गढीमाई मौलो
festival
गढीमाई (बारा), मंसिर १३ - यहाँको माहोल हेर्दा लाग्छ, पाँच वर्षमा एकपल्ट लाग्ने गढीमाई मेला रंगैरंगको इन्द्रधनुषी उत्सव हो । नाचगान, रमिता, मित्रमिलन, इच्छापूर्णताको भाकल । तर मधेसको हिउँदमा फूल, रंग र अबिरको यो रंगीन माहोललाई बिर्साउने गरी चर्चामा छ, पशुबलि । यो पशुबलि, जसका कारण बारा सदरमुकाम कलैयाबाट ६ किलोमिटर पूर्वमा अवस्थित गढीमाई देशदेशावरमा चर्चित छ । यही पशुबलिका कारण गढीमाई हिजोआज विवादित पनि बन्न पुगेको छ ।
अघिल्ला वर्षहरूझैं बिहीबार राति ११ बजेदेखि तान्त्रिक विधिबाट रातभरि पूजा गरेपछि शुक्रबार बिहान ४ बजे पहिले सेतो मुसाको बलि दिइयो । त्यसपछि क्रमशः सुँगुर, परेवा, हाँस, कुखुरा चढाइयो । अनि पालो आयो 'नरबलि'को । यो वर्षका लागि बलिदाता तोकिएका धामी दुःखा कछडियाले शरीरका कान, जिब्रो, आंैला, पाखुरा, तिघ्रा गरी पाँच अंगबाट तपतप रगत चुहाए र आफ्नो रगतको अंश गढीमाईका नाममा चढाए । त्यसपछि सुरु भयो- आस्था र आर्तनादको संगम अर्थात् राँगा बलि । बलिका लागि चुनिएका साढे चारसय तरबारधारीले जोसका साथ हावामा हतियार उज्याए र भाकलका राँगालाई गढीमाई देवीको दैलोमा हाजिर गराए ।
रातो कपडाले बेरेर राँगा घिस्याउँदै लगिरहेका दर्शनार्थीले बलि दिनुअघि तिनको धुमधाम पूजा गरेका थिए । आफ्नो भाकलका लागि उनीहरूले बलि चढ्नुपरेकामा पशुसँग क्षमा मागेका थिए । त्यसपछि मात्र राँगामाथि खुकुरी, खुँडा र तरबार चलाइएको थियो, जसलाई शब्दमा वर्णन गर्न साह्रै कठिन छ ।
मंसिर शुक्ल सप्तमी र अष्टमीका दिन पशुबलि दिइने परम्परा पछ्याउँदै शुक्रबार बिहान ती तरबारधारीले राँगा छप्काएका हुन् । शनिबार साँझसम्म जारी रहने यो भाकलको दोस्रो दिन बोका, कुखुरा, हाँस मारिनेछन् । यी अमुक प्राणीको पेटबोली बुझ्ने व्याकरण आजसम्म संसारमा बनेको छैन । हतियार उजाउँदा छेउछाउका राँगाको आँखामा देखिने त्रास र अनुहारमा व्याप्त निरीहता भने पढ्न सकिन्छ । गढीमाईमा उभिएर पशुबलीको समर्थन गर्न जति सजिलो छ, विरोध गर्न उत्तिकै कठिन । बिहीबार राति साढे १ बजे तीर्थालुको महासागर छिचोल्दै गढीमाई ओर्लेका भारतीय समाजसुधारक स्वामी अग्निवेशले पशुबलि चलुन्जेल अनसन बस्ने घोषणा गरे ।
तर शुक्रबार बिहान १० नबज्दै उनले गढीमाई छाड्नुपर्यो । 'यो धर्मको नाममा भइरहेको हत्याप्रति सख्त विरोध जनाउन यहाँ आएको हुँ,' वीरगन्जबाट अनशन घोषणा गरेर हिँडेका उनले गढीमाई ओर्लनेबित्तिकै कान्तिपुरसँग भनेका थिए, 'पूजाको नाममा यो खुद कमाइधन्दा हो ।'
