महोत्तरीका किसानलाई मूल्यको चटारो

Ukhu-Suger-Can– राजकरण महतो महोत्तरी, ७ मंसिर । महोत्तरीका किसानले १६ हजार विघा जग्गामा लगाएको उखु खेती तयारी अवस्थामा पुगेपनि मूल्य निर्धारण नहुँदा समस्यामा परेका छन् । रामनगर, गौशाला, भरतपुर, बर्दिवास, किसाननगर, बेलगाछी, फुलकाहा, हात्तीलेट, विजलपुरा, पशुपतिनगरलगायतका गाविसमा किसानले लगाएको उखु खेतीको मूल्यको टुङ्गो नलाग्दा समस्या उत्पन्न भएको हो । किसानहरूले छिटो उखुको मूल्य तोक्न सरोकारवालाहरूसँग आग्रह गरेका छन् । मूल्य तय नहुँदा चिनी मिल र किसान दुवै समस्यामा परेको एभरेष्ट चिनी मिलका प्रबन्धक कृष्णचन्द्र दासले बताए । उनले भने, ‘समयमा उखु कटान नहुँदा खेतमै सुक्ने र सुकेको उखुबाट चिनी कम उत्पादन हुन्छ ।’ समयमा चिनी मिल संचालनमा नआउँदा गत साल उखु खेतमै सुकेर नोक्सान भएको विजलपुराका किसान रामप्रकास महतोले बताए । अघिल्लो सालको तुलनामा यस वर्ष उखु उत्पादन राम्रो रहेको किसानहरूको भनाइ छ । महोत्तरीमा यस वर्ष ३२ लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष ३० लाख क्विन्टल उखु उत्पादन भएको थियो । रामनगर गाविसमा २०५० सालमा एभरेष्ट चिनीमिल स्थापना भएपछि जिल्लाका किसानहरूको प्रमुख बाली उखु खेती बनेको छ । - See more at: http://www.puleso.com/?post_type=news&p=47628#sthash.M6lJuPNn.dpuf