राम–जानकी विवाहमा आज आउने जन्तीको सम्पूर्ण तयारी पूरा

Mahottari मंसीर ७ – आज राति राम–जानकी विवाह महोत्सवका लागि भारतको अयोध्याबाट महोत्तरीको मटिहानी आउने भगवान् श्रीरामको जन्तीको स्वागत, विश्राम, पूजाआजा तथा वैदिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । यसैक्रममा भारतको मधवापुरदेखि महोत्तरीको मटिहानीसम्म दर्जनौँ तोरणद्वार निर्माण गरिएको छ भने लक्ष्मीनारायण मठको रङ्गरोगन कार्य सम्पन्न भएको छ । सशस्त्र प्रहरी बिओपी मटिहानी, मटिहानी प्रहरी चौकी, स्थानीय बासिन्दा र महोत्तरी उद्योग वाणिज्य सङ्घले जन्ती जाने मटिहानी सडकको सरसफाइ गरेका छन् । जन्तीमा आउने साधु, सन्त, महात्मा र जोगी सन्यासीको सुरक्षाका लागि सशस्त्र प्रहरी बिओपी मटिहानी, मटिहानी प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद पौडेलले बताए । भारतको अयोध्याको कार सेवक परम जानकीघाटबाट मङ्सिर १ गते सोमबार सुरु भएकोे जन्तीको लस्कर आज राति महोत्तरीको मटिहानी आइपुग्नेछ । एघार सिंहासनसहितको रथ, बस, कार र जिप गरी १०० भन्दा बढी सवारीसहितको लस्कर आउने सो जन्तीमा ५०० साधुसन्त महन्थ सहभागी रहनेछन् । धर्मयात्रा महासङ्घ दिल्लीको आयोजनामा रामको जन्मभूमि अयोध्याबाट निस्केको जन्ती भारतको आजमगढ, बक्सर, विहारको पटना, बघनगरी, सीतामढी, पुपरी बासोपट्टी, अहिल्या स्थान, बिसौल, फुलहर, मधवापुर हुँदै आज राति महोत्तरीको मटिहानी आइपुग्नेछ । मटिहानीमा एक रात विश्रामपछि जन्तीको लावालस्कर जलेश्वर हुँदै जनकपुर जानेछ । जनकपुरमा मङ्सिर ८ गतेदेखि रामका जन्ती पुग्ने र वैवाहिक प्रक्रिया अघि बढाउने कार्यक्रमसमेत रहेको छ । यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्यही जन्तीमा सामेल हुने भएकाले त्यही किसिमले तयारी अगाडि बढाइएको छ । यसपटक भारतीय जनता पार्टीका एक नेताको नेतृत्वमा आयोध्याको मणिराम छाउनी मठका महन्थ कमलनयन दास, बडेभकमालका महन्थ कौशल किशोर दास र गोलाघाटका महन्थ सम्मिलित ठूलो सङ्ख्याको जन्ती भारतको अयोध्याबाट आउन लागेको हो । जनकपुर मिथिला क्षेत्रको सर्वाधिक लोकप्रिय धार्मिक पर्व रामजानकी विवाह महोत्सवमा सहभागी हुन रामायणकालीन झझल्को दिने झाँकीकासाथ करिब ५०० को सङ्ख्यामा आउने जन्तीलाई स्वागत गर्नका लागि लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्नाथ दास शास्त्रीको संयोजकत्वमा १०१ सदस्यीय स्वागत समिति गठन गरिएको छ । रामजानकी विवाहका लागि मटिहानीबाटै लगेको माटोले जनकपुरमा जग्गे (विवाहमण्डप) बनाइएकाले यस स्थानको धार्मिक एवम् पौराणिक महत्व रहेको तथा छ वर्षपछि अयोध्याबाट धार्मिक जन्तीको लस्कर आउन लागेकाले यो अवसरलाई यहाँ उत्सवको रुपमा मनाउन लागिएको हो । यसअघि २०६१ र २०६५ सालमा पनि यस्तो जन्ती आएको थियो । जन्ती प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट जनकपुर आउने परम्परा रहेको छ । जन्तीमा दशरथको भूमिकामा अयोध्यास्थित मणिराम छाउनी मठका महन्थ कमलनयन दास, गुरु वशिष्ठको भूमिकामा कौशलकिशोर दासलगायतको सहभागिता रहनेछ । मटिहानीबाट मङ्सिर ८ गते राजा जनकका इष्टदेव जलेश्वरनाथ महादेवको दर्शनपश्चात् जन्ती जनकपुर प्रस्थान गर्नेछ । जन्तीले रामजानकी विवाह समारोहमा मङ्सिर ९ गते तिलकोत्सव, १० गते मटकोर पूजा, ११ गते रामसीता विवाहोत्सव, १२ गते रामकलेवा जस्ता धार्मिक समारोहमा सहभागी भई मंसीर १४ गते वीरगन्ज हुँदै अयोध्याका लागि प्रस्थान गर्ने तालिका रहेको छ । - See more at: http://www.ratopati.com/2014/11/23/184778.html#sthash.oxC2EyTz.dpuf