उनै अग्निवेशले बिहान गढीमाई छाड्नुअघि भने, 'यहाँको सरकार, दलहरू, प्रशासन सबै मौन छन् । हामी यो लज्जास्पद गतिविधि टुलुटुलु हेरेर बस्न सक्दैनौं । फर्केर अन्तर्राष्ट्रिय समुदायमा कुरा उठाउँछौं ।' बुधबार साँझ गढीमाईमा पशुबलिको विरोध गर्दै लाखबत्ती बाल्ने पशु अधिकारकर्मी प्रमदा शाह हुन् या बिहीबार बिहान सदरमुकाम कलैयास्थित जिल्ला प्रशासन कार्यालय अघिल्तिर धर्ना दिने 'एनिमल राइट्स वेलफेयर नेटवर्क'का प्रदर्शनकारी, उनीहरूको संख्या र आवाज दुवै धीमा थियो । गढीमाईमा पशुबलि-विरोधीको संख्या औंलामा गन्न सकिन्छ, किनभने बाँकी जनसागर त उनीहरूको विरोधी हो ।
स्थानीय अध्येता ऋषिकेश लोहनी भन्छन्, 'पुरातनकालदेखि चलिआएको आस्था हो, विदेशीको उक्साहटमा लाग्नेले यसको विरोध गरेका हुन् ।'
भारतीय पशुअधिकारकर्मी मेनका गान्धीकी सल्लाहकारसमेत रहेकी गौरी मल्लिकी भन्छिन्, 'पशुको पनि बाँच्न पाउने अधिकार हुन्छ । उसको जीवनको निर्णय मानिसले गर्ने होइन । पशुहत्याको कुरो हिन्दु धर्मका कुनै ग्रन्थमा भेटिन्न, यो मानिसले बनाएको रीति हो, छुवाछूत जस्तै, सतीप्रथा जस्तै ।' यसरी अलिकति आस्था, अलिकति विरोध, अलिकति तर्क र अलिकति संवेदनाका रंगहरू मिलेर बनेको छ गढीमाई पर्व । एसियाकै सर्वाधिक ठूलो भनिएको पशुबलि दोस्रो दिनको बलिसँगै शनिबार समापन हुनेछ ।
पुस्तैनी थारू पुजारी
'तोर भलाइ होई त कथि कथि देव माईके अगाडि कहके जो ।' भोजपुरी भाषामा गढीमाईको आशीर्वाद बाँड्ने मंगल चौधरी हजारौं दर्शनार्थीको भीडमा परैबाट छुट्टन्िछन् । शिरदेखि पाउसम्म रातो चुनरीले बेरिएका उनी अरूभन्दा विशेष देखिन्छन्, किनभने उनी मुख्य पुजारी हुन् । पुजारीको प्रमाणपत्र त बाराका प्रजिअले नै दिएका छन्, जुन उनको घाँटीमा लटकिएको परिचयपत्रमा उल्लेख छ । उनलाई छुन खोज्ने, बोल्न खोज्ने र फोटो खिचाउन झुम्मिने आगन्तुक झेल्दा झेल्दा उनी हैरान छन् । पुरै 'सेलिबि्रटी स्टयाटस' !
हामी मुख्य पुजारी मंगल चौधरीसँग कुरा गर्न के खोज्दै थियौं, बारा जितपुर ८ की सुमित्रादेवी यादव खुट्टैमा परिन् । 'मैले गढीमाईका लागि राँगा र एउटा बोका भाकल गरेकी थिएँ, माईलाई चढाउने बेला घरमा शोक पर्यो,' उनले भोजपुरी भाषामा विनय गरिन्, 'अब म के गरूँ गुरुजी ?'
