनि पशुपतिको जात्रा र सिध्राको व्यापार गर्न खोेजेका छन् । तर, जनकपुर र लुम्बिनी आगमनबाट बन्चित गराउन नेपाली खसशासकहरु मात्रै होइन बिहार र उत्तरप्रदेशका नेताहरु पनि लागिपरेका थिए । किनकी, ति दुवै राज्यमा बिकासको गति देखेर प्रम मोदीले गिज्याउलान भन्ने डर बिहार र उत्तरप्रदेशको सरकारलाई रहेका थिए र उनीहरु पनि यी भ्रमण नहोस भन्ने भित्री इच्छा राखेका थिए । अन्ततः उनीहरुले बाजी मारेका छन् । यसले केहीलाई भित्रैदेखि खुशीको र जितको खुशीयाली दिए पनि यसले सम्पूर्ण नेपाली र मिथिलाबासीलाई भने लाजमर्दो बनाएको छ । अहिले पनि समय भएकोले कुटनीतिकस्तरमा नै यसको समाधान गर्नु जरुरी छ ।