'तिमी भाकल बुझाएर र्फक । जुठो परेकाहरूलाई माईको प्रसाद नखुवाउनू । अरूलाई खुवाएर चित्त बुझाऊ । यसो गर्यौ भने धर्म हुन्छ ।' यति भनेर उनले झोलाबाट झिकेर एक टुक्रा नरिवल दिए । अनि हामीसँग यी एघारौं पुस्ताका थारू पुजारीले भने, 'जीवनसँग निराश हुनेहरू आशा खोज्दै यहाँ आउँछन्, भाकल गर्छन् । भाकल पूरा भएपछि गढीमाईलाई धन्यवाद दिन आउँछन्, परेवा उडाउँछन् ।'
जीवन खोज्दै गढीमाई आउनेहरूको संख्या कति होला ? यस्सै हेरेको भरमा लख काट्न सकिन्न, किनभने उनीहरूको भीड आँखाले हेरेर भ्याउँदैन । अरू कसैको जीवन लिएर आफ्नो जीवनको आयु माग्न मिल्छ कि मिल्दैन ? गढीमाईमा सधैं थारू पुजारी रहने चलनअन्तर्गत एघारौं पुस्ता चलाइरहेका १५ वर्षयताका यी पुजारी मंगलसँग यसको सिधा जवाफ छ । भन्छन्, 'हाम्रो मेलालाई विश्वभर चिनाउने माध्यम नै यही बलि भएको छ । यो बुझीबुझी हामी किन बलिप्रथा लोप हुन दिन्छौं ?'
गढीमाई मेलाबारे टिप्पणी गर्दै आएका अनुभव अजित पनि पुजारी मंगलको भनाइसँग असहमति जनाउँदैनन् । गढीमाई मेलाभित्र पाँच वर्षमा एकपटक हुने बराबरका पशुहत्या दसैंताका एकै दिन हुने तर सामूहिक संहार नहुने भएकाले मात्रै चर्चा नभएको उनको भनाइ छ ।
'वास्तवमा म एउटा पशु मारिनु र दुई लाख पशु मारिनुबीच खास फरक देख्दिनँ । कि त पशुवधकै विरोध गर्नुपर्यो, नत्र गढीमाई मेलाको मात्रै विरोध गर्नुको कुनै अर्थ छैन,' उनी भन्छन्, 'दसैंमा त्यसको कयौं गुणा मारिन्छन्, त्यसको त कसैले विरोध गर्दैन । पाँच वर्षमा एकपटक हुने यो मेलाको किन विरोध ?' मेलामा राखिएको स्वास्थ्य शिविर उद्घाटनमा आएका उद्योगमन्त्री महेश बस्नेतले पनि एक साताअघि गढीमाईमा यस्तै तर्क गरेका थिए ।
अजितजस्तै कतिपयले यो विषय पछिल्लो राजनीतिक मुद्दालाई विषयान्तर गर्ने प्रयत्नको रूपमा अथ्र्याएका छन् । उनीहरूको ठम्याइ छ- धर्मको राजनीति चलाउन खोजिरहेकाहरूका लागि यो बेला केही उत्पात भइहाल्यो भने संविधान निर्माणको प्रक्रियामा असर पार्न सकिन्छ । कतिपय स्थानीयले भने गढीमाई आसपास यस्ता विषयबारे थाहै नभएको टिप्पणी गरे । 'कसैको धार्मिक संवेदनालाई अनावश्यक चलाउन खोजियो भने प्रत्युत्पादक हुन्छ, स्थानीयवासीलाई ठिक छ भने बाहिरकाले टाउको दुखाइरहनु ठिक होइन,' एक स्थानीय भन्छन्, 'काठमाडौंमा खुल्लमखुल्ला राँगा, खसी मारेर बेच्ने ठाउँमा केही नगर्ने, माईको नाममा बलि दिँदा यहाँ आपत्ति ?'
पशु अधिकारकर्मी मनोज गौतम भने यो बलि नभई निर्दोष पशुपक्षीको हत्या भएको तर्क गर्छन् । उनले भने, 'आफूलाई धार्मिक मानिस भन्नेले बलिका नाममा त्यस्तो निर्मम काम गरेको मैले हेर्न सकिनँ ।' प्रज्ञा प्रतिष्ठानका तर्फबाट २०५१ सालमा गढीमाईमाथि वृत्तचित्रसमेत खिचेका आख्यानकार ध्रुवचन्द्र गौतम यो मेला भर्न पहिले पटकपटक आएका छन् । पूजा गरेका छन्, भाकल गरेका छन् । तर आफूले बलि नचढाएकाले आफ्नो भागको बलि अरूले नै बुझाएर गएको उनको भनाइ छ । 'मलाई गढीमाईमा पशुबलि हेर्ने कुनै रहर छैन, पूजा जारी राखे पुग्छ,' उनी भन्छन्, 'तर गढीमाई मेलाप्रतिको मोह अझै बाँकी छ ।'
वीरगन्ज बसेर लेखिरहेका पत्रकार चन्द्रकिशोरका अनुसार पशुबलिमाथि पहिलेभन्दा असहमतिको स्वर बढे पनि तत्कालै हट्ने कुनै सम्भावना छैन । 'पहाडबाट मधेस झरेकी देवीलाई मधेसी समुदायले पुरै अपनायो,' उनी भन्छन्, 'गढीमाईको मेला यस्तो हो, जुन भारतीय पक्षको सहयोगबिना पूरा हुन्न ।' भारत बनारसस्थित हरिश्चन्द्रघाटका डोम राजाको तर्फबाट बर्सेनि राँगा आउने गरेको इतिहास उनले कोट्याए । पछिल्लो एक दशकयता राँगा ल्याउने काम रोकिए पनि अहिले आउने तीर्थालुमध्ये ७० प्रतिशत त भारतीय नै हुने गरेको चन्द्रकिशोरको दाबी छ । गढीमाईको विशिष्ट पक्ष बलि भए पनि अरू पक्षलाई बेवास्ता गर्न नमिल्ने उनको भनाइ छ । 'यो पहाड-मधेस जोड्ने, मधेसको विविधता देखिने महाकुम्भ हो,' उनी भन्छन्, 'यसलाई विवादतिर नलगी सामाजिक सद्भावनाको अभियानका रूपमा उपयोग गर्न सकिन्छ ।'
बेलायती अभिनेत्री जोआना लुम्लेले लन्डनस्थित नेपाली दूतावासलाई ज्ञापनपत्र बुझाउँदै नेपाल सरकारसमक्ष गढीमाईको बलि रोक्न आग्रह गरेको समाचार बेलायतको डेली मेलले लेखेको छ । उनले यो अमानवीय क्रियाकलाप हिन्दु धर्मको आदर्शभित्र नपर्ने जिकिर गरेकी थिइन् । त्यस्तै, फ्रेन्च अभिनेत्री बि्रजिट बार्दोतले समेत राष्ट्रपति रामवरण यादवलाई पत्र लेखेकी छन् । पाँच वर्षअघि पनि यस्तै पत्र लेखेकी उनले नेपालका राष्ट्रपतिको प्रत्युत्तर नपाएकोमा निराशासमेत व्यक्त गरेकी छन् । पशु अधिकारकर्मीमाथि समेत आलोचना उत्तिकै छ । जस्तो कि, चन्द्रकिशोर भन्छन्, 'शाहाकारी जीवनपद्धतिको बारेमा बहस नगर्ने, तर कुनै क्षेत्र, धर्म विशेषको आस्थामाथि आलोचना गर्ने उनीहरूको तरिका त्यति सुहाउँदो भएन ।'
दाम कमाउँदै, नाम गुमाउँदै
आयोजकको दाबीअनुसार मेलाका ७० प्रतिशतभन्दा बढी आगन्तुक भारतबाट आउँछन् । दिसापिसाब गर्ने ठाउँको अव्यवस्था कतिसम्म छ भने, गढीमाई मन्दिर आसपास जताततै दिसा देखिन्छ । मन्दिरमा करोडौं पैसा उठ्ने भए पनि अघिल्ला वर्षहरूमा सांस्कृतिक उत्सवका रूपमा चलाउँदै आएको गढीमाई मेला व्यवस्थापन समिति यो पटक आर्थिक लाभ लिनमा केन्दि्रत भएको छ ।
समितिले गढीमाईको पर्यटन पूर्वाधारसहित यस क्षेत्रको विकास गर्ने उद्देश्यले तीन करोडभन्दा बढीको ठेक्का लगाउँदै उक्त रकम हात पारेको छ । १ करोड ६० लाखमा राँगाको ठेक्का लगाइएको छ । यसैगरी मनोरञ्जन ६१ लाख, जग्गा व्यवस्थापन ४१ लाख, भेटी ४० लाख ५० हजार, वधशालामा राँगा प्रवेश शुल्क ६ लाख २७ हजार, पार्किङ ५ लाख ४५ हजार, गुद्री बजार २ लाख ७० हजारमा ठेक्का दिएर समितिले त्यति रकम हात पारेको हो ।
'गढीमाई ट्रस्टको आर्थिक उन्नति भएमात्र यस क्षेत्रको विकास हुने भएकाले यस वर्ष मेलालाई आर्थिक लाभमा केन्दि्रत गरेका छौं,' गढीमाई ट्रस्टका अध्यक्ष रामचन्द्र साहले भने, 'विकासका लागि जहाँ हात बढाए पनि आफैं आम्दानी गरेर विकास गर्नु भन्ने जवाफ पाएकाले आर्थिक पाटो मजबुत गर्न सबै प्रकारको ठेक्का गरिएको छ ।' यो वर्ष भारतबाट राँगा ल्याउन रोक लगाइए पनि 'वैकल्पिक बाटो' अपनाएर राँगा ल्याउनेको संख्या ठूलो भएको उनले बताए ।
पाँचवर्षे गढीमाई मेलामा व्यवसायमार्फत आर्थिक लाभ लिने व्यवसायीहरूको आकर्षण बढेको छ । प्रायः स्थानीय व्यवसायीहरू अस्थायी व्यवसाय थप्दै कमाउने दाउमा छन् । खाना होटल, मनोरञ्जन, खाद्यान्न्ा, तयारी पोसाक तथा कपडा र कस्मेटिक व्यवसायमा बढी आकर्षण थपिएको छ । बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले जिल्लामा स्थायी व्यवसाय साढे दुई हजारको हाराहारीमा रहे पनि मेलाको कारणले अहिले त्यसको दोब्बर अस्थायी व्यवसाय थपिएको बताए ।
बिहार, उत्तर प्रदेश, बंगाललगायतका ठाउँबाट मनोरञ्जनका साधन थपिएका छन् । जसमा ८० प्रतिशतभन्दा बढी भारतीय व्यवसायीहरूको लगानी रहेको मेला समितिले जनाएको छ । मेलामा 'डबल ट्रेकर मौतका कुवाँ', रोटेपिङ, चाँदतारा, ब्रेक डान्स, रेल, जादु, नागनागिन, वैष्णोदेवी गुफा, डुंगा, थिएटर आदिमा भारतीयहरूको बढी लगानी छ । जग्गा व्यवस्थापन उपसमितिका संयोजक राजकुमार कुशवाहाका अनुसार मेलामा व्यापार प्रयोजनका लागि सशुल्क र निःशुल्क गरी ५ हजारभन्दा बढी स्टलबाट व्यापार भइरहेको छ । साढे दुई बिघा क्षेत्रफलमा झन्डै दुई करोड खर्चिएर दुईवटा वैष्णोदेवी गुफा निर्माण गरिएको छ । कोलकाताबाट मिस्त्री झिकाई एक महिनादेखि गुफा तयार गरिएको हो ।
अघिल्लो गढीमाई मेलामा बलि नै नदिई एक दिन पहिले वधशालामा हालिदिने, केहीलाई बलि चढाउने, बाँकीलाई जिउँदो राख्ने समेत गरियो । यो वर्षसमेत त्यसले निरन्तरता पाएको छ । हामी मेलास्थलबाट बाहिरिँदै गर्दा कानमात्रै काटेर जिउँदै फर्काइएका राँगाहरू देखिरहेका थियौं । वधशालाबाहिर रातो पहिरनमा आएको ठूलो हुल ठेक्कामा राँगा किन्न तयार भएर बसेको थियो । राँगाको टाउको जमिनमा गाड्ने, जिउको भाग बिक्रीका लागि लैजान उनीहरू आइसक्युब लिएर आएको हामीले देख्यौं । 'वास्तवमा माईलाई चढाएको भाकल बिक्री गर्नर् नहुने हो,' प्रत्यक्षदर्शी एक स्थानीयले भने, 'तर यहाँ धर्मको नाममा व्यापार चल्न थालेको छ ।' धर्मको नाममा व्यापार भएको भन्दै दर्शनार्थीले ठेक्का समितिविरुद्ध शुक्रबार बिहान हुटिङ समेत गरे । हिन्दु मान्यताअनुसार भगवानलाई चढाएको फूल निर्माल्य, त्यसलाई पवित्र ठाउँमा बिसाउने काम गरिन्छ । गढीमाईमा भने बिक्री चलिरहेको दृश्य अनौठो भएको सप्तरीबाट मेला भर्न आएका रामावतार यादवले भने ।
किंवदन्ती र इतिहासको दसगजा
गढीमाई मेला कहिलेदेखि कसरी सुरु भयो भन्नेमा स्थानीयबीच एक मत पाइन्न । एकथरी स्थानीय पौराणिक कालदेखिका किंवदन्तीसँग यसको इतिहास जोड्छन् । अर्काथरी तिनको विरोध गर्छन् । दुवै थरीले दिने जानकारीमा कहाँदेखि दन्त्यकथा सकिन्छ र इतिहास सुरु हुन्छ, ठम्याउन अलि गाह्रै छ । इतिहास अध्येता ऋषिकेश लोहनीका अनुसार एघारौं शताब्दीमा तिरभुक्ति राज्यअन्तर्गत रहेको सिम्रौनगढ घुम्दै आएका राजा नान्यदेवले भौगोलिक अनुकूलता हेर्दै आफ्नो राजधानी त्यहाँ बसाउनु उपयुक्त ठाने । कलैयादेखि २२ किमि पूर्वदक्षिणको सिम्रौनगढमा उनले मन्दिर खडा गरे ।
गढीमाई छेउमा रहेको त्यस मन्दिरको सुरुवाती नाम कंकाली माई थियो । पछि तुलजा भवानी नाम दिइएको यो मन्दिर राजा हरिसिंह देवका पालामा मुगल सम्राट समसुद्दिनको आक्रमणसँगै कालान्तरमा काठमाडौं उपत्यका सारियो । शक्तिशाली सम्राट समसुद्दिनले हरिसिंह देवलाई युद्धमा हराएसँगै मन्दिर उपत्यका सार्नुपरेको आहान छ ।
सिम्रौनगढमा सात पुस्ता शासन गरेका सेन वंशका तेस्रो पुस्ताका नाति शिवसिंहले राज्यकालमा विदेह राज्यका संस्थापकहरूसँग सम्बन्ध जोडेको सन्दर्भ जोडिन्छ । गोरखपुरदेखि पारिसम्म उनको राज्य थियो । अन्तिम राजा हरिसिंह देवले समसुद्दिनसँगको लडाइमा राज्य हारेपछि यहाँको राजनीतिक मानचित्र बदलिएको विश्वास छ । स्थानीय जानकारका अनुसार पहिले गढीमाईको मन्दिरमा त्रिशूल थियो । माटाको मन्दिर थियो । कलैया बरेवाका साहेब उपेन्द्रविक्रम शाहले पत्थरको मूर्ति खडा गर्न लगाए । त्यो मूर्ति अहिले गढीमाईमा छ । राजा राजेन्द्रवीरविक्रम शाहका कान्छा भाइ उपेन्द्रविक्रम शाहले पाँच वर्षको अन्तरमा मेला लगाउन थालेको लोहनी बताउँछन् । उनको यो तर्कमा भने प्रायः सबै स्थानीय सहमत देखिए ।
यी सबै कथामध्ये प्रायः सबैले भन्ने गरेको कथाचाहिँ भगवानदास चौधरीको हो, जसको नामसँग गढीमाईको इतिहास जोडिन्छ । सत्रौं शताब्दीताका बारा, बरियारपुरका भगवानदास चौधरी चोरीको कसुरमा तत्कालीन शासकबाट समातिएका थिए । उनलाई मकवानपुर गढीस्थित जेल लगिँदै थियो । त्यसै क्रममा उनले देवीको प्रार्थना गरे- म निर्दोष हुँ, मलाई छुटकारा दिनुहोस् ।
देवीले उनलाई सपनामा दर्शन दिइन् । मलाई तिमीले आफ्नो ठाउँमा लगेर स्थापना गरिदियौ र पूजाआजा गर्ने व्यवस्था मिलायौ भने तिमी छुट्छौ । देवीको कुरा मान्ने वचन दिएसँगै भगवानदासले गढीमाईमा रहेका त्रिशूल रातारात बरियारपुरमा गाडे । त्यही बेलादेखि यो मेला थालनी भएको मानिन्छ । उनै भगवानदासका एघारौं पुस्ताका सन्तान मानिन्छन्, मंगल । २०५१ सालदेखि गढीमाई मन्दिरका मूलगुरु रहीआएका मंगल पशुबलि नेपाली संस्कृतिको अभिन्न अंग भएको जिकिर गर्छन् । उनी कुनै चलनलाई शक्तिको बलमा रोक्न खोजिए राम्रो नहुने चेतावनी दिन्छन् । बरु उनको सल्लाह छ- 'सक्छौ भने प्रचारप्रसार गरेर, चेतना जगाएर बलि रोक्न प्रयास गर ।'
त्यसो त गढीमाईका नाममा आलोचनाहरू पनि छन् । बलिका क्रममा हुने पशुवध व्यवस्थापन गर्न नसक्दा २०५१ सालमा पीपीआर नामक महामारी रोग फैलिएको गुनासो छ । मेला व्यवस्थापन समितिका पदाधिकारीले बलि दिइएको ठाउँमा एउटा झिंगागासमेत नभन्कने दाबी गरे पनि उक्त वर्ष भेडाबाख्रा सखाप भएको समाचार त्यस बेला विभिन्न पत्रिकामा छापिएको थियो ।
चिसो र भीडले मृत्यु
यसैबीच, मेलामा शुक्रबार वृद्धा र बालिका गरी दुईको मृत्यु भएको छ । भारत छाप्रा बनियापुरका माका तिवारीका एक वर्षीया छोरीको चिसोले मृत्यु भएको हो । यस्तै, भारत सितामढी भवदेव १५ का ६५ वर्षीया पानकुमारी देवीको भीडमा किचिएर मृत्यु भएको हो ।
पाँच: अंक र अर्थ
गढीमाईसँग पाँच अंक जोडिएर आउँछ । पाँच वर्षमा दिइने पञ्चबलिमा गढीमाईका पुजारीले आफ्नो शरीरका पाँच अंगको रगत बलि देवीलाई चढाउँछन् । मेला लाग्नु पाँच महिनाअघि गढीमाई आसपासका गाउँको सिमाना छेकबार गरिन्छ । तान्त्रिक विधिको सहायताले सिमाना छेकबार लगाएपछि माइतीले चेलीको बिहाबारी गर्दैनन् । घरमा आएका कुनै जोगीलाई भिक्षा पनि दिन्नन् । तराईका मधेसी समुदायका बाहुन, थारू, हजाम, लोहार, धोबी पाँच जातिहरू पूजाकर्ममा सहभागी हुन्छन् ।
र, पाँच अंकको यो खेलमा अलिकति राजनीति पनि जोडिएर आउँछ । जुन जनप्रतिनिधि काठमाडौंबाट फर्केर बेलाबेला निर्वाचन क्षेत्रमा झुल्किन्छन्, मतदाताहरू व्यंग्य गर्छन्- ओहो, पाँचवर्षे गढीमाई फेरि आएछ !
त्यो गढीमाई, यो गढीमाई
पछिल्लो दुई दशकको अवधिमा पाँच/पाँच वर्षको अन्तरालमा सम्पन्न चार पटकको गढीमाई मेला, द्वन्द्वकै अवस्थामा बित्यो । यस अवधिमा द्वन्द्वकै वरिपरि चारपटक मेला सम्पन्न भयो । दस वर्ष (दुईपटकको मेला) तत्कालीन माओवादी र त्यसपछिका अरू वर्षहरूको अवधिमा मधेस केन्दि्रत तराईका विभिन्न भूमिगत संगठनको दबदबा थियो । दुवै समयताका हिंसा जारी थियो । बन्द/हड्ताल भइरहन्थ्यो । अपहरण र चन्दा आतंकसँगै धम्की पनि त्यत्तिकै थियो ।
मेला अवधिमा मेला समिति र मनोरञ्जनको साधनमार्फत तथा अन्य व्यवसाय गर्नेहरू चन्दाको धम्की खेप्थे । यस्ताखाले गतिविधिले सबैतिर त्रास र तनाव रहन्थ्यो । त्यसबेला नेपाल-भारतका दर्शनार्थीसँगै यहाँको सुरक्षा निकाय, मेला समितिलाई सुरक्षाको डर हुन्थ्यो । सुरक्षा अधिकारीहरू सुरक्षाको बन्दोबस्त मिलाउन र निगरानी गर्न जनशक्ति परिचालन गर्न चिन्तित हुन्थे ।
जिल्लाका सम्पूर्ण सुरक्षा युनिटलाई चौबिसै घन्टा 'एलर्ट' रहन मेला अघि र पछिसम्म सुरक्षा अधिकारीहरूले 'बि्रफिङ' गर्थे । सुरक्षा पोस्ट खडा गरी चेकजाँच र सूचना संकलन उत्तिकै चल्थ्यो । तर दुई दशक यता द्वन्द्वपछिको यो पहिलो मेलामा भने सुरक्षा र त्रासको चिन्ता छैन । त्यसताका हुने हिंसात्मक गतिविधि यसपटकको मेला आउँदासम्म रोकिएको छ, जसले सीमा वारि र पारिका सर्वसाधारणसँगै सरोकारवाला उत्साही देखिन्छन् । 'द्वन्द्वताका मेला हुँदा दुवैतिर सुरक्षा एलर्ट गर्नुपथ्र्यो तर अहिले उक्त अवस्था नभएर सबैलाई सहज छ,' सहायक प्रमुख जिल्ल्ाा अधिकारी योगेन्द्र दुलालले भने । यसपालि थपिएको कुराचाहिँ मूलतः काठमाडौंबाट उठेको बहसमात्र हो- पशुबलिलाई निरन्तरता दिनु उचित हो कि होइन भन्ने विषयमा